५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

भेरोसिल खोप नआउँदा दोस्रो डोज लिन वञ्चित

उदयपुरमा एक महिनाअघि भेरोसिल खोप लगाएका नागरिक समयमा खोप नआएकाले दोस्रो डोज लिनबाट वञ्चित हुने सम्भावना बढेको छ। गत साउन १० गते आएर १२ र १३ गते सञ्चालित अभियानअन्तर्गत खोप लिएका २४ हजार ६ सय नागरिकले २८ दिन बित्दासम्म दोस्रो खोप लिन पाएका छैनन्। समयमा खोप नआइपुग्दा पहिलो डोज लिने नागरिक प्रभावित हुने सम्भावना बढेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। 

पहिलो डोज लिएको ३ सातादेखि एक महिनाभित्र दोस्रो डोज लिइसक्नुपर्ने भए पनि एक महिना पुग्दासम्म खोप नआइपुगेपछि दोस्रो डोज दिन ढिला भएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदी बताउँछन्। उनका अनुसार साउन १० गते आएको खोप वितरण गरेर सबै स्थानीय तहमार्फत १२ र १३ गतेसम्म लक्षित वर्गलाई लगाइएको थियो। त्यसपछि बाँकी ६ सय २ थान खोप प्रमुख जिल्ला अधिकारीको रोहबरमा दोस्रो प्राथमिकतामा परेका वर्गलाई १५ गते लगाइएको थियो।  

१५ गते खोप लगाएको २२ दिन पुगिसक्दासम्म खोप आउने सुरसार नदेखिएकाले पहिलो डोज खोप लिनेहरू प्रभावित हुने देखिएको हो। साता दिनअघि नै आउने भनिएको खोप अहिलेसम्म नआइपुग्दा अर्को डोज लिन ढिला भएको भन्दै सेवाग्राहीले गुनासो गर्न थालेका छन्। साउन अन्तिम साताभित्रै आइसक्नुपर्ने खोप हालसम्म नआइपुगेको भन्दै सुवेदीले प्रदेशमै खोप नआएकाले जिल्लामा ल्याउन नसकेको बताए। साउन अन्तिम साता प्रदेशका सबै जिल्ला पुगिसक्नुपर्ने खोप भदौ पहिलो साता बित्न लाग्दासम्म प्रदेशमै नआइपुगेको उनले बताए।  

सुवेदीका अनुसार खोप आउन अझै एक साता कुर्नुपर्ने खबर पाएको बताएका छन्। ‘आज थोरै मात्रा खोप प्रदेश कार्यालय आइपुग्ने भन्ने सुनिएको छ,’ उनले भने, ‘तर पुग्दो मात्रामा खोप आउन साता दिन कुर्न भनेका छन्। साता दिनपछि प्रदेशमा आयो भने हामीकहाँ आउन दुई दिन अझै ढिला हुन्छ।’ जति मात्रामा पहिलो डोज दिइएको हो, उत्तिकै मात्राको खोप ल्याउनुपर्ने भएकाले एकैचोटि पुग्ने गरी ल्याउने सुवेदीले बताए। थोरै खोप ल्यायो भने कसलाई दिने कसलाई नदिने भन्ने भएर चाप थामिनसक्नु हुने उनको भनाइ छ।  

भेरोसिल लगाएको साता दिनपछि नै उदयपुरमा अमेरिकन कम्पनीको जोन्सन एन्ड जोन्सन खोप आएर पनि लगाइसकिएको छ। त्यो खोप भने एकै डोज भए पुग्ने भएकाले समस्या नभएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए। निरौलाका अनुसार एक डोज मात्र हान्दा हुने जोन्सन एन्ड जोन्सन खोप जिल्लाका १७ हजार सेवाग्राहीले लगाएका छन्। सुरुका दुई दिन ५० वर्षभन्दा माथिका नागरिक, शिक्षक, प्राध्यापक, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकालाई लक्षित गरी दिइएकोमा लक्षित वर्गबाट बाँकी रहेपछि भोलिपल्ट सबै उमेर समूहलाई खोप दिइएको थियो।  

जिल्लामा सुरुमा दिइएको पहिलो चरणमा खोपको दोस्रो मात्रा पनि दिन पाइएको छैन। गत माघ १४ गतेदेखि सञ्चालित भारतीय कम्पनीको कोभिसिल्ड खोपको पहिलो मात्राको खोप १२ हजार ज्येष्ठ नागरिकले लिएका थिए। उनीहरूले अहिलेसम्म दोस्रो डोज पाउन सकेका छैनन्। ३ साताभित्र दिइसक्नुपर्ने दोस्रो डोजको खोप ज्येष्ठ नागरिकले लिएको ६ महिना बितिसक्दासम्म पाउन नसकेको निरौलाले बताए। भारत सरकारले खोप दिने सर्तमा भुक्तानी लिएको महिनौं बित्दासम्म कोभिसिल्ड खोप नपठाएपछि पहिलो डोज लिने ज्येष्ठ नागरिक यतिका दिनसम्म पर्खाइमा रहेका हुन्।

प्रकाशित: ७ भाद्र २०७८ ०४:५२ सोमबार

भेरोसिल खोप दोस्रो डोज दिन ढिला