८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सचेत रहौँ शापुसँग, आँखाको ज्योति गुम्न सक्छ

मानिसको आँखामा लाग्ने रोग शापुले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ। नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो। बढी मात्रामा बच्चाहरूमा लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा लाग्ने गरेको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन्।

नेपालमा मात्र हुने यो शापु रोग बच्चाका लागि निकै खतरनाक मानिएको छ। विशेषगरी भदौदेखि मङ्सिरसम्म महामारीका रूपमा देखिने यो रोग समयमा नै आँखा अस्पताल पुग्न नसके आँखाको ज्योति गुम्न सक्ने डाक्टरहरू बताउँछन्। रोगको लक्षण देखिएको २४ देखि  ४८ घण्टाभित्र उपचारका लागि अस्पताल पुग्नुपर्ने नेपाल नेत्र ज्योति सङ्घले जनाएको छ। बाल अन्धोपनको मुख्य कारण बनेको यो रोगले समाजमा समेत आर्थिक र सामाजिक रूपमा दख्खल पुर्याएको नेत्र ज्योति सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष सागर प्रताप राणाले बताए।

यो रोग लागेमा अस्पताल पुग्नैपर्ने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरका नेत्ररोग विशेषज्ञ प्रा डा ज्ञानेन्द्र लामिछानेको सल्लाह छ। ‘आँखाको ज्योति बचाउनका लागि शापु लागेको लक्षण थाहा पाउनासाथ अस्पताल पुगेर उपचार गरी निको बनाउन सकिन्छ’, प्रा डा लामिछानेले भने, ‘समयमा नै अस्पतालमा नआए दृष्टिविहीन हुनसक्ने सम्भावना अधिक रहन्छ। नेपालका  गण्डकी प्रदेशका सबै जिल्ला र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा यो रोग लाग्ने गरेको तथ्याङ्कले देखाएको छ।’

शापु रोगका लक्षण

यो रोग लागेमा मानिसको आँखामा विभिन्न लक्षण देखिने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरले जानकारी दिएको छ। रिर्सच सेन्टरका अनुसार शापु रोग लागेमा एक्कासी एउटा आँखा रातो हुने, चिप्रा नलाग्ने, उज्यालोमा हेर्न नसक्ने, आँखाको दृष्टिमा कमी आउने, आँखा दुख्ने, समयमा उपचार नपाए कालोमा सेतो देखिने गर्दछ।

मानिसमा यस्ता लक्षण देखिए तुरुन्त नजिकको आँखा अस्पतालमा पुग्नुपर्ने स्वास्थ्य विशेषज्ञ बताउँछन्। रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका प्रमुख प्रकाश रायमाझीले शापु रोगको उपचार अस्पतालमा मात्र सम्भव भएकाले यसका लक्षण आउनाका साथ बिरामीलाई जतिसक्दो छिटो आँखा अस्पताल पुग्नुपर्ने बताउँछन्। उनले मानिसमा अन्य कुनै भाइरसका कारणले आँखामा शापु रोगको जस्ता लक्षण देखिए पनि अस्पताल छिटो अस्पताल पुग्दा दृष्टि गुम्नबाट बचाउन सकिने बताए।

शापुबाट जोगिने

यो रोगबाट जोखिनका लागि मानिस सेतो पुतलीको संसर्गबाट टाढै बस्नुपर्ने विशेषज्ञ बताउँछन्। उनीहरुले रातिको समयमा बत्तीमा आउने सेतो पुतलीले मानिसको आँखामा संसर्ग हुनपुगे मात्र यो रोग लाग्ने भएकाले पुतलीबाट टाढा रहनु नै उत्तम रहेको बताएका छन्। नेत्ररोग विशेषज्ञ प्रा डा मदनप्रसाद उपाध्यायले रातिमा घरको झ्यालढोका बन्द गर्ने, आफूखुसी औषधि या अन्य कुनै पनि उपचार नगर्ने, रातिमा बत्ती निभाएर सुत्ने, रोगको लक्षण देखिए तुरुन्तै आँखा उपचार केन्द्रमा पुग्नुपर्ने बताउँछन्।

‘मानिसको आँखा संवेदशील भएकाले घरेलु उपचारभन्दा रोग देखिए आँखा उपचार केन्द्रमा पुग्नुपर्दछ’, नेत्ररोग विशेषज्ञ प्रा डा उपाध्यायले भने, ‘यो रोगलाई आँखा पाक्ने रोगसँग  दाँजेर घरमै बस्नु हुँदैन। आँखा उपचार हुने अस्पतालमा पुग्नु पर्दछ।’

हरेक वर्ष बिराएर प्रकोपको रुप लिने यो रोग नेपालमा समस्याका रूपमा देखिएको छ। गत वर्ष नदेखिएको शापु यो वर्ष देखिएको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन्।

प्रकाशित: ९ आश्विन २०७८ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App