१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरको पूर्वी भेगमा अस्पताल बनाउन माग

भक्तपुरको पूर्वी भेगमा स्थानीयहरुले अस्पताल बनाउन माग गरेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिकाको नवौं नगरसभामा सो माग गरिएको हो।

नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमबारे बोल्दै सभामा सहभागीहरुले चाँगुनारायण नगरपालिका वडा नं.५देखि वडा नं. ९ सम्मलाई पायक पर्ने ठाउँमा अस्पताल निर्माण गर्न माग गरेका हुन्। नीति तथा कार्यक्रममा समेटिएका विषयबारेमा धारणा राख्दै चाँगुनारायण नगरपालिका वडा नं. ९ की महिला सदस्य कमला गिरी, वडा नं. २ का वडा सदस्य मोहन पौडेल, वडा नं. २ का वडाध्यक्ष शिवहरि केसी, वडा नं. ५ का वडा सदस्य राजी गिरी, वडा नं. २ का महिला सदस्य कल्पना सुवाल लगायतले सो माग गरेका हुन्।

नगरपालिकाले असार ८ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। सो नीति तथा कार्यक्रममा चाँगुनारायण नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ को उपयुक्त स्थानमा अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन गरी डिपिआर तयार गर्ने उल्लेख गरिएको थियो।

सभामा सहभागीहरुले भक्तपुरको उत्तरपूर्वी क्षेत्र स्वास्थ्यका दृष्टिले पछाडी परेकाले नगरपालिकाले तत्कालै सो क्षेत्रलाई लक्षित गरी बजेट नै विनियोजन गर्नुपर्ने नगर सदस्यहरुको माग छ।

नीति तथा कार्यक्रमलाई संसोधन गर्नुपर्ने बताउँदै नगर सदस्य कमला गिरीले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि भक्तपुरको पूर्वी भेगमा अस्पतालको आवश्यकता भएको बताइन्। उनले भनिन्, ‘चाँगुनारायण नगरपालिकाको वडा नं. ५ देखि ९ सम्मलाई पायक पर्ने ठाउँमा यही आर्थिक वर्षदेखि अस्पताल सञ्चालनको लागि बजेट विनियोजन गर्नुपर्छ।’

त्यस्तै चाँगुनारायण नपा वडा नं. २ का वडाध्यक्ष शिवहरि केसीले नागरिकको स्वास्थ्य रक्षाका लागि र स्वास्थ्यमा पहुँच बढाउन अस्पतालको जरुरी भएकाले त्यसलाई तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

उनीहरुले समग्र नगरबासीको हित गर्ने नीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै बजेट विनियोजनमा कसैलाई काखा, कसैलाई पाखा गर्न नहुने समेत बताए। उनीहरुले नगरपालिकाका प्रत्येक योजना र कार्यक्रमबारे वडा तहलाई समेत जानकारी हुनुपर्ने बताउँदै वडालाई अझ बलियो बनाउन समेत माग गरे।

‘नगरपालिकाको खम्बा भनेको वडा हो, वडालाई बजेट दिएर अझ बलियो बनाउने नीति तय गर्नु आवश्यक छ।’ वडाध्यक्ष केसीले भने।

प्रकाशित: १० असार २०७८ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App