१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लागुऔषधविरुद्धको पछिल्लो कारबाहीमा ३९ को मृत्यु

मनिला – फिलिपिन्सको राजधानी मनिलामा शुक्रबार मध्यराति प्रहरीले लागुऔषधविरुद्ध गरेको कारबाहीका क्रममा कम्तीमा १४ व्यक्ति मारिएका छन्। 

फिलिपिन्स सरकारले लागुऔषधविरुद्ध देशभर जारी राखेको कारबाहीका क्रममा बिहीबार पनि २५ व्यक्ति मारिएका थिए। बिहीबार र शुक्रबार राजधानी मनिलामा जारी कारबाहीको क्रममा अन्य ३९ व्यक्ति मारिएका छन्। 

यद्यपि फिलिपिन्स प्रहरीले राजधानी मनिलामा कैयौँ स्थानमा लागुऔषधविरुद्ध कारबाही भएको पुष्टि गरेको छ। तर यस कारबाहीमा परी भएको हताहतको सङ्ख्या दिइएको छैन। 

गत तीन दिनभित्रमा भएको प्रहरी कारबाहीमा लागुऔषध संदिग्ध ७२ व्यक्ति मारिएका छन् । फिलिपिन्सको उत्तरी प्रान्त बलुचानमा मात्र ३२ व्यक्ति मारिएका थिए। 

फिलिपिन्सको राष्ट्रिय प्रंहरीले दिएको एक तथ्याङ्कअनुसार प्रहरीले जारी राखेको कारबाहीका क्रममा सन् २०१६ को जुलाईबाट सन् २०१७ जुन २६ सम्म तीन हजार ४५१ जना मारिएका छन्। 

यस कारबाहीका क्रममा अरु करिब ८६ हजार ७०३ जना पक्राउ परेका पनि समाचारमा जनाइएको छ। 

फिलिपिन्सका वर्तमान राष्ट्रपतिले यस कारबाहीलाई एक राष्ट्रिय अभियानकै रुपमा लिएका छन्। यहाँका लागुऔषध तस्करहरुलाई प्रहरीले देख्नासाथै गोली हानेर मार्न सक्ने अधिकार पनि पाएको छ । 

जुन अधिकारको सर्वत्र विरोध पनि हुने गरेको छ । मानवअधिकारवादीहरुले यसरी दिइएको यस अधिकारबाट कतिपय ठाउँमा सर्वसाधारण नागरिक पनि मारिएका जनाएका छन् ।

प्रकाशित: २ भाद्र २०७४ १०:१४ शुक्रबार

लागुऔषधविरुद्धको पछिल्लो कारबाहीमा ३९ को मृत्यु