२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुँगुरको मासु मानव स्वास्थ्यलाई खतरा !

लन्डन– बेलायतको नाम चलेका सुपरमार्केटमा बेचिएका सुँगुरका मासुको उत्पादनले हेपाटाइटिस रोगको संक्रमण गरेको हुनसक्ने अनुसन्धानले देखाएको छ। पब्लिक हेल्थ बेलायतले गरेको अध्ययनबाट उक्त जानकारी पत्ता लागेको बताइएको छ। पब्लिक हेल्थ बेलायतका अनुसन्धानकर्ताले सुँगुरको मासु किनेका मानिसमा गरेको अनुसन्धानबाट उनीहरु हेपाटाइटिस ई को भाइरसबाट संक्रमित भएको पाइएको थियो।

अध्ययनले ती मानिसले बेलायतको नाम चलेका सुपरमार्केटबाट सुँगुरको ह्याम र ससेज किनेर खाएका थिए। पब्लिक हेल्थ बेलायतले ती सुपरमार्केटका नाम दिन अस्विकार गरेपनि बेलायतका पत्रपत्रिकाले भने ती नाम नखुलाइएका सुपरमार्केटमा बेलायतको ठूलामध्येका एक टेस्को सुपरमार्केट पनि रहेको बताएको छ।

पब्लिक हेल्थ बेलायतका प्रवक्ताका अनुसार हेपाटाइटिस ई को संक्रमणबाट सर्वसाधारणको स्वास्थ्यमा पर्ने खतरा बेलायतमा अत्यन्तै कमजोर रहेको छ। उनले हेपाटाइटिस ई सामान्य र व्यक्तिमा मात्रै सीमित रहने रोग भएकाले कति मानिसमा यत्तिकै निको हुने पनि बताए।

पब्लिक हेल्थ बेलायतले ब्रिटिश सुँगुरमा उक्त भाइरस नभेटिएको र संक्रमण बेलायतभन्दा बाहिरबाट ल्याइएका सुँगुरका मासुजन्य पदार्थ खाएकाले भएको बताएको छ। सुँगुरको मासुले हेपाटाइटिस भन्ने समाचार यस साता बेलायतका विभिन्न सञ्चारमाध्यममा राम्रै स्थान पाएका छन्। यससम्बन्धी विशेष समाचार बेलायतबाट प्रकाशित हुने ‘सन्डे टाइम्स’ पत्रिकामा पनि प्रकाशन भएको थियो।

स्वास्थ्य अधिकारीका अनुसार पहिले नै कलेजोसम्बन्धी रोग लागेका र गर्भवती महिलालाई बाहेक अन्यलाई हेपाटाइटिस ईले हल्का र छोटो समयलाई संक्रमित बनाउने बताएका छन्। हेपाटाइटिस ई भाइरसको लक्षणमा फ्लु लागेको जस्तो हुने, छाला र आँखा पहेंलो हुने, थकान हुने, ज्वरो आउने, वान्ता हुने र खानामा अरुचि हुने र केही अपवादका रुपमा कलेजो खराब हुनसक्ने र ज्यानै जानसक्नेसमेत स्वास्थ्य अधिकारीको जानकारी उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।

बेलायतको फुड स्ट्याण्डर्ड एजेन्सीले आफूहरु पब्लिक हेल्थ बेलायतले सार्वजनिक गरेको जानकारीबाट सचेत भएको र हेपाटाइटिस ईको भाइरसबाट हुनसक्ने संक्रमणका सबै पक्षलाई सरकारका अन्य विभाग र उद्योगसँग मिलेर पुनरावलोकन गरिरहेको बताएको छ।
 

प्रकाशित: ९ भाद्र २०७४ ०४:४० शुक्रबार

सुँगुरको मासु मानव स्वास्थ्यलाई खतरा