४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नियमित औषधि सेवन नगरे क्षयरोग दोहोरिन सक्ने

खोकी लाग्यो? ज्वरो आयो? खोक्दा खकार आइरहयो? खकारमा रगत देखियो? यीमध्ये कुनै पनि लक्षण देखियो भने तुरुन्त क्षयरोगको परीक्षण गरी उपचार सुरु गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आग्रह गरेको छ। अहिले पनि समुदायमा धेरै संख्याका क्षयरोगी रहेको केन्द्रको भनाइ छ।

केन्द्रका अनुसार उपचारमा ढिला पुग्नेहरू दूरदराजका बासिन्दा बढी छन्। उनीहरूलाई सरकारी स्वास्थ्य सेवाले सम्बोधन गर्न सकेको र बर्सेनि क्षयरोगबाट हुने मृत्यु उल्लेखनीय संख्यामा रहेको केन्द्रले जनाएको छ। विश्व क्षयरोग दिवसका अवसरमा केन्द्रले बुधबार पत्रकार सम्मेलन गरी क्षयरोगका कुनै पनि लक्षण देखा परे छिटोभन्दा छिटो परीक्षण गर्न अनुरोध गरेको हो।

साँझपख ज्वरो आउनु, खोकी लाग्नु, खकारमा रगत देखा पर्नु, खानामा रुचि नहुनु, तौल घट्दै जानुजस्ता लक्षण देखिए क्षयरोग हुने भएकाले समयमै नजिकको स्वास्थ्य केन्द्रमा गई क्षयरोग परीक्षण गरेर समयमै औषधि सेवन गरे क्षयरोगको मृत्युबाट बच्न सकिने क्षयरोग केन्द्रका निर्देशक डा. नवीन शाहले बताए। समयमै क्षयरोगको पहिचान गरेपछि रोगको गाम्भीर्य हेरेर ६ महिनादेखि एक वर्षसम्म नियमित औषधि सेवन गरे निको हुने डा. शाहको सुझाव छ।

तर कतिपय क्षयरोगीले नियमित रूपमा क्षयरोगको औषधि सेवन नगर्दा क्षयरोगको कीटाणु पुनः शरीरमा सक्रिय भई औषधिले काम नगर्ने र कतिपयलाई पुनः संक्रमण हुने समस्या भएको छ। तथ्यांकअनुसार नेपालमा हाल देशभरिमा २८ हजार ६ सय ७७ जना नयाँ क्षयरोगी छन्। तीमध्ये ४ सय १८ जनामा पुनः संक्रमण भएको तथ्यांक छ। तथ्यांकअनुसार नेपालमा ५ देखि १० प्रतिशतमा यो रोग पुनः देखा पर्ने गरेको छ।

नेपालमा क्षयरोग उपचार केन्द्र प्राथमिक स्वास्थ्य केन्द्रसम्म भए पनि दुर्गम जिल्ला, जहाँ क्षयरोगीको संख्या कम छ, ती ठाउँका मानिस रोगको लक्षण देखिए पनि छिटो उपचारमा पुग्दैनन्। उनीहरू स्वास्थ्य केन्द्रमा जानुको सट्टा जडीबुटी सेवन गरी बस्नाले क्षयरोग अन्य अंगमा फैलिने गरेको डा. शाहले बताए। 

क्षयरोगको समयमै पहिचान गरी उचित तरिकाले औषधि सेवन नगर्दा यो रोगको कारण नेपालमा प्रतिवर्ष १५ सयदेखि २ हजार जनाको मृत्यु हुने गरेको केन्द्रको तथ्यांक छ। क्षयरोगबाट हुने मृत्युलाई नियन्त्रण गर्न सरकारले हाल देशभरि २५ वटा स्थानीय तहबाट क्षयरोग मुक्त नेपाल अभियान सुरु गरेको छ। यो अभियान चार वर्षभित्र ७ सय ५३ वटै स्थानीय निकायमा विस्तार गर्ने केन्द्रले जनाएकोे छ।

नेपालमा क्षयरोगको पहिचानका लागि देशभर ८ सय ९६ वटा माइक्रोस्कोप केन्द्र, ८४ जिल्लामा जिन एक्सपर्ट केन्द्र र ५ हजार ५ सय ३ वटा डट्स केन्द्र २२ वटा डिआर केन्द्र र ८१ व्टा डिआर केन्द्र सञ्चालनमा छन्। यसका साथै प्रत्येक डट्स क्लिनिकबाट क्षयरोगीलाई निःशुल्क उपचार तथा औषधि वितरण गरिन्छ।

केन्द्रका निर्देशक डा. शाहका अनुसार सुरुमा फोक्सोबाट सुरु भई मुटु, मिर्गौला, कलेजो तथा अन्य जुनसुकै अंगमा फैलिएमा संक्रमितलाई औषधिले सजिलै निको नहुने समस्या आउँछ। सरकारले सन् २०३० अर्थात् दिगो विकास लक्ष्य अवधिभित्र ९० प्रतिशत नयाँ क्षयरोगीको संख्या घटाउने लक्ष्य लिएको थियो। तर सन् २०१९ को प्रिभिलेन्स सर्वेक्षणले ६९ हजार प्रतिवर्ष नयाँ क्षयरोगी रहेको अनुमानित तथ्यांक पेस गरेको थियो।

तर सन् २०१७ मा विश्व स्वास्थ्य संगठनले नेपालमा प्रतिवर्ष ४२ हजार क्षयरोेगी रहेको जनाएको थियो। तर नेपाल राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार कोभिड–१९ संक्रमणअघि नेपालमा प्रतिवर्ष ३२ हजार ५ सय क्षयरोगी सम्पर्कमा आएका थिए। कोरोना संक्रमणपछि सन् २०२० मा २७ हजार र सन् २०२१ मा २८ हजार बढी क्षयरोगी मात्र उपचारमा आइपुगेका छन्।

अनुमानित तथ्यांकभन्दा कम क्षयरोगी हुनुमा यो अवधिमा कोरोनोका डरका कारण स्वास्थ्य संस्थामा नपुगेको र मास्कको प्रयोग र घरभित्रै बसेको कारण समुदायमा फैलिन नपाएको हुन सक्ने डा. शाहको तर्क छ। ‘मास्क लगाउने र भिडमा नजाने गर्नाले एकबाट अर्कोमा क्षयरोग सर्न पाएन,’ उनले भने। यो अवधिमा अरू क्षयरोगबाहेक अन्य संक्रमित रोग घटेको हुन सक्ने उनले बताए।

प्रकाशित: १० चैत्र २०७८ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App