९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

खोटाङलाई साढे ११ लाखको स्वास्थ्य सामग्री

खोटाङ सेवा समाज यूकेले खोटाङलाई कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध गराएको छ।

कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको हो।  

कोभिड–१९ को महामारी फैलिरहेका बेला यूकेमा खोटाङका लागि ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान सञ्चालन गरेको खोटाङ सेवा समाज यूकेले पहिलो चरणमा ९० वटा थर्मल गन, ९ वटा ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १ थान बिआइपिएपी, २० थान रिजभ्र्वयर सहितको अक्सिजन मास्क, २ थान इन्ट्यूवेसन, ५ थान पेडियट्रिक पल्स अक्सिमिटर, ९० थान एडल्ट पल्स अक्सिमिटर, ५० वटा एडल्ट सक्सन ट्यूव, १० थान गाइडल्स एयरवे, ५० थान थ्रि वे अक्सिजन कारमेला २२, ५ थान हाइ फ्लो नेजल क्यानेल्ला, १ थान इलेक्ट्रिक सक्सन र ९० थान कनेक्सन पाइप र मास्क पठाएको हो।  

यूकेमा जुटाइएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री बिहीबार संविधानसभा सदस्य दुर्गाजयन्ती राईसहित समाज यूकेका विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राई र वर्तमान सदस्य जानुका राईले स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरे। समाजले जिल्लाका १० स्थानीय तह र जिल्ला अस्पतालमा पुग्ने गरी सामग्री पठाएको हो।  

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा राजनैतिक दलका प्रमुख, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित: २६ जेष्ठ २०७८ १३:५८ बुधबार

खोटाङ सेवा समाज कोभिड–१९