१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

संस्थापक सदस्यलाई ७५ प्रतिशत छुट

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल निर्माणमा सहयोग पुर्‍याउने संस्थापक सदस्यले उपचारमा भारी छुट पाउने भएका छन्। अस्पताल निर्माण तथा सञ्चालनको लागि आर्थिक तथा अन्नदान गर्ने संस्थापक सदस्यले उपचारमा ७५ प्रतिशत छुट पाउने भएका हुन्।

अस्पताल विकास समितिको मंगलबार बसेको बैठकले अस्पतालको स्थापनाका लागि विशेष योगदान दिने संस्थापक सदस्यलाई उपचारमा छुट दिने निर्णय गरेको हो। अध्यक्ष किशोर थापाका अनुसार यस्तै साधारण र आजीवन सदस्यलाई उपचारमा ५० प्रतिशत छुट गर्ने निर्णय गरिएको छ।

अध्यक्ष थापा भन्छन्, ‘अस्पताल निर्माणमा धेरैको भूमिका छ। धेरैले आर्थिक तथा अन्न दान गर्नुभएको छ। ती सदस्यको सम्मानको लागि उपचारमा छुटको व्यवस्था गर्ने निर्णय गरिएको छ।’ यसैगरी रात्रिकालीन सेवाका गर्न सहज होस् भन्ने उद्देश्यले अस्पतालमा हाईमास्ट लाइट राखिने भएको छ। 

अस्पताललाई सेवाग्राहीमैत्री बनाउने लक्ष्यअन्तर्गत नै हाईमास्ट लाइट जडान गरिने निर्णय गरिएको समितिले जनाएको छ। अध्यक्ष थापाले मंगलबार बसेको समितिको बैठकले अस्पताल परिसरमा हाईमास्ट लाइट जडान गर्ने निर्णय भएको जनाए।

क्यान्सर अस्पताललाई गुणस्तरीय उपचारको थलोका रुपमा रुपान्तरण गर्न लक्ष्यअनुरुप बैठकले छिट्टै लाइट जडान गर्ने निर्णय गरेको उनले बताए। भर्खरै आएको नयाँ अस्पताल विकास समितिले अस्पतालका विभिन्न पक्षलाई सवल बनाउने प्रयास गरिरहेको छ।

अध्यक्षको रुपमा नियुक्त भएका थापाले यसअघि ओपिडी सेवा निःशुल्क गर्ने बताएका थिए। यसअघि अस्पताल विकास समितिको पहिलो बैठकमै ओपिडी सेवा निःशुल्क गर्ने निर्णय भइसकेको छ। उक्त सुविधा खजुरा गाउँपालिकामा स्थायी बसोबास गरिरहेका नागरिकले पाउनेछन्।

प्रकाशित: २ चैत्र २०७८ ०८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App