७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

चितवनमा रगत अभाव, काठमाडौं र पोखराबाट ल्याइँदै

फाइल तस्बिर

चितवनमा रगतको अभावपछि आज काठमाडौं र पोखराबाट ल्याइँदैछ। पोखराबाट ४०० र काठमाडौंबाट ४५ युनिट रगत ल्याउन लागिएको हो।  

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको चरम अभाव भएको हो। केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती मौसम र गर्मीका कारण संघसंस्थाले रक्तदान कार्यक्रम नगरेका हुन्।

 यहाँ दैनिक १५० युनिट रगतको माग हुने गर्दछ। रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट ओ, ए र बी समूहका चार सय युनिट रगत ल्याउन लागिएको हो। रगत लिनका लागि गाडी पठाइएको उनले जानकारी दिए। साँझसम्ममा पोखराबाट ल्याउने रगत आइपुग्नेछ।

 त्यस्तै बिहीबार यहाँको चितवन मेडिकल कलेजमा एकजना बिरामीको कलेजो प्रत्यारोपण हुँदैछ। त्यसका लागि केन्द्रीय रक्तसञ्चार सेवा काठमाडौंबाट ४५ युनिट रगत ल्याइँदैछ। एउटै बिरामीका लागि त्यो रगत जगेडामा राख्ने गरी ल्याउन लागिएको हो।

 काठमाडौंबाट जहाजमार्फत रगत ल्याउन लागिएको पौडेलले जानकारी दिए। रगत अभाव पूर्तिका लागि बिरामीका आफन्त र केन्द्रले जिल्लाका रक्तदातालाई डाकेर रगतको व्यवस्थापन गर्दै आएको छ। केन्द्रले बोलाएपछि रगत दिनेहरु तीन हजार हाराहारी रक्तदाता रहेको पौडेलको भनाइ छ।

 जिल्लामा सबैभन्दा बढी रगतको माग क्यान्सर अस्पतालमा हुने गर्दछ। रक्तक्यान्सर भएका एउटै बिरामीलाई ४०० युनिटसम्म रगत दिएको कार्यालयमा तथ्यांक रहेको पौडेलले बताए। यहाँको आधा रगत क्यान्सरका बिरामीका लागि जाने गर्दछ।

 क्यान्सरका अतिरिक्त यहाँ रहेका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र दुई दर्जन निजी अस्पतालमा रगतको माग हुने गर्दछ। मेडिकल कलेजहरुमा अंग प्रत्यारोपणसम्मका उपचार हुने हुँदा रगतको माग उच्च हुने गर्दछ। राजधानी काठमाडौँपछि धेरै प्रसूति भरतपुरमा हुने गर्दछन्। दुर्घटनाका बिरामीको सङ्ख्या पनि यहाँका अस्पतालहरुमा धेरै हुने गर्दछ। प्रसूति र दुर्घटनाका घाइतेहरुलाई पनि रगतको माग बढी हुने गर्दछ। रासस

प्रकाशित: ४ श्रावण २०७९ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App