१४ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

अल्कोहलको कुनै पनि मात्रा दिमागका लागि हानिकारक

नटालिया ग्रोभर

मानिसको दिमागका लागि जतिसुकै सानो मात्रामा भए पनि अल्कोहल सेवन हानिकारक हुने बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ। २५ हजार मानिसमा गरिएको सो अध्ययनले अल्कोहलको सामान्य ‘मोडरेट’ सेवनले समेत दिमागका प्रत्येक भागमा प्रभाव पार्ने देखाएको हो।  

अन्य अनुसन्धानकर्ताद्वारा समीक्षा (पियर रिभ्यु) हुन बाँकी रहेको उक्त अध्ययनले अल्कोहल सेवनको मात्रा बढ्दै जाँदा दिमागको आयतन घट्दै जाने पाइएको छ। त्यसैले तपाईले जति धेरै अल्कोहल सेवन गर्नुहुन्छ, त्यति नै धेरै दिमागलाई असर परिरहेको हुन्छ। ‘शरीरका लागि नोक्सान गर्न अल्कोहल सेवनको कुनै थ्रेसहोल्ड छैन, कुनै पनि मात्राले नोक्सान गर्छ। दिमागका खास भागलाई मात्र असर गर्ने भनेर यसअघि ठानिँदै आएकोमा अल्कोहलले दिमागको सबै भागलाई प्रभावित गर्ने देखिएको छ,’ उक्त अध्ययनका प्रमुख लेखकसमेत रहेकी अक्सफोर्ड विश्व विद्यालयकी वरिष्ठ क्लिनिकल लेक्चरर अन्या टोपिवालाले बताइन्।

आनुवांशिक कोड र वातावरणीय कारणले किन कतिपय मानिस बिरामी हुन्छन् र अन्य किन हुँदैनन् भन्ने पत्ता लगाउन अनुसन्धानकर्तालाई सहयोग गर्न स्थापना गरिएको बेलायतको बायोबैंकमा रहेका तथ्यांकलाई अध्ययनको आधार मानिएको थियो। अध्ययनअन्तर्गत विभिन्न उमेर, लिंग, शिक्षाको स्तर भएका सहभागीले अल्कोहल सेवन सम्बन्धमा आफैंले रिपोर्ट गरेको मात्रा हेरिएको थियो। यसैगरी अध्ययनमा एमआरआई प्रविधिमार्फत दिमागको आकार र स्वास्थ्य स्थितिको समीक्षा गरिएको थियो भने अस्पताल भर्ना तथा अस्पतालमा स्वास्थ्य जाँच गर्न गएको रेकर्ड तथा स्मरण शक्तिको समेत समीक्षा गरिएको थियो।

हरेक साता अल्कोहलको सेवन अत्यधिक मात्रामा गर्ने मानिसको दिमागको घनत्व कम हुने गरेको अध्ययनले देखाएको छ। सम्बन्धित व्यक्तिको आनीबानी तथा जैविक विशेषताको समेत लेखाजोखा गरिएको उक्त अध्ययनले अल्कोहलले दिमागको आयतनलाई शून्य दशमलव ८ प्रतिशतसम्म घटाएको देखिएको छ। दिमागको आयतनमा देखिएको यो ह्रास सानो देखिए पनि जोखिमका अन्य परिवर्तनीय कारकभन्दा यसको योगदान बढी देखिएको छ। उदाहरणका लागि धूमपान अथवा अत्यधिक बोडी मास इन्डेक्स (बिएमआई) ले पार्ने प्रभावभन्दा यसको योगदान ४ गुणाले बढी रहेको देखिएको छ।  

हरेक साता अल्कोहलको सेवन अत्यधिक मात्रामा गर्ने मानिसको दिमागको घनत्व कम हुने गरेको अध्ययनले देखाएको छ। सम्बन्धित व्यक्तिको आनीबानी तथा जैविक विशेषताको समेत लेखाजोखा गरिएको उक्त अध्ययनले अल्कोहलले दिमागको आयतनलाई शून्य दशमलव ८ प्रतिशतसम्म घटाएको देखिएको छ। दिमागको आयतनमा देखिएको यो ह्रास सानो देखिए पनि जोखिमका अन्य परिवर्तनीय कारकभन्दा यसको योगदान बढी देखिएको छ।

यसैगरी अन्य नकारात्मक प्रभावमा अल्कोहल सेवनले दिमागको सेतो पदार्थको अखण्डतामा प्रभाव पारेको देखिएको छ। दिमागको सेतो पदार्थमा अर्बौं न्युरोनहरूसहित ब्रेन फाइबर रहेका हुन्छन्। यसैगरी सम्बन्धित व्यक्तिमा उच्च रक्तचाप र बिएमआई भएको खण्डमा नकारात्मक प्रभाव झन् अत्यधिक हुने अध्ययनले देखाएको छ। यसअघिका अध्ययनले बियर अथवा स्पिरिटभन्दा वाइनको सामान्य (मोडरेट) सेवनले स्वास्थ्यलाई फाइदा हुने देखाए पनि यो अध्ययनको नतिजा त्यसविपरीत देखिएको छ। अल्कोहलको कुनै पनि किसिमले दिमागलाई जोखिम थप्ने र प्रभाव पार्ने अध्ययनले देखाएको छ। 

धेरै पढेका र सामाजिक तथा आर्थिक हैसियत भएकाले वाइन सेवन गर्ने भएकाले स्वास्थ्यमा राम्रो प्रभाव पर्ने धारणाले मलजल पाएको तर्क गर्दै अध्ययनमा भनिएको छ, ‘यदि बेलायतमा मोडरेट हिसाबले वाइन सेवन गर्ने मानिसको लेखाजोखा गरियो भने उनीहरू बढी शिक्षित र धनी मानिस देखिन्छन् र त्यसैले उनीहरूको स्मरणशक्ति कम शिक्षितभन्दा अधिक देखिएको हो,’ प्रमुख लेखक टोपिवाला भन्छिन्। अनुसन्धानको यो नतिजाले अल्कोहल सेवनसम्बन्धी अन्य वैकल्पिक धारणालाई चुनौती दिएका सेफिल्ड विश्वविद्यालयअन्तर्गत सेफिल्ड अल्कोहल रिचर्स ग्रुपका वरिष्ठ अनुसन्धानकर्ता कोलिन एन्जस ठान्छन्।

‘अन्य बृहत् विषयवस्तुको तुलनामा यी प्रभावहरू साना देखिन्छन्। तर थप अध्ययनको अभावमा अल्कोहल सेवनले क्यान्सरको जोखिमलगायत स्वास्थ्यमा पर्न सक्ने अन्य प्रभावको तुलना गर्न कठिन छ। अल्कोहल सेवन र दिमागमा पर्ने प्रभावको अन्तर्सम्बन्धबारे थप अध्ययन आवश्यक देखिएको छ,’ अनुसन्धानकर्ता एन्जस भन्छन्। सन् २०१६ मा बेलायतमा जारी गरिएको अल्कोहल सेवनसम्बन्धी नयाँ निर्देशिकामा कुनै पनि पूरुष तथा महिलाले हरेक साता १४ युनिटभन्दा बढी अल्कोहल सेवन गर्न नहुने उल्लेख गरिएको छ। अध्ययनका प्रमुख लेखक टोपिवाला बेलायतले तोकेको यो थ्रेसहोल्डले समेत मानिसलाई हानि पुर्‍याउने देखिएको बताउँछिन्। (दी गार्जियन)

प्रकाशित: १४ जेष्ठ २०७८ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App