पोखरा महानगरपालिका–२६, बिजयपुरकी विष्णुकुमारी श्रेष्ठ, ५९, ले मधुमेहको औषधि खान थालेको झन्डै दशक हुन थाल्यो। मधुमेहको लक्षणसँग मिल्दोजुल्दो समस्या देखिएपछि परीक्षण गराउँदा उनमा मधुमेह पुष्टि भएको थियो। त्यसपछि उनले औषधि खान थालेकी हुन्।
‘मधुमेहको औषधि खान थालेको झन्डै एकदशक हुन थाल्यो। अब त बाचुन्जेल खानुपर्ने होला,’ श्रेष्ठले भनिन। श्रेष्ठ जस्ता ग्रामिण क्षेत्रमा धेरै पाको उमेरका सर्वसाधारण मधुमेहका बिरामी छन। कतिपयले परीक्षण गराएर औषधि सेवन गर्छन भने कतिपयले परीक्षण गराउन समेत झन्झट मान्छन। स्वास्थ्य स्वयंसेविकाका अनुसार नियमित औषधि खानुपर्ने झन्झटले कतिपयले मधुमेह परीक्षण गराउन चाहन्नन्।
स्वास्थ्यकर्मीका अनुसार पछिल्लो समय मधुमेह रोग भित्रभित्रै फैलिरहेको छ। तर, धेरैले परीक्षण गराउँदैनन। रोग पुष्टि भएमा नियमित औषधि खानुपर्ने भन्ने डर उनीहरुमा हुने गरेको छ। पोखरा–२६ विजयपुरकी सुलोचना रानाभाट भन्छिन, ‘केही समय अघि हामी गाउँका एउटा समुह मधुमेह परीक्षण गराउन गयौ। हामी झन्डै २० जना थियौ। ती मध्ये केही महिलामा मधुमेह पुष्टि भयो।’
रानाभाटका अनुभवमा गाउँका बासिन्दा हत्तपत्ति परीक्षण गराउन चाहन्नन। शारिरिक समस्या नथपिएसम्म रक्तचाप, मधुमेहलाई सामान्य रुपमा लिने गरेको उनले बताईन। ‘केहीगरि मधुमेह भएको पुष्टि भएमा बाचुन्जेल औषधि खानुपर्ने भन्ने त्रासमा गाउँले छन्। त्यही भएर परीक्षणमा पनि रुची राख्दैनन,’ उनले भनिन।
स्वास्थ्य स्वयंसेविका पनि मधुमेहबारे समाजमा अझै भ्रम रहेको बताउँछन्। पोखरा महानगरपालिका–३२ की स्वास्थ्य स्वयंसेविका समुन्द्रा अधिकारी मधुमेह परीक्षणमा गाउँलेहरु हत्तपत्ति रुची राख्दैनन। अधिकारी भन्छिन, ‘लक्षण देखिएपछि केहीले मधुमेह भएको हो की भनेर आशंका गर्न थाल्छन, कतिपयले वेवास्ता नै गर्छन। जब समस्या बल्झिँदै जान्छ, त्यसपछि मात्र परीक्षण गराउन पुग्छन। ढिलागरि परीक्षण गराउँदा जोखिम निम्तिन सक्छ।’
उनको बुझाईमा ग्रामिण क्षेत्रका बासिन्दाले मधुमेहबारे सुरुवाती चरणमा हत्तपत्ति थाहै पाउँदैनन। ‘मधुमेहले उनीहरुलाई सिकिस्त बनाइसकेको हुन्छ। तर, पत्तै पाउँदैनन,’ उनले भनिन, ‘थाहा भएपनि केही हेलचेक्रयाँइ गर्छन। तर धेरैले त मेसो नै पाउँदैनन।’ पछिल्लो समय मधुमेहबारे प्रचारप्रसार सुरु भएको छ। त्यसले गर्दा सर्वसाधारण जनता केही सचेत बनेपनि हत्तिपत्ति उनीहरुलाई लामो समयदेखिको बानि बदल्न गाह्रो हुने गरेको उनले बताईन। ‘अरुजस्तो तत्कालै ज्यानै नजाने रोग भएकोले होला, मधुमेहलाई धेरैले वेवास्ता गर्छन। तर, वेवास्ता गर्नु आफ्नै लागि घातक हो,’ अधिकारीले भनिन्।
स्वास्थ्यकर्मीका अनुसार मान्छेको जीवनशैलीमा आएको परिवर्तन र फेरिएको खानपिनका कारण मधुमेहको जोखिम बढ्दो छ। गुलियो र नुनिलो धेरै खानु, चिल्लो र बोेसोयुक्त खानपिन तथा अत्याधिक कार्बाेहाइड्रेटयुक्त खानेकुराका कारण मोटोपन बढिरहेकोले मधुमेह महामारीको रुपमा फैलिदै गएको उनीहरु बताउँछन्।
उनीहरुका अनुसार पेटमा रहेको प्यानक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुने इन्सुलिन हार्मोनको अनियमितता हुँदा मधुमेह रोग लाग्छ। इन्सुलिनले चिनी अर्थात कार्बाेहाइड्रेटलाई पचाउने काम गर्छ। रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्नेगर्छ। तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ वा कम हुन्छ तब रगतमा चिनीको मात्रा बढ्न थाल्छ। प्यानक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा रगतमा चिनीको मात्रा बढ्छ र मधुमेह रोग लाग्छ।
पोखरा महानगरपालिका–३२ की अर्की स्वास्थ्य स्वयंसेविका देवका तिवारी पनि गाउँमा मधुमेहका बिरामी धेरै भेटिन थालेको बताउँछिन। ‘कतिपयले औषधि खाएका छन। एकपटक औषधि खाएपछि दैनिक खानुपर्छ भनेर डराउने धेरै छन,’ तिवारी भन्छिन, ‘सधैं औषधि खानुपर्ने भनेर झन्झट मान्छन। त्यसैले हत्तपत्ति खान चाहँदैनन्।’ तिवारी आफै मधुमेहकी बिरामी हुन्। उनले विगत एकवर्षदेखि औषधि खाईरहेकी छिन।
स्वास्थ्यकर्मीका अनुसार मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु, पटकपटक पिसाब लाग्नु, पिसाबको मात्रा धेरै हुनु, बढी थकान महसुस गर्नु, शरीर कमजोर हुँदै जानु, खाना खाएपनि दुब्लाउदै जानु, भोक बढि लाग्नु, बारम्बार घाउखटिरा आउनु र समयमा निको नहुनु लगायतका समस्या मधुमेहका बिरामीमा हुन्छन।
स्वास्थ्यकर्मीका अनुसार मधुमेह(टाइप १) प्राय ८ देखि १४ वर्षका व्यक्तिमा देखा पर्दछ। यस्ता बिरामीहरुलाई बाँच्नको लागि इन्सुलिन नै चाहिने भएकोले यिनीहरु जीवनभर इन्सुलिनमा आश्रित हुन्छन्। दोश्रो प्रकारको मधुमेह(टाइप २) मधुमेह सामान्यतया ४० बर्षको उमेर कटेका व्यक्तिमा देखिन्छ। नेपालमा टाइप २ मधुमेहको भार उच्च भेटिएको छ।
मधुमेहको क्षेत्रमा पोखराका २६ देखि ३३ वडासम्म नेपाल विकास समाजले सचेतनाका काम गरिहहेको छ। समाजकी कार्यकारी निर्देशक डा. श्वेता कोइरालाका अनुसार समाजले केही वर्ष अघि गरेको अध्ययनले लेखनाथ क्षेत्रका २५ देखि ६४ वर्ष उमेर समुहमा ११.७ प्रतिशत व्यक्तिमा मधुमेहको समस्या देखाएको थियो। ‘मधुमेहको समस्या सहरी क्षेत्रमा मात्र नभई हिमाली भेगमा पनि बढिरहेको छ। केहीवर्ष अघिसम्म हिमाली भेगमा परीक्षण गराउँदा प्रत्येक एकसय जनामध्ये एकजनामा मधुमेहको समस्या थियो। त्यो संख्या बढेर अहिले ८ प्रतिशतसम्म पुगेको छ,’ उनले भनिन।
‘हिमाली भेगमा समेत सहरी गतिविधि बढ्दा मधुमेहको जोखिम बढिरहेको छ। अरुतिरको त झनै डरलाग्दो अवस्था हो,’ डा. कोइरालाले भनिन, ‘सहरमा जानकार भएर पनि हेलचेक्रयाँइ बढिरहेको छ।’ सहरका बासिन्दा नसर्ने रोगबारे जानकार भएपनि वेवास्ता गर्ने उनले बताईन। ‘नियमित काममा रहेको, तत्काल कुनै शारिरिक समस्या नभएको भन्दै गाउँका बासिन्दाले बेवास्ता गरिरहेका छन,’ उनले भनिन, ‘जब असर बढ्दै गएर अरु अंगमा हानी गर्छ, त्यसपछि बल्ल थाहा पाउँछन। त्यो बेलासम्म ढिला भईसक्छ।’ नेपालमा मृत्यु भएका एकसय जनामध्ये ६० जना नसर्ने रोगबाट पीडित हुने गरेको विश्व स्वास्थ्य संगठनले केहीवर्ष अघि सार्वजनिक गरेको तथ्यांकमा उल्लेख रहेको कोइरालाले बताईन।
प्रकाशित: १४ चैत्र २०७८ ०८:३२ सोमबार