४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

गण्डकी प्रदेशः पारिवारिक संक्रमण बढ्दो

गण्डकीको संक्रमण दर ३५ प्रतिशत हाराहारीमा उक्लियो

पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संचालन गरेको कोभिड–१९ ओपिडीमा अहिले दैनिक ५० जना हाराहारीमा परीक्षण गराउन आउँछन् । ती मध्ये अधिकांशमा कोरोना संक्रमणको पुष्टि हुने गरेको छ । असार अन्तिमसम्म कोभिड–१९ ओपिडीमा आउनेको संख्या दैनिक २० जनाको हाराहारीमा थियो । ती मध्येमा थोरैमा मात्र संक्रमण देखिन्थ्यो ।  

अस्पतालका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बरालका अनुसार पछिल्लो समय गण्डकी प्रदेशमा संक्रमण डर डरलाग्दो गतिमा बढेको छ । परिवारै संक्रमण हुने संख्या बढेको उनले बताए । ‘पहिला व्यक्तिगत रुपमा संक्रमणको केस थिए । अहिले त परिवारै संक्रमित भएका छन । ओपिडीमा परीक्षणमा आउनेमा परिवारकै सदस्य छन,’ उनले भने, ‘हेलचेक्रयाँइले गर्दा अहिले परिवार नै संक्रमित हुन थालेका छन ।’

एकै परिवारका ४–५ जना सदस्य नै संक्रमित हुन थालेको बरालले बताए । ‘अहिले बाहिरको अवस्था डरलाग्दो छ । बिरामीको चाप हरेक दिन बढिरहेको छ । परिवारका सबै सदस्य संक्रमित हुँदा अवस्था जटिल बन्दै गएको छ,’ उनले भने ।  

उनका अनुसार क्षेत्रीय अस्पतालमा अहिले कोरोनाका बिरामीका लागि उपचार गर्न भनेको बेला बेड पाउन मुस्किल छ । पहिलेजस्तो बेन्चमै राखेर वा अन्यत्रका अस्पतालमा पठाउनुपर्ने अवस्था नआएपनि इमर्जेन्सीमा पालो कुनुपर्ने अवस्था आईसकेको उनले बताए । ‘इमर्जेन्सीमा बेड कुनुपर्ने बेला भएको छ । ओपिडिमा पनि दिनमा ५० जनासम्म आएका छन । परिवारका सम्पूर्ण सदस्य संक्रमित भएका छन,’ बरालले भने, ‘संक्रमितको संख्या बढिरहेको छ । अब सरकारले कठोर एक्सन लिएन भने धान्न सकिन्न ।’  

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ४८ जना कोरोना विशेषमा र मेडिकल वार्डमा ४० जना बिरामी उपचाररत छन । कोभिडको लागि छुट्याइएको शैया सतप्रतिशत भरिएको उनले बताए । ‘अब त बेड नै पाउन पनि मुस्किल छ । भएको क्षमतामा बिरामी भरिएका छन । अरु वार्डमा सार्न पनि समस्या छ । किनकी अरुखाले बिरामी पनि आएका छन,’ उनले भने । त्यस्तै लेखनाथस्थित संक्रामक अस्पतालमा पनि पूर्ण क्षमतामा कोरोनाका बिरामीको उपचार भईरहेको बरालले जानकारी दिए । लेखनाथको संक्रामक अस्पतालमा पनि ५४ जना बिरामी छन ।

बरालका अनुसार कोरोनाका बिरामी अक्सिजन लगाउनुपर्ने अवस्थाका छन । तर, अहिलेसम्म अक्सिजनको अभाव भने छैन । बीचमा संक्रमण केही घट्दा दैनिक १६० सिलिन्डर अक्सिजनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको माग धानेकोमा अहिले भने दोब्बर संख्यामा सिलिन्डर प्रयोमा आउन थालेको उनले बताए । दोब्बर संख्यामा अक्सिजन सिलिन्डर खपत हुन थालेको धेरैदिन भईसकेको उनले बताए । ‘सबैतिर भीडभाड छ । नगरबसमा खुट्टा राख्ने ठाउँ छैन । खोप लगाउने केन्द्रमा उस्तै चापाचाप छ । त्यसले पनि संक्रमण बढाएको हो,’ बरालले भने ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार निकालेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका १२५६ नमूना परीक्षण गरिएको थियो । ती मध्ये ६८० जनामा संक्रमण पुष्टि भएको छ । यो भनेको करिब ५४ प्रतिशत नमूनामा संक्रमण रहेको पुष्टि हुने स्वास्थ्यकर्मीको भनाई छ । संक्रमणको यो दर साउन पहिलो साता २५ प्रतिशत हाराहारीमा थियो । साउन ३ गते प्रदेशका सबैगरि १०४५ नमूना परीक्षण गर्दा २६८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो भनेको करिब २५ प्रतिशत हो । त्यही संक्रमण साउन ९ गते ३३ प्रतिशतमा उक्लेको थियो । साउन ९ गते १००९ जनाको नमूना परीक्षण गर्दा ३३३ जनामा संक्रमण पुष्टि भएको थियो ।  

‘कुनैदिन ५०–५२ प्रतिशतमा संक्रमण उक्लेको देखिएपनि परीक्षणको गतिले गर्दा फरक पर्न सक्छ । नत्र गण्डकीको संक्रमण दर ३५ प्रतिशत हाराहारीमा छ,’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदी भन्छिन, ‘कहिलेकाँही नमूना परीक्षण गर्न नपाउँदाको अवस्थामा तलमाथि पर्छ । तरपनि गण्डकीको संक्रमण दर ३५ प्रतिशत हाराहारीमा छ ।’ उनले पनि अहिलेको संक्रमण दर हेर्दा अवस्था डरलाग्दो हँुदै गएको बताईन ।

‘हामी २० प्रतिशत भन्दा तलको संक्रमण दरमा कहिल्यै झर्न सकेनौ । कोरोनाको दोश्रो लहर हाम्रा लागि २० प्रतिशतबाट ओरालो लाग्नै सकेन,’ सुवेदीले भनिन, ‘अहिले त उकालो लाग्ने क्रममा मात्र छ । अब पनि बेवास्ता गर्ने हो भने संक्रमण ५० प्रतिशत हाराहारीमा नपुग्दा भन्न सकिन्न ।’ निषेधाज्ञाको अवस्थामा ओर्लेको संक्रमण दर अहिले खुला भएसँगै बढेको उनले बताईन । ‘जताततै वेवास्ता छ । यो बेवास्ताले कहाँ पु¥याउने हो भन्न सकिन्न,’ सुवेदीले भनिन ।  

स्वास्थ्य निर्देशनालयको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्मा पनि गण्डकीको संक्रमण दर कुनैदिन ५० प्रतिशत हाराहारीमा पुग्न थालेको बताउँछन । ‘आधा संख्यामा संक्रमित फेला पर्नु भनेको डरलाग्दो अवस्था हो । कडाई नगर्ने हो भने गण्डकीको अवस्था डरलाग्दो हुनेछ,’ उनले भने । उनका अनुसार अहिले मृत्युको दर पनि बढ्न थालेको छ । दोश्रो लहर कमजोर भएको बेला कुनैदिन कास्कीमा कोरोना संक्रमितको मृत्युदर शुन्यमा झर्ने गरेको भएपनि अहिले त्यो संख्या बढिरहेको शर्माले बताए ।

‘परीक्षणको आधारमा संक्रमण दर ५५ प्रतिशत पुगेको देखिएको छ । यो दर सधैं एकैखालको त छैन । तर, गण्डकीमा हेलचेक्रयाइँ गर्ने बेला भएको छैन,’ शर्माले भने, ‘अब पनि पूर्ण रुपमा लकडाउन नगरि अहिलेको संक्रमण दर घट्न सक्दैन ।’ 

प्रकाशित: २७ श्रावण २०७८ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App