१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

के भुटान चीनसँग नजिकिँदै छ ?

तस्विर :बिबिसी

दिलनवाज पासा

नयाँदिल्ली– हिमाली क्षेत्रमा रहेको भुटान तीनतिरबाट भारतसँग र एकतिरबाट चीनसँग जोडिएको छ । एसियाका दुई शक्ति भारत र चीनबीच रहेको करिब आठ लाख मानिस बसोबास रहेको यो अधिराज्य भारतका लागि धेरै नजिक छ।

भारत र भुटानबीच एक प्रकारको विशेष नाता रहेको छ । भुटानका लागि भारत ‘ठूल दाइ’ को रुपमा देखिन्छ । भुटानको अन्तर्राष्ट्रिय, वित्तीय र रक्षा नीतिमा भारतको प्रभाव छ । दुवै देशबीच सन् १९४९ मा मैत्री सन्धि भएको थियो । वसमा भुटानले आफ्नो वैदेशिक सम्बन्धमा भारतलाई पनि सहभागी गराउनुपर्ने प्रावधान राखिएको थियो । सन् २००७ मा यो सम्झौतामा संशोधन गरिएको थियो।

भारत र भुटानबीच ६०५ किलोमिटर लामो सीमा छ । भारत भुटानको सबैभन्दा ठूलो व्यापार सहयोगी देश पनि हो । भुटानले आफ्नो ९८ प्रतिशत निर्यात भारतमा गर्छ भने ९० प्रतिशत सामान भारतबाटै आयात गर्छ । भारतीय सेनाले भुटानी सेनालाई प्रशिक्षण दिँदै आएको छ।

तर, पछिल्ला दिनहरुमा चीनले भुटानसँग निकटता बढाउने कोसिस गरिरहेको समाचार आइरहेका छन् । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सको समाचारअनुसार राहुल गान्धीले संसद्को वैदेशिक मामिला समितिमा भुटानले चीनको पक्ष लियो भने भारत के गर्छ भनेर सोधेका छन् । ‘के भुटान भारतविरुद्ध चीनसँग धेरै नजिक जान सक्छ ?’ उनको प्रश्न थियो।

भुटानमा भारतको राजदूत रहेका जनता दल युनाइटेडका पवन बर्मा भने यस्तो ठान्दैनन् । ‘यस्तो समाचार आएको पहिलोपटक होइन । चीन चाहन्छ कि भुटानसँग उसको कूटनीतिक सम्बन्ध बढोस्, उसको दूतावास त्यहाँ होस्, चीन पनि भारतजस्तैे त्यहाँ लोकप्रिय हुन चाहन्छ,’ बर्माले भने, ‘किनभने भुटानको आफ्नै एउटा छुट्टै र महत्वपूर्ण रणनीतिक अवस्था छ ।’ उनले भारतसँग जस्तै चीनसँग पनि राम्रो सम्बन्ध राख्न भुटानलाई आवश्यक रहेको बताए । ‘तर अहिलेसम्म चीनसँग उसको कूटनीतिक सम्बन्धम कायम हुनसकेको छैन,’ उनले भने, ‘त्यसैले भुटान चीनको नजिक हुने समाचार त्यति पत्यारलाग्दो छैन।’
भारतका लागि भूटान महत्वपूर्ण
भारतका लागि भुटानसँगको सम्बन्ध राम्रो बनाइराख्न किन आवश्यक छ भन्दा बर्माले भने, ‘यो नक्सामा भुटानको अवस्था देखेरै सम्झिन सकिन्छ । भुटान जहाँ छ त्यो हाम्रो सुरक्षाका लागि र रणनीतिक अग्रताका लागि राम्रो सम्बन्ध बनाएर राख्नु धेरै महत्वपूर्ण छ । यही कारणले भारतको सबैभन्दा राम्रो सम्बन्ध भुटानसँग रहेको छ ।’

‘भुटानको जनसंख्या कम होला तर यसले चर्चेको भूभाग ठूलो छ,’ बर्माले भने, ‘भारतसँग उसको  सीमा जोडिएको छ । यसैले भारतका लागि भुटानको महत्व फरक छ ।’ यसै प्रसंगमा बर्माले थपे, ‘भुटान एक स्वतन्त्र र स्वायत्त देश हो र उसलाई कसैले कुनै पनि रुपमा भारतको अधिनस्थ रहेको सम्झिनु र सधैं भारतको साथ जोडिएर रहन्छ भन्नु कूटनीतिक परिपक्वता भने होइन ।’उनले भुटानले चीनसँग कुनै छलफल गरिरहेको छ र ऊ भारतलाई छाडेर तत्कालै चीनसँग पुगिहाल्छ भनेर  अनुमान लगाउन उचित नहुने पनि बताए।

धेरै देशमा भारतको कूटनीतिज्ञ बनेर काम गरेका  र भारतीय क्रटनीतिबारे राम्रो दख्खल राख्ने लखनला मेहरोत्राले समयसमयमा भुटानले चीनसँग वार्ता गरेको र त्यसबारे भारत जानकार रहेको बताउँछन् । ‘भुटान र चीनबीच भएका वार्ताका आधारमै दुवै देशबीच ठोस निर्णय नहुन्जेलसम्म कुनै पनि देशले डोकलामको वस्तुस्थितिमा कुनै परिवर्तन नगर्ने सहमति भएको हो,’ उनले भने, ‘यो परिणाम भुटान र चीनबीच भएको वार्ताबाटै निस्केको हो र भारतले यसमा कुनै आपत्ति जनाएन ।’भारत सतर्क हुनुपर्छ मेहरोत्राले भने, ‘भुटानले चीनसँग वार्ता सुरु गरेसँगै अफवाह फेलिन थाल्छ कि भुटान चीनतर्फ ढल्कियो भनेर । भुटान र भारत दुवै सधंै नजिक रहेका छन् र भारतले भुटानका लागि अन्तर्राष्ट्रिय जगतको ढोका कहिल्यै पनि बन्द गर्न प्रयास गरेन।’

उनले अगाडि थपे, ‘भुटानले संयुक्त राष्ट्रसंघको सदस्य हुन खोज्दा भारतले यो निश्चित गरेको थियो कि उसलाई विश्व सम्पर्कबाट अलग गर्न सकिँदैन । यसैगरी चीन विश्वको एउटा ठूला शक्ति हो । चीनसँग भुटानको सम्बन्ध नै हुँदैन भनेर सोच्नु पनि अविश्वसनीय हो । भुटान चीनसँग सम्बन्ध बनाउन सधंै भारतको साथमै हिँडिरहेको छ र यसमा उसको कुनै परिवर्तनको संकेत देखिएको छैन ।’
मेहरोत्राका अनुसार यदि भुटानले भारतसँग लुकेर चीनसँग वार्ता गरिरहेको छ भने भारत सतर्क हुनुपर्छ । आगामी दिनमा के गर्ने भनेर सोच्नु पनि पर्छ ।

प्रकाशित: १५ फाल्गुन २०७४ ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App