१० चैत्र २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

‘हाउस हज्बेन्डमा’ मानसिक समस्या

कसले कति कमाउँछ भन्ने कुराले त्यो व्यक्तिको मानसिक स्वास्थ्यलाई प्रभावित पार्ने गरेको एउटा अध्ययनले देखाएको छ। खासगरी आफ्नोवरिपरि भएका अन्य व्यक्तिसँग तुलना गर्दा त्यसले व्यक्तिको स्वास्थ्यमा प्रभावित तुल्याउने गरेको हो। कुनै परिवारमा महिलाले बढी कमाउने र पुरुष घरेलु काममा सघाउने भूमिकामा रहँदा पुरुषको मानसिक स्वास्थ्यमा नराम्रो असर परेको देखिएको छ।

व्यक्ति समाजमा बस्छ। समाजले पुरुष बेरोजगार भएको र उसकी पत्नीचाहिँ रोजगार भएको हेर्न चाहँदैन। त्यस्तो अवस्थामा कसैले न कसैले केही न केही टिप्पणी गरिहाल्छ। त्यस्तो टिप्पणी खप्ने ‘मोटो छाला’ पुरुषमा विकसित हुन अझ धेरै समय लाग्ने अध्ययनमा संलग्न रहेका मानवशास्त्रीको भनाइ छ।

अध्ययनमा संलग्न रहेका डेभ अहिले घरबेटी भएका छन्। उनी घरको सबै काम आफैं गर्छन्। तर जब छिमेकीले उनलाई के काम गर्छौं भनी सोध्छन्, त्यो बेला उनको चित्त दुख्नुसम्म दुख्छ। ‘पत्नीको कमाइले नै सबै घरधन्दा चलिरहेको छ भन्दा मेरो इज्जतमा धक्का लागेको महसुस हुन्छ,’ डेभले बिबिसीसँग भने।

अध्ययनमा सहभागी अर्का टम भन्छन्, ‘म पुरुषोचित स्वभावको मानिस हुँ... तर जब तपाईंले मेरो काम के हो भनी सोध्नुहुन्छ, त्यो बेला मलाई नपुंसक भएको ठाने कि क्या हो भन्ने महसुस हुन्छ।’

उनी पनि घरबेटी हुन्। ब्रेन्डन पनि अध्ययनमा सहभागी थिए। तपाईं के गर्नुहुन्छ भनी सोध्दा उनले भने, ‘म घरको सेवक हुँ।’

यी तीन पुरुषका महिला साथी (पत्नी)ले घर चलाउने गरी निकै ठुलो रकम कमाउँछन्। उनीहरूले मज्जाले कमाउने भएकाले घरको काममा सघाउन पुरुषहरू सहमत भए। घरको काम गर्न उनीहरूलाई समस्या छैन। तर जब उनीहरूले छिमेक र समाजमा मिलेर केही गर्नुपर्ने हुन्छ, तब जोडी मिल्दैन। त्यहाँ महिला धेरै देखिन्छन्, पुरुष निकै कम हुन्छन्। त्यतिबेला पुरुषले आफूलाई हीनताबोध भएको ठान्छन्।

समाजमा पुरुषलाई नै प्रमुख आयकर्ताका रुपमा लिइन्छ। तर अहिले कतिपय अवस्थामा पुरुषभन्दा महिलाले बढी कमाउँछन्। यसले घर र समाजमा शक्ति सम्बन्धमा प्रभाव पारिरहेको छ।

जहाँ पैसा छ, त्यहाँ शक्ति छ। जब महिलाको हातमा पैसा आउन थाल्छ, उनीहरू निर्णायकहरू बन्न थाल्छन्। समाजले भने पुरुष नै घरको उच्च आयकर्ता हुनुपर्छ भन्ने अपेक्षा गर्छ। त्यो अपेक्षाले पुरुषलाई निर्बल महसुस गराउँछ। यसले पुरुषहरूको मानसिक स्वास्थ्यमा समस्या ल्याउने मात्र होइन, अधिकांश अवस्थामा सम्बन्ध विच्छेदको सम्भावना पनि उच्च हुन पुग्छ।

विश्वभरि नै पुरुषले महिलाले भन्दा बढी कमाउने प्रवृत्ति छ। सन्तान भएका दम्पतीहरूमा महिलाले पुरुषले भन्दा बढी घरायसी काम र सन्तानको हेरचाह गर्छन्। यस्तो लैंगिक अपेक्षा र आर्थिक आवश्यकताका कारणले पनि हुन्छ।

जति तीव्र रुपमा महिलाको आम्दानी बढ्दै छ, घर तथा कार्यालयमा लैंगिक धारणामा हुनुपर्ने परिवर्तन भने निकै सुस्त छ। महिला उच्च आयकर्ता भए पनि उनीहरूले कम आय हुने पुरुष साथीभन्दा बढी घरेलु काम गरिरहेका हुन्छन्। केही उमेर समूहमा लैंगिक समानताको समर्थन गर्नेहरूको संख्या बढे पनि पुरुष आफ्नी पत्नी वा केटी साथीले बढी कमाएकोमा खुशी हुन सक्दैनन्।

अध्ययनहरूले देखाएअनुसार महिला साथीले पुरुषले भन्दा बढी कमाए पुरुषको आत्मसम्मान र खुशीमा असर पर्ने गरेको छ। यो समस्या कति गम्भीर छ भन्नेबारे अहिलेसम्म बृहत् अध्ययन हुन सकेको छैन।

जुन घरमा पतिले पत्नीको तुलनामा बढी कमाइरहेको हुन्छ, त्यहाँ सबै कुरा सामान्यझै देखिन्छ। तर जब कुनै पत्नीले पतिको तुलनामा बढी कमाउन थाल्छे वा ऊ ठुलो ओहदामा पुग्छे, त्यसबारे घरमा चर्चा गर्नु ‘अप्ठेरो विषय’ बन्न पुग्छ। पुरुषहरूले पत्नीको करियरलाई समर्थन त गर्छन् तर पुरुषत्वको पुरानो धारणाका कारण आफूलाई असफल महसुस गर्न थाल्छन्।

जब पतिले जागिर गुमाउँछ र आफ्नो इच्छाबेगर नै गृहस्थ बन्न बाध्य हुन्छ, तब पति पत्नीको जीवन निकै अप्ठेरो मोडमा पुग्ने सामाजिक सञ्जालका प्रभावशाली व्यक्ति ह्यारी बन्टन बताउँछन्। उनले गएको महिना जागिर गुमाएपछि सामाजिक सञ्जालमा लेखेका थिए, ‘जागिर गुमाएपछि एउटा पुरुष हुनुको, पति र बाबु हुनुको मूल्य प्रभावित भएको छ।’

योजनाअनुसार काम नभएपछि पुरुषत्वको अहंमा चोट पुग्छ र कतिपय अवस्थामा अवसादको दर उच्च हुन पुग्छ भन्दै ह्यारी पुरुषत्वको अहंलाई पुरुषले मनन गर्न जरुरी रहेको बताउँछन्। उनी आफ्नो जीवनशैलीमा आएको परिवर्तनलाई सकारात्मक रुपमा लिँदै मानसिक स्वास्थ्यलाई ठिक ठाउँमा राख्न अनेक प्रयत्न गरेको बताउँछन्।

गत वर्ष स्विडेनमा एक हजारभन्दा बढी लोग्नेस्वास्नीको १० वर्षको आय र मानसिक स्वास्थ्य विश्लेषण गरिएको थियो। विश्लेषणले देखाएअनुसार जब पत्नीले पतिभन्दा बढी कमाउन थाल्छन्, पुरुषमा मानसिक स्वास्थ्यको समस्या बढ्न थाल्छ। उच्च आय भएका महिलाका पतिले पैसा खेलाउन पाएपछि पत्नीको आँखा छल्दै युवती घुमाउने क्रम पनि बढ्ने गरेको देखिएको छ। विश्लेषक भन्छन्, ‘पुरुषले यस्तो गर्नुका पछाडि पुरुषत्व गुमाइरहेको कुरा उनीहरूको मनमा गढेको हुनाले हो। मनमा गढेको त्यो कुरा निकाल्न उनीहरू अर्की महिला खोज्छन्।’

अबका केही दशकमा महिलाको क्षमता वृद्धि हुँदै जाँदा धेरैजसो पुरुषले घर सम्हाल्ने र महिला बाहिर व्यस्त हुने सम्भावना छ।

त्यस्तो अवस्थामा महिलाको आम्दानी अझै बढ्न सक्ने पनि देखिएको छ।

लामो समयदेखि पारिवारिक सम्बन्धमाथि विश्लेषण गरिरहेकी ‘ब्रेडविनर्स’ पुस्तककी लेखिका मेलिसा होजेनुबम भन्छिन्, ‘महिलाले बढी कमाएका बेला उसको पतिलाई केही चोट लाग्ने सम्भावना त हुन्छ नै, त्यसले मानसिक स्वास्थ्यमा केही समस्या पनि ल्याउने देखिन्छ। तर पुरुषले आफ्नाबारेमा विश्लेषण गर्ने सबैभन्दा ठुलो अवसर यहीबेला हुनेछ। उनीहरूले पुरुषत्वको गहिरा अन्धविश्वासमाथि चिन्तन गर्ने, लैंगिक भूमिकाका बारेमा समाजको विश्वासलाई चुनौती दिने गरे भने संसार क्रमशः बदलिन सक्छ।’

प्रकाशित: २६ असार २०८२ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App