२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डाक्टरले आफूखुसी बिदा लिएपछि विरामीको विजोग

डाक्टरविहीन दुल्लु अस्पताल । तस्बिरः गोविन्द/नागरिक

दुल्लु अस्पताल दैलेखमा डाक्टरले आफूखुसी बिदा लिएर हिँड्न थालेपछि अस्पतालमा विरामीको विजोग भएको छ। तीन जना डाक्टर कार्यरत रहेको अस्पतालमा अहिले एक जना पनि डाक्टर नहुँदा विरामीको विजोग भएको हाे।

निमित्त अस्पताल प्रमुख डाक्टर रञ्जना रोकाय तालिमका लागि गएपछि डाक्टर लिला जोशी र डाक्टर अशोक साह रहेका थिए। अशोक साहको बिदा स्वीकृत गरेकी डाक्टर लिला जोशी आफै बिदा लिएर जिल्ला बाहिर गएको अस्पताल श्रोतले जानकारी दिएको छ। ‘डा. रञ्जना रोकाय तालिम र डा. अशोक साह बिदामा गएको काजगपत्र देखिन्छ।’ 

अस्पताल श्रोतले भन्यो, 'निमित्त भएर बिदा स्वीकृत गर्ने डा. जोशी बिदामा बसेको काजगपत्र देखिँदैन।’

अहिले अस्पतालमा निमित्त प्रमुख कसैलाई पनि दिईएको छैन। यसरी डाक्टरहरु एकपछि अर्को गर्दै अस्पताल नै डाक्टरविहीन गरेर बाहिरिएपछि उपचारका लागि आएका विरामीको विजोग छ। वर्षातमा टाढाटाढाबाट उपचारका लागि आएका वृद्धवृद्धादेखि अन्य सेवाग्राहीहरु मुस्किलले अस्पताल पुग्छन् तर, डाक्टरी सेवा नपाउँदा रोगसंगै निरास फर्कनुपर्ने बाध्यता रहेको छ।

दुल्लु अस्पतालमा ५२ जना चिकित्सकसहित स्वास्थ्यकर्मी कार्यरत छन्। अहिले एचए हिमाल आचार्य र मदन रिजालले अस्पताल डाक्टरविहीन भएपनि चलाएका छन्। डाक्टर र कर्मचारीबीच किचलोका कारण डाक्टरहरु अस्पताल बस्न मन नपराउने गरेको श्रोतले जनाएको छ। स्थानीयका अनुसार डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित छ। मौसमी विरामीको चाप रहेपनि डाक्टरी सेवा नपाउँदा प्रभावकारी उपचार हुन नसकेको बताईएको छ। 

भिडियो एक्सरे, एक्सरे विरामीहरु अस्पताल पुगेर फर्किएका छन् भने ल्याव सेवा समेत प्रभावित भएको छ। सरकारीमा सहुलियत होला भनेर सरकारी अस्पतालमा आएको एक्सरेका लागि डाक्टर नै नभएपछि फर्कनुपर्ने बाध्यता विरामी टिका खड्काले बताईन्। 

‘टाढाबाट अस्पताल आउनु मात्र भो।’ उपचारका लागि आएकी टिका खड्काले भनिन्, 'एउटा पनि डाक्टर नहुँदा म जस्ता धेरैले दुःख पाएर फर्किएका छन्।’

‘विरामीहरु बढीरहेका छन्। आफूहरुले दिने सेवा दिईएको भएपनि डाक्टरी सेवा पाउन सकेका छैनन्,’ हेल्थ असिस्टेन्ट हिमाल आचार्यले भने, 'आफूहरुले सक्दो रुपमा सेवा दिईरहेका छौं। डाक्टरी सेवा लिन आएका विरामी प्रभावित भएका छन्।’

प्रकाशित: १० भाद्र २०७८ १२:३५ बिहीबार

विरामीको विजोग दुल्लु अस्पताल