२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बङ्गलादेश जाने क्रममा १०० रोहिङ्गाको मृत्यु

कोक्स बजार – म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिककामाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ। 

गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको हो । सो विवादका कारण रोहिङ्गाले देश छोडेका छन्। उनीहरु छिमेकी देश बङ्गलादेशमा पुगेर शरणार्थीको रुपमा रहेका छन्। 

म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीबाट उनीहरु पार गर्ने क्रममा यसरी ज्यान जाने गरेको छ । त्यस समयदेखि आजसम्ममा कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। 

ती मध्ये कतिपय सो नदीले बगाएकोले शव पनि भेटिएको छैन। ज्यान जानेमा कैयौँको सङ्ख्यामा बालबालिका पनि परेका छन् । तर सङ्ख्या भने स्पष्ट छैन। 

म्यानमारको रोहिङ्गा मुस्लिम समूदायका झण्डै तीन लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतिको विषयमा व्यापक विवाद सुरु भएको छ। 

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन् । विस्थापित यी व्यक्तिहरू पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार बिना नै बसेका छन्। 

अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तीमा पनि तीन लाख पुगेको छ । उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यबस्था नरहेको बताइन्छ। 

उनीहरुले नदी तर्ने क्रममा माछामार्ने र कमसल खालको डुंगा प्रयोग गर्ने गरेका कारण पनि यस्तो दुर्घटना भएको हो । सानो डुंगामा धेरै जना बस्ने गर्नाले डुंगा डुब्ने र धेरै व्यक्ति त्यसैका कारण डुब्ने गरेका छन् । 

प्रकाशित: २८ भाद्र २०७४ ११:४७ बुधबार

बङ्गलादेश जाने क्रममा १०० रोहिङ्गाको मृत्यु