७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्न किन चुनौतीपूर्ण ?

फाइल तस्बिर

सरकारले गत वर्ष साउनको तेस्रो साता नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने निर्णय गर्यो। साउन २४ गते आएको सरकारको संयुक्त न्यूनतम साझा कार्यक्रममा समेत नेपालमै कोरोनाविरुद्धको खोप उत्पादनका लागि प्रयोगशाला स्थापना गर्ने उल्लेख गरेर खोप उत्पादनको प्रक्रिया अगाडि बढायो। तर, वर्ष दिन बितिसक्दा पनि खोप उत्पादन प्रक्रियाले गति लिन सकेको छैन।

सरकारले नेपालमै मानिसमा प्रयोग हुने खोप उत्पादनको निर्णय गरेपछि सबै क्षेत्र उत्साहित पनि बन्यो। तर, त्यो उत्साह निराशामा परिणत हुन समय लागेन। कारण, नेपाल जहाँ हालसम्म मानिसमा प्रयोग हुने कुनै खोप नै उत्पादन हुन सकेको छैन त्यहाँ कोरोनाविरुद्धको खोप उत्पादनले कसरी गति लेला।

नेपालमा पहिलो खोप १९६१ सालमा बनेको थियो। जनावरमा प्रयोग हुने १३ किसिमको खोप अहिले पनि बन्ने गरेको छ। नेपालमा हालसम्म ८० वटा औषधि उत्पादन गर्ने उद्योगहरु छन्। तर, मानिसमा प्रयोग हुने कुनैपनि खोप कसैले पनि उत्पादन गरेका छैनन। कोरोनाविरुद्धको खोप उत्पादन गर्न सहज नभएको स्वयं सरकारले नै पनि स्वीकार्छ।

नेपालमा कोरोनाविरुद्धको खोप उत्पादनका लागि काम सुरु नभएको भने होइन। सरकारले विश्व स्वास्थ्य सङ्गठन लगायतको प्राविधिक विज्ञसँगको छलफल र सहयोगमा कोरोनाविरुद्धको खोप उत्पादनका लागि प्रक्रिया सुरु गरेपनि प्राविधिक त्रुटीका कारण सफल हुन नसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बताउँछ।

नेपालमा हालसम्म १ सय ९ वटा औषधि उद्योगहरू दर्ता भएका छन्। तर, कसैले पनि मानिसमा प्रयोग गर्न सक्ने खोप उत्पादन गर्न सकेको छैन वा भनौ गर्न सक्ने आँट गरेका छैनन्। कारण, मानिसमा प्रयोग हुने खोप उत्पादन सोचे र भने जतिको सहज छैन।

कोरोना महामारी सुरु भएदेखि नै कोरोनाविरुद्धको खोप विकासको बहस सुरु हुन थाल्यो। हुँदाहुँदै रुस, अमेरिका, बेलायत, चीन लगायतका मुलुकले खोप उत्पादन नै सुरु गरेर मानिसहरूलाई लगाउन थालियो। र, यतिबेला त्यो खोप ५ वर्ष मुनिका बाहेक सबैलाई लगाइँदैछ।

अन्य मुलुकमा बन्न सक्ने कोरोनाविरुद्धको खोप नेपालमै बन्न सक्ने सम्भावना भने नभएको होइन। तर, प्राथमिकतामा नपरेको डा. भगवान कोइरालाको भनाइ छ।

उनी भन्छन्, ‘नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन सम्भव छ। त्यसका लागि सरकारले प्राथमिकतामा राखेर क्षेत्र निर्धारण गर्नुपर्छ। अध्ययन अनुसन्धानका लागि छुट्टै टिम बनाएर काम गर्ने हो भने खोप उत्पादन हुन सक्छ।’

२०७७ को माघ १४ गतेबाट सुरु भएको खोप अभियान अन्तर्गत हालसम्म नेपालका ७५ प्रतिशत नागरिकले एक मात्रा र ७३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्। तर, अझै नेपालको लक्षित जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्। बाँकी रहेका जनसङ्ख्याका लागि भएपनि कोरोनाविरुद्धको खोप उत्पादन गर्न सक्नु राम्रै पक्ष हुनेछ। तर, त्यसका लागि पहल हुन सकेको छैन।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमै कोरोनाविरुद्धको खोप उत्पादनका लागि अध्ययन अनुसन्धान भइरहेको छ भने कसरी खोप उत्पादन गर्ने, जिम्मा कसलाई दिने लगायतका विषयमा पनि छलफल भइरहेको छ।

त्यतिमात्रै होइन औषधि उत्पादक सङ्घ पनि खोप उत्पादनका लागि तयार छ। तर, सरकारले चासो नदिएका कारण खासै सक्रियता देखाएको छैन। सङ्घका महासचिव विपलब अधिकारीले नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन सम्भव भएपनि अझै नेपाल बायोलोजिकल प्रोडक्टका लागि तयार नभएकाले चुनौती रहेको बताए।

उनले सरकारले नै खोप उत्पादनका लागि प्राथमिकता दिने हो भने हामी हातेमालो गरेर अघि बढ्न सक्ने बताए ।

उनले भने, ‘नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने सम्भावना छ। तर, एक वर्ष घोषणा भएको भएपनि कुनै प्रगति देखिएको छैन। बाहिरबाट अनुदान आइ नै हाल्छ। लगाइ नै हालिन्छ। किन झन्झट गर्ने भनेर सोच्दा नेपालमा कोरोनाविरुद्धको मात्रै होइन कुनैपनि मानिसमा प्रयोग हुने खोप उत्पादन गर्न सकिएको छैन।’

खोप उत्पादनका लागि खोप उत्पादककर्ता मुलुकसँग आधिकारिकता लिएर अन्य मुलुकले खोप उत्पादन गर्न सक्छ। नेपालमै खोप उत्पादन सम्भव रहेको विज्ञहरू बताउँछन्। तर, त्यसको अध्ययन र तयारी सरकार, औषधि उत्पादक कम्पनी कसैले पनि गरेको देखिँदैन।  
 

मानिसमा प्रयोग हुने खोप बनाउन किन चुनौती ?

कोरोना महामारी सुरु भएको अबको ४ महिना पछि ३ वर्ष पूरा हुनेछ। यो अवधिमा कोरोना महामारीको विभिन्न मुलुकमा गर्दै विभिन्न लहरहरू फैलिसकेका छन् भने ६५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ। जबकी ६० करोडभन्दा बढी सङ्क्रमित भइसकेका छन्। हालसम्म यस रोगको कुनैपनि ठोस उपचार पद्धति तथा औषधि पत्ता लाग्न सकेको छैन। तर, विश्वका वैज्ञानिकहरूले गरेको अध्ययन, अनुसन्धान र मिहिनेतले कोरोनाविरुद्ध लड्नका लागि खोपको विकास भने गरिसकेको छ।

हालसम्म फाइजर, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसोन, मोडर्ना, स्पुतनिक भी, भेरोसेल, सिनोभ्याक लगायतका कोरोनाविरुद्धको खोप प्रयोगमा छन्। तर, ती खोप सहजै भने बनेको होइन। सन् २०२० को अगस्टमा रुसले आफूले कोरोनाविरुद्धको खोप बनाएको दावी गर्दै गर्दा अन्य मुलुकले त्यो खोपलाई मान्यता नदिने भनेर भन्यो। पछि फाइजर, मोडर्ना, जोनसोन एण्ड जोनसोन, भेरोसेल लगायतका खोप पनि विकास भए र त्यो प्रयोगमा आए। मानिसमा प्रयोग हुने भएकाले खोपको विभिन्न चरणमा परीक्षण गर्ने गरिन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुनैपनि खोप सामान्यतया चार चरणमा विकास हुन्छ। ती हुन्ः

पहिलो चरणः यस चरणमा खोप कतिको सुरक्षित छ भन्ने कुराको सुनिश्चितता गरिन्छ। जसमा कम्तिमा पनि २० देखि एक सय स्वस्थ स्वयंसेवीलाई सहभागी गराउनु पर्ने हुन्छ। त्यसपछि खोप लगाइएको मानिसमा कुनै किसिमको गम्भीर साइड इफेक्ट –नकारात्मक प्रभाव) भए नभएको विषयमा पनि अध्ययन गरिन्छ। त्यसपछि खोपको कति मात्रा दिँदा साइड इफेक्ट भइरहेको छ भन्ने विषयमा पनि अवलोकन गरिन्छ।

दोस्रो चरणः यस चरणमा एक सय भन्दाबढी स्वयंसेवीलाई सहभागि गराइन्छ। जसमा स्वयंसेवीमा मिल्दोजुल्दो र छोटो समयका लागि कस्ता साइड इफेक्ट देखिन्छ भन्ने विषयमा अध्ययन गरिन्छ। त्यस्तै स्वयंसेवीको रोग प्रतिरोधात्मक क्षमताले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने विषयमा पनि हेरिन्छ।

तेस्रो चरणः यस चरणमा एक सयदेखि एक हजारसम्म वा त्यो भन्दा बढी स्वयंसेवीलाई सहभागि गराउन सकिन्छ। जसमा दुई समूह छुट्याई एक समूहलाई खोप दिइन्छ भने एक समूहलाई खोप दिइँदैन। त्यसपछि खोप लगाइएकाहरुको तुलना खोप नलगाएकाहरुसँग गरिन्छ। जसमा खोप लगाएकाहरु र नलगाएकाहरुमा के कस्तो परीवर्तन भयो भन्ने विषयमा अवलोकन गरिन्छ। त्यसपछि यो खोप कतिको सुरक्षित छ भन्ने विषयमा अवलोकन गर्नुका साथै खोप कतिको प्रभावकारी छ भन्ने विषयमा पनि हेरिन्छ र खोपको कुनै किसिमको साइड इफेक्ट भयो वा भएन भन्ने विषयमा पनि सुनिश्चित गरिन्छ। साथै यसमा उमेर समूह कुन कुन हो भनेर पनि देखिन्छ र कुनैपनि उमेर समूहमा त्यसले प्रभावकारी काम गरेन भने त्यसलाई तुरुन्त बन्द गर्नुपर्ने हुन्छ।

चौथो चरणः खोपको तेस्रो चरणले राम्रो नतिजा दिएपछि त्यसको चौथो चरणमा अनुमतिका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। (उदाहरणका लागिः यदि अमेरिकाले कुनैपनि खोप विकास गरेको छ र त्यसले तीनवटै चरण सफलतापूर्वक पार गरिसकेको छ भने त्यसलाई चौथो चरणमा त्यहाँको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले अनुमति दिन्छ। कि खोपले मानिसमा राम्रोसँग काम गरिरहेको छ।) त्यस्तै जुन मुलुकले खोप विकास गरेपनि उसको खोपलाई मान्यता त्यहीको सम्बन्धीत निकायले दिनुपर्ने हुन्छ। यसमा खोपको छोटो तथा लामो समयका लागि हुने गरेको साइड इफेक्टको बारेमा पनि अध्ययन गरिन्छ। यस चरणमा खोपको सबै प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेपछि त्यसलाई मान्यता दिएर नागरिकको उपयोगका लागि उत्पादन गरेर बजारमा ल्याइन्छ।

कुनैपनि मुलुकले खोप बनाइसकेपछि त्यसको विश्व व्यापीकरण विश्व स्वास्थ्य सङ्गठनले गर्छ भने दोस्रोमा विश्वका अधिकांश मुलुकले अनुमति दिएको अमेरिकाको फुड एण्ड एडमिनिस्ट्रेशनले मान्यता दिएपछि त्यो खोप वा औषधि प्रयोगमा ल्याउन सक्छन्। तर, अहिलेको अवस्थामा रुसले विकास गरेको खोप यदि अमेरिकासहितका अन्य मुलुकले आफ्नो देशमा माग गर्यो भने त्यसका लागि यस खोपको विषयमा एफडिएले भने मान्यता दिनुपर्ने हुन्छ।

यी सब चरण पार गर्नका लागि नेपालमा चाहिने आवश्यक जनशक्ति, बजेट, पूर्वाधार लगायतका अभाव छन्। यति धेरै चरण पार गर्नुपर्ने, मापदण्ड सबै पूरा गर्नुपर्ने, थोर बहुत तलमाथि हुँदा मानिसको ज्यान नै जाने भएकाले नेपालमा खोप तत्कालै उत्पान भइहाल्ने अवस्था भने छैन। यसका लागि चाहिने आवश्यक तयारी, अध्ययन, अनुसन्धान र लगानी नभएसम्म नेपालमा कोरोनाविरुद्धको खोप मात्रै होइन कुनैपनि मानिसमा प्रयोग हुने खोप उत्पादनका लागि वर्षौ लाग्ने निश्चित छ। यी सबकाबीच राजनीतिक स्वार्थ जोडिँदा पनि समस्या कायमै छ।

प्रकाशित: १३ भाद्र २०७९ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App