९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बैतडीमा बल्ल कोरोना कोष स्थापना

फाइल तस्बिर

बैतडीमा पहिलोपटक  कोरोना कोष स्थापना गरिने भएको छ। कोरोनाकाे जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो।  

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट  ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना हुने भएको छ। यहाँ १० स्थानीय तह छन्।  केही दिनअगाडि विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो। कोरोना संक्रमितहरुलाई उपचारको दायरमा ल्याउन र उनीहरुलाई सम्बन्धित ठाउँसम्म पुर्‍याउन सहयोग गर्ने उद्देश्यले कोरोना कोष स्थापना गर्ने निर्णय भएको उनकाे भनाइ छ।

संक्रमणको चौथो लहरको जोखिम बढिरहेकालाई पूर्वतयारी गर्न थालिएको हो। उनले भने, 'सीमा नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुलाई होल्डिङ सेन्टरमा राख्दा र उनीहरुलाई सम्बन्धित ठाउँमा पुर्‍याउन लाग्ने पैसा सो कोषबाट खर्च गरिनेछ।' कोरोना कोष स्थापना गरेर त्यसको व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ।  

विपद् व्यवस्थापन समितिको बैठकले प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर र आइसोलेसन, क्वारेन्टिन निर्माण गरिने, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरुको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने निर्णय गरेको छ।  

यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्नेसमेत निर्णय भएको छ।  

भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार तीन सय ६९ जनामा कोरोना संक्रमणपुष्टि भइसकेको छ । कोरोनाकै  कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन्।रासस

प्रकाशित: २२ श्रावण २०७९ ०५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App