५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इक्वेडरमा राष्ट्रपति उम्मेदवारको हत्या

इक्वेडरमा राष्ट्रपति निर्वाचनका प्रत्यासी फर्नान्डो भिल्लाभिसेन्सिओको गोली हानी हत्या गरिएको छ। बिबिसीका अनुसार इक्वेडोरको उत्तरी सहर क्विटोमा बुधबार आयोजित एक कार्यक्रममा उनीमाथि आक्रमण भएको थियो।

चुनावी अभियानका एक सदस्यका अनुसार कारमा चढ्दै गर्दा भिल्लाभिसेन्सिओको टाउकोमा एक व्यक्तिले तीनपटक गोली हानेका थिए। राष्ट्रपति गुइलेर्मो लासोले भिल्लाभिसेन्सिओको मृत्यु भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन्।

राष्ट्रपतिले हत्याबाट आफू आक्रोशित र स्तब्ध भएको बताउँदै अपराधीलाई दण्ड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। आक्रमणपछि सुरक्षाकर्मीसँग मुठभेड हुँदा ती सन्दिग्ध व्यक्तिलाई पनि गोली लागेको र पछि मृत्यु भएको जानकारी महान्यायाधिवक्ताले दिएका छन्।

इक्वेडरमा अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ। भिल्लाभिसेन्सिओ पूर्व पत्रकार हुन। उनले हालै लागु औषध ओसारप्रसारमा संलग्न गिरोहका प्रमुखले आफूलाई धम्की दिएको बताएका थिए।

चुनावी अभियानमा उनी भ्रष्टाचारी र लागु पदार्थ कारोबारीको गिरोहविरुद्ध खरो उत्रिएका थिए। उनको हत्या गरिएपछि अब राष्ट्रपति निर्वाचनमा सातजना उम्मेदवार छन् ।

प्रकाशित: २६ श्रावण २०८० ०५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App