२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कर्णाली प्रतिष्ठान अभाव र गरीबीको दुष्चक्रलाई तोड्ने गतिलो उदाहरण होः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग जोडिएर आउने अभाव र गरिबीको दुष्चक्रलाई तोड्ने गतिलो उदाहरण भएको बताएकी छन्। उनले समृद्धिको बाटोमा लैजानका लागि उन्नति र प्रगतिका क्षेत्रहरु पहिचान गरी सबै प्रयास केन्द्रीत गर्र्नुपर्नेमा जोड दिइन्।

आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम शुभारम्भ तथा एकेडेमिक भवनको शिलान्यास गर्न जुम्ला पुगेकी राष्ट्रपति भण्डारीले कर्णाली प्रतिष्ठानले प्रदेशका सबै जिल्लाहरुमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बाटोमा अग्रसर देखिएको बताइन्।

उनले भनिन्, ‘प्राकृतिक रुपले धनी कर्णाली भूमिमा विश्वभरीका चिकित्सा शिक्षा पढ्न चाहने विद्यार्थीहरुको गन्तव्य स्थल बनाउन सकिने सुन्दर भविष्य कर्णाली प्रतिष्ठानसँग छ। यो निकै गर्व गर्न लायक अवस्था हो।’

राष्ट्रपति भण्डारीले गौरवमय कर्णालीको इतिहास पूर्नजागरण गरी कर्णालीलाई विकास र समृद्धिको मार्गमा ल्याउन प्रतिष्ठानले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।

बिहान ११ बजे जुम्ला पुगेकी राष्ट्रपति भण्डारीले एमबीबीएस लगायतका शेक्षिक कार्यक्रम शुभारम्भ भएको घोषणा गर्दै ७६ करोडमा बन्न लागेको एकेडेमिक भवनको शिलान्यास गरिन्।  

कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, पूर्व रजिष्ट्रार श्याम लम्साल लगायतले कर्णालीबाट नयाँ स्वास्थ्य युगको प्रारम्भ भएको बताएका थिए।  

कार्यक्रममा प्रतिष्ठान स्थापना गर्न पहल गर्ने पहलकर्ता, जग्गादाता, पूर्वपदाधिकारी लगायतका सहयोगी सबैलाई सम्मान गरिएको थियो।

प्रकाशित: २६ मंसिर २०७८ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App