१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

वीपी प्रतिष्ठानमा आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्दै व्यवस्थापन पक्षले वार्ता समिति गठन गरेको छ। काम विशेषले काठमाडौंमा रहेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुसँग वार्ता गर्न ३ सदस्यीय वार्ता समिति गठन गरेका हुन्। प्रतिष्ठानका निमित्त उपकुलपति एवं शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल संयोजक रहेको ३ सदस्यीय समिति गठन गरेका हुन्। वार्ता समितिमा अस्पताल निर्देशक प्रा।डा।गौरीशंकर साह र रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी सदस्य छन्।  

निमित्त उपकुलपतिसमेत रहेका शिक्षाध्यक्ष डा.खनालले हिजो आइतबार साँझ वार्ता समिति गठन भएको पत्र आफुले पाएको जानकारी दिए। सोही पत्रको आधारमा आन्दोलनरत पक्षलाई आज दिउँसो ३ बजे वार्तामा आउन आग्रह गर्दै पत्राचार गरिएको डा.खनालले बताए। ‘उपकुलपति ज्युले वार्ता समिति गठन गर्नुभएको पत्र हिजो साँझ पाएँ, आज मैले वार्ताको लागि ३ बजे बोलाएको छु,’निमित्त उपकुलपति डा.खनालले भने।

आन्दोलनरत पक्षले भने चारै जना पदाधिकारीहरुको उपस्थितिमा मात्र औपचारिक वार्ता गर्ने अडान लिएको छ। यद्यपी, वार्ता समिति गठन हुँदा संवादहिनताको अन्त्य हुने भएकोले छलफलमा भने बस्ने संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बताए। ‘उपकुलपति विना वार्ता बस्नुको औचित्य हुदैन, वार्ता गर्ने नै हो भने उपकुलपति अनिवार्य हुनुपर्छ,’डा.पोखरेलले भने।  

संयुक्त संघर्ष समितिले वार्ताको लागि डा.पोखरेललाई सोधेको स्पष्टीकरण उपकुलपतिले फिर्ता लिनुपर्ने, प्राध्यापक उपाधिबारे प्रष्ट पार्नुपर्ने, आर्थिक पारदर्शिताको लागि हरेक श्वेत पत्र जारी गर्नुपर्नेलगायत सर्तहरु अघि सारेको छ। ‘वार्ताको लागि यी ३ वटा सर्तहरु हाम्रो वटमलाइन हो। उपकुलपति नभएको वार्ता समितिको अर्थ पनि रहदैन,उहाँ उपस्थित नभै औपचारिक वार्ता हुदैन, ’डा.पोखरेलले भने। औपचारिक वार्ता नभए पनि आज दिउँसो ३ बजे वार्ता समितिसँग छलफल भने गरिने संघर्ष समितिको भनाई छ।

व्यवस्थापन पक्षको वार्ता समिति संयोजक डा.खनालले भने उपकुलपति डा.गिरी प्रतिष्ठानकै आवश्यक कामले काठमाडौंमा रहएकोले आउन ढिलाई भएको बताए। उनले आफु नै निमित्त उपकुलपति पनि रहेकोले वार्तामा बस्न आन्दोलनरत पक्षलाई आग्रह गरे। ‘उपकुलपति ज्यु प्रतिष्ठानको कामले नै काठमाडौंमा हुनुहुन्छ, र मलाई निमित्त दिनुभएको अवस्था छ। मागहरु जायज नै हो भनिरहेका छौं। कति पुरा गर्दैछौं, कति गर्ने क्रममा छौं,’डा.खनालले भने,‘वार्ता बस्नुको विकल्प छैन, वार्तामा आउन आग्रह गर्छु।’

प्रतिष्ठानको अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराएका एक चिकित्सकलाई स्पष्टीकरण सोधेपछि विगत ६ दिनदेखि प्रतिष्ठानका चिकित्सक र विद्यार्थीहरु आन्दोलनमा छन्। उनीहरुको समर्थन गर्दै कर्मचारी र नर्सहरुले संयुक्तरुपमा आन्दोलन गरिरहेका छन्। हरेक दिन बिहान ८ बजे उपकुलपति कार्यालयअघि विरोध सभा र र्याली भइरहेको छ। 

प्रकाशित: ७ असार २०७८ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App