गाई बस्तुको दूध जम्मा गरेर वितरण गर्ने प्रक्रियालाई डेरी भनिन्छ। अहिलेसम्म नेपालमा यही डेरी दूधको प्रचलन रहेको छ। तर अब परोपकार प्रसूतिकेन्द्रमा भने आमाको दूध संकलन गरी दूध नआउने आमाका शिशुहरुलाई दिने गरी ह्यूमन मिल्क बैंक (मानव दूध मिल्क बैंक) स्थापना गरिने भएको छ।
परिवार कल्याण महाशाखा पोषण शाखाका प्रमुख केदार पराजुलले आइतबार यस्तो जानकारी दिएका हुन्। विश्व स्तनपान दिवसको अवसरमा उनले नेपालमा पहिलो पटक ‘हयूमन मिल्क बैंक’ खोल्ने तयारी भएको जानकारी दिएका हुन्।
नेपालमा कतिपय शिशु जन्मिने बित्तिकै आमाको दूध (स्तनपान) खुवाउन नसकिने अवस्थाका शिशुहरुको हकमा कुनै कारणवश आमाको मृत्यु भएको अवस्थामा शिशुलाई चाहिने भन्दा बढी दूध आउने आमाहरुको दूध संकलन गरी दिइने प्रक्रिया हो ह्यूमन मिल्क बैंक। बढी दूध आउने आमाहरुको दूध संकलन गरेपछि प्रशोधन र शुद्धिकरण गर्ने लगायतका प्रक्रिया गर्ने उपकरण बैंकमा राखिन्छ। प्रशोधन भएपछि त्यो दूध यस्ता नवजात शिशुहरुलाई खुवाइनेछ।‘ संकलित दूधलाई मेशिनले किटाणु रहित बनाएर भण्डारण गरिन्छ’, पराजुलीले भने।
पोषण शाखा प्रमुख पराजुलीकाअनुसार आमाको दूध सबैभन्दा पोषिलो हुने र नवजात शिशुको शरीरमा प्रतिरक्षा क्षमता विकास गर्नको लागि आमाको दूधले मात्र काम गर्ने भएकाले नवजात शिशु र छ महिनाभित्रका शिशुहरुलाई दूध दिने गरी आमाको दूध बैंक स्थापना गर्न लागेको हो। पराजुलीका अनुसार कुनै पनि आमाको आफ्नो जीवनकालमा कम्तीम २५ देखि ३० वटा सरुवा रोगसित लड्ने प्रतिरक्षा क्षमता(एन्टिवडी) शरीरमा बनिसकेको हुनाले त्यो एन्टिवडी आमाको दूधबाटै शिशुको शरीरमा प्रवेश गर्ने भएकाले नेपालमा पहिलो पटक ह्यूमन मिल्क बैंक स्थापना गर्न लागिएको हो। आमाको शरीरमा बनेको एन्टिवडीलाई ह्यमुन युमिनोग्लोविन भनिन्छ। यस्तो युमिनोग्लोविन शरीरमा पाँच प्रकारका हुन्छन्।
नेपालमा पहिलो पटक यो वर्ष प्रसूति गृहमा खोल्ने र आगामी वर्षहरुमा क्रमशः सातवटै प्रदेशहरुमा ह्युमन मिल्क बैंक स्थापना गर्ने सरकारको तयारी रहेको शाखाले जनाएको छ। प्रसूति गृहमा सबैभन्दा बढी प्रसूति हुने भएकाले आमाको दूध संकलन गर्न सकिने र आमाको दूधबाट बंचित ६ महिनाभित्रका शिशुलाई उपलब्ध गराउने गरी यो बैंक स्थापना गर्न लागिएको पराजुलीले बताए। पराजुलीका अनुसार बच्चाको पेटमा पाचन प्रणाली पनि आमाको दूधलाई मात्र मिल्ने गरी बनेको हुनाले बाहिरी खानेकुराले बिभिन्न पाचनप्रणालीका रोगहरु लाग्न सक्छ।
कुनै कारणवश प्रसूतिको क्रममा आमाको मृत्यु भएमा, आमाको स्वास्थ्यमा जटिल समस्या आएर स्तनपान गराउन नसकेमा, शल्यक्रिया गरी आमाले तत्कालै शिशुलाई स्तनपान गराउन नसकेमा यस्तो संकलित आमाको दूध खुवाएर शिशुलाई स्वस्थ बनाउन सकिन्छ।
नेपालमा सबैभन्दा बढी प्रसूति गृहमा वर्षमा २२ हजार जना प्रसूति हुन्छन्। नेपालमा अस्पतालमा प्रति वर्ष ४ लाख ५० हजार शिशुको जन्म हुन्छ। यो हिसावले ७० प्रतिशत अर्थात ४ लाख १५ हजार शिशु स्वास्थ्य संस्थामा जन्मिन्छन्। आमाको दूध भण्डारणमा नवजात शिशु र ६ महिनाभित्रका शिशुलाई दूध दिने निर्णय भएपनि अस्पताल बाहिर रहेका ६ महिनाभित्रका शिशुलाई बैंकले कसरी दूध उपलब्ध गराउने भन्ने विषयमा नियम तथा कार्यविधि बनिनसकेको पोषणा शाखाले जनाएको छ।
प्रसूतिमा १ करोड ५० लाखकाे लागतमा ह्युमन मिल्क बैंक स्थापना गर्न लागिएको हो। अन्तर्राष्ट्रिय रुपमा यस्तो बैंकको अभ्यास पहिला नै भएपनि नेपालमा पहिलो पटक सुरु हुन लागेको हो। शिशुलाई बट्टाको खानेकुराबाट बचाउन यो बैंकको अवधारणा आएको शाखाको भनाइ छ।
अस्पतालमा स्तनपान परामर्शदाता राखिने
नेपाल सरकारले नवजात शिशुलाई स्तनपान गराउने उद्देश्यले स्तनपान परमार्शदाता राख्ने तयारी भइरहेको पोषणा शाखाले जनाएको छ। स्तनपान परामर्शदाताले अस्पतालमा आउने गर्भवतीलाई प्रसूति अघिदेखि नै स्तनपान कसरी गराउने भन्ने बारेमा बिस्तृत सुझाव दिनेछन्।
परामर्शदाताहरुले बिशेष तालिम लिएका हुनेछन्। यस्ता परामर्शदाता हरेक स्वास्थ्य संस्थामा हुने गरी राखिनेछ। बच्चालाई दूध खुवाउँदा बस्ने अवस्था, दूध खुवाउनको लागि आमाको मानसिक तयारी जस्ता विषयमा विस्तृत जानकारी दिनेछन्।
नर्सिङ महाशाखाकी प्रमुख रोशनी ट्वीट्वीले हरेक आमाको दूध आउँछ। खुवाउने तरिका नजान्नाले, मानसिक रुपमा तयारी नहुँदा र स्तनको मुन्टोलाई सफाइ नगर्ने कतिपय आमाको दूध नआएको बताइन्। ‘शिशु जन्मिनु दुई साताअघिदेखि नै बिस्तारै मुन्टोको मालिश गरेर मुन्टो बाहिर निकाल्ने र मुन्टोमा रहेको कालो दागलाई सफा गर्ने र आमाले स्तनपान गराउँदा दूध आउँदैछ भनेर सोचेर मात्र स्तनपान गराउँदा हरेक आमाको दूध आउँछ। प्रकृतिले हरेक आमाको दूध आउने गरी बनाएको हुनाले कुनै पनि आमाको दूध आउँदैन भन्ने कुरा भ्रम रहेको स्वास्थ्यकर्मीहरुले सुझाए।
शिशुको लागि बट्टाको दूध हानिकारक
नेपालमा बिभिन्न कारणवश नवजात शिशुले आमाको दूध पूर्ण रुपले स्तनपान गर्न नपाएको र कतिपय निजी अस्पतालहरुले शल्यक्रियाबाट जन्मेका शिशुलाई एनआइसियुमा राखी आमाको दूधको सट्टा पहिलो पटक नै बट्टाको दूध खुवाउन अभिप्रेरित गरेको पाइएको छ। कतिपय आमाले दूध चुसाउन नजानेर जन्मिने बित्तिकै स्तनपान गराउन नसक्ने समस्याका कारण नवजात शिशुहरु आमाको दूधबाट बंचित हुने गरेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्यण महाशाखाका प्रमुख डा. कृष्णा पौडेलले बताए। उनका अनुसार शिशुले पहिलो पटक नै बोतलको दूध पिउन सिकेपछि आमाको दूध चुस्न नजान्ने हुनाले शिशुहरु आमाको पहिलो दूधबाट बंचित हुने गरेका छन्।
चिकित्सा शाखाका अनुसार बट्टाको दूधले बच्चामा रोगसित लड्ने क्षमताको विकास त हुँदैन नै पाचन प्रणालीमा समस्या आई बिभिन्न खालका पाचन प्रणाली सम्वन्धी रोग लाग्ने गर्छ। हरेक शिशुलाई जन्मेको आधा घण्टाभित्र, जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउने र ६ महिनादेखि २ वर्षसम्म आमाको दूधको साथै ठोस आहार समेत खुवाउनाले स्वस्थ शिशु हुने परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए। यो वर्ष नेपालमा एक साताभरी विश्व स्तनपान दिवस बिभिन्न कार्यक्रममा साथमा मनाइँदैन।
प्रकाशित: १८ श्रावण २०७८ ०७:३३ सोमबार