९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

खोपका लागि भण्डारण क्षमता बढाइँदै

स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ। मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।

शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर तथा बढी चिस्यानमा राख्नका लागि ‘अल्ट्रा कूल चेन’ र ‘सुपर कूल चेन’ को भण्डारण क्षमता बढाउन थालिएको बताए।  नियमित रुपमा खोप आइरहेकाले त्यसलाई राख्नका लागि भण्डारण क्षमता बढाउन थालेको विभागले जनाएको छ। नेपालमा लक्षित सबै वर्गलाई लगाउनका लागि कूल पाँच करोड २२ लाख मात्रा खोप ल्याउने तयारी रहेको छ। तीमध्ये अहिलेसम्म एक करोड २० लाख मात्रा खोप नेपाल आइसकेको छ।

‘मोडर्ना र फाइजर खोप बढी चिस्यानमा राख्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यसैले ती खोपलाई आवश्यक तापक्रम अनुसारको भण्डारण क्षमता बनाइने छ।’ ती खोपका लागि आगामी अक्टोबर महिनासम्म भण्डारण क्षमता विस्तार गरिसक्ने उनको भनाइ छ।

मोडर्नालाई १५ देखि २५ डिग्री सेल्सियस र फाइजरलाई ७० देखि ८० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ। मोडर्नाका लागि सुपर कूल चेन र फाइजरका लागि अल्ट्रा कूल चेनका भण्डार आवश्यक पर्दछन्। कोभिड–१९ खोप विज्ञ सल्लाहकार समूहका संयोजक डा श्यामराज उप्रेतीले सामान्य तापक्रमका लागि भण्डारण गर्ने क्षमता नेपालमा भएपनि अत्यधिक चिसोमा राखिने खोपका लागि भण्डारण क्षमता नभएकाले बनाउन थालिएको बताए। फाइजर खोप ७० देखि ८० डिग्रिसेल्सियस तापक्रममा ६ महिनासम्म राख्न सकिन्छ। त्यसपछि दुई हप्तासम्म १५ देखि २५ डिग्री सेल्सियसमा राखेर एक महिनासम्म दुई देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्ने सकिने उनको भनाइ छ।

उनले मोडर्ना र फाइजर खोप बाहिरबाट ल्याएर काठमाडौँमा मात्र भण्डार गर्न सकिने बताए। मोडर्ना र फाइजर दुवै खोप अमेरिकाबाट ल्याइने भएको छ। फाइजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने भएको छ। मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा खोप पुस महिनाभित्रमा ल्याइने सरकारको तयारी छ।

अहिले आएका भेरोसेल र कोभिशिल्ड खोपका लागि दुई देखि ८ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ। उनले अहिलेसम्म भेरोसेल र कोभिशिल्ड खोप मात्र भण्डारण गर्नुपर्ने र त्यसलाई एकै तापक्रममा राखिन सक्ने भएकाले समस्या नभएको बताए। 

प्रकाशित: ९ भाद्र २०७८ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App