काबुल – अफगानिस्तानको राजधानी काबुलमा अवस्थित अमेरिकी राजदूतावास र नेटो प्रमुख कार्यालयनजिकै नेटो सैकिकको एक समूहलक्षित बुधबार शक्तिशाली विस्फोट भएको छ ।
राजधानी काबुलमा बुधबार भएको यस शक्तिशाली विस्फोटमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता नाजिब डेनिसले यस बम आक्रमण र हताहतीको एएफपी समाचार समितिलाई पुष्टि गरेका छन्। बिहानको व्यस्त समयमा भएको यस आक्रमणमा मारिएका व्यक्ति प्रायः सर्वसाधारण नै भएका बताइएको छ ।
सो विस्फोटको प्रकृतिको विषयमा अनुसन्धान भइरहेको तर विस्फोटन भएको अवस्थामा विदेशी सैनिक बलको एक समूह त्यहाँबाट गइरहेको डेनिसले जानकारी दिएका छन् ।
यस आक्रमण विदेशी सैनिकलक्षित भएको एएफपीका फोटो पत्रकार र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
यस आक्रमणमा तीन सर्वसाधारणका कारसमेत ध्वस्त भएको बताइएको छ । एक सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई यस आक्रमणमा परी दुई अमेरिकी सैनिक सामान्यरुपमा घाइते भएका जानकारी दिएका छन् ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यस प्रकारको आक्रमणमा प्राय तालिवान आतङ्ककारी समूहको नै हात रहने गरेको हुनाले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीको अनुमान रहेको छ ।
प्रकाशित: २० वैशाख २०७४ ११:१० बुधबार