५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोनाले दिएको पीडा: जीवन गुम्यो, ऋण चढ्यो

कोरोना संक्रमणका कारण ज्यान गुमाएका जयकृष्ण पालकी पत्नी मिथिलादेवी। साथमा कोरोनाकै कारण ज्यान गुमाएका धनवीर पालका छोरा। जयकृष्ण र धनवीर दाजुभाइ हुन्। तस्बिर: मिथिलेश/नागरिक

सप्तरी डाक्नेश्वरी नगरपालिका–८ बिसहरिया गाउँका ४० वर्षीय शम्भुनन्दन चौधरी रूघाकोखीबाट संक्रमित भए। उनले राजविराजका चिकित्सक डा. टेकनारायण मण्डलको सल्लाहमा औषधि सेवन गर्न थाले। औषधि खाँदा निको नभएपछि उनलाई शंका लाग्यो। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा आरटी पिसिआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो। तर रुघाखोकीसँगै ज्वरो टसमस भएन। झन् झन् बल्झिँदै गयो।

वैशाख १८ मा सहयोगी राजेन्द्र यादवसँगै उनी चिनजानका डा. लक्ष्मीनारायण यादवसँग जाँच गराउन विराटनगर पुगे। डा. यादवले एक्सरेसहित केही परीक्षण गराउन सल्लाह दिए। एक्सरे रिपोर्ट हेरेपछि डा. यादवले चौधरीलाई कोरोनाको शंका गरे। तत्काल उनको अक्सिजन सेचुरेसन जाँच गर्दा ८२ देखायो। डा.यादवले तुरुन्त अक्सिजन सपोर्टमा राख्न सल्लाह दिँदै कोसी अस्पताल रेफर गरे। करिब एक घन्टा अक्सिजन दिएपछि चौधरीले सास फेर्न सहज महसुस गरे।

लगत्तै पिसिआर परीक्षणका लागि स्वाब लिएर उनलाई आइसोलेसनमा भर्ना गरियो। आइसोलेसनमै रहेका बेला वैशाख १८ मा उनको रिपोर्ट पोजेटिभ आयो। सोही राति करिब ८ बजे चौधरीलाई नोबेल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना गराइएको सहयोगी राजेन्द्रले बताए। आइसोलेसनबाट आइसियु हुँदै वैशाख २९ मा डिस्चार्ज भएर घर फर्किने तरखर गरिरहँदा अचानक चौधरीको मृत्यु भयो। उनको उपचारमा करिब चार लाख रूपैयाँ खर्च भएको यादवले बताए। चौधरी परिवारमा घरमूली गुमाउनुको पीडासँगै ऋणको भारी चढेको छ।

स्वास्थ्य जाँच र उपचार गराउन सोमबार विराटनगरस्थित कोसी अस्पताल गएकी चिनी रोगबाट पीडित सप्तरीको कञ्चनरूप नगरपालिका–११ गोरपारकी ६५ वर्षीया महिलाको पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भयो। अवस्था सामान्य रहेको भन्दै अस्पतालले होम आइसोलेसनमा बस्न सुझाव दिई उनलाई घर पठायो। गत बुधबार उनको अचानक स्वास्थ्य बिग्रियो। परिवारका सदस्य र गाउँलेले धरान, विराटनगर र राजविराजका अस्पतालसँग अनुनयविनय गरे। अस्पतालका बेड संक्रमितले भरिएको भन्दै कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि घरमै राखियो। उपचार नपाएपछि उनको सोमबार बिहान मृत्यु भएको परिवारका सदस्यले बताए। सरकारी अस्पताल कोसीले भर्ना नगरिदिएकै कारण उनको ज्यान गएको परिवारका सदस्यको गुनासो छ।

गोलबजार नगरपालिका–१२ बेतौना गाउँका ४९ वर्षीय जयकृष्ण पाल पत्थरीबाट पीडित थिए। चिकित्सकले शल्यक्रिया गर्न सुझाए पनि कोरोना महामारी फैलिएकाले उनी घरमै बसिरहेका थिए। दुखाइ बढेकाले शल्यक्रिया गराउन वैशाखको पहिलो साता उनी नोबेल मेडिकल कलेज एन्ड शिक्षण अस्पताल विराटनगर पुगे, शिक्षण पेसाबाट अवकाश प्राप्त ६० वर्षीय दाजु धनवीर पाललाई साथ लिएर।

त्यहाँ उपचार गरेर घर फर्केको चारपाँच दिनपछि धनवीरलाई रुघाखोकी, ज्वरोलगायत समस्या देखियो। उपचारका लागि धनवीर जनकपुरको प्रादेशिक अस्पताल पुगे। पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ देखियो। त्यहीं आइसोलेसनमा उनको उपचार हुँदै थियो, श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भेन्टिलेटर र आइसियु सेवा दुरुस्त नभएकाले उनलाई रेफर गरियो। अक्सिजन चढाएर एम्बुलेन्समार्फत उनलाई परिवारका सदस्यले विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याए। अस्पतालको आइसियूमा भर्ना भएको तेस्रो दिन (वैशाख १५) मा उपचारका क्रममा उनको मृत्यु भयो।

धनवीर अस्पतालको आइसियुमा भर्ना रहेकै बेला यता जयकृष्ण पनि रुघाखोकी र ज्वरोले थलिए। उनलाई उपचारका लागि अस्पताल पुर्‍याउन घरमा पुरुष मान्छे थिएनन्। दुई दाजुभाइमध्ये धनवीर आइसियुमा उपचाररत थिए। उनको कुरुवा थिए भतिजा जनार्दन। जयकृष्णलाई आफन्तले एम्बुलेन्स चढाएर धनवीर रहेकै अस्पताल पुर्‍याए। जयकृष्ण पुग्दा दाइ धनवीरको मृत्यु भइसकेको थियो। यता जयकृष्णमा पनि कोरोना देखियो। श्वासप्रश्वासमा समस्या देखिएका उनलाई वैशाख १६ गते आइसियुमा भर्ना गरिएको थियो। तर केही घन्टामै उनको पनि मृत्यु भयो।

पाल परिवारको आर्थिक अवस्था कमजोर छ। जनसांख्यिक हिसाबले पाल समुदाय अल्पसंख्यकमा पर्छ। चार दाजुभाइमध्ये जेठा उपेन्द्र पाल किसान हुन्। उनी अलग्गै बस्छन्। माइला धनवीर र साइँला जयकृष्णको परिवार सँगै बस्थ्यो। कान्छा भाइ बलरामको दुई वर्षअघि निधन भइसकेको छ। धनवीर शिक्षण पेसाबाट अवकाश पाएर खेती किसानी गर्थे।

गत वर्ष एक छोरीको विवाह गर्दा १० लाख रूपैयाँ ऋण लिएका थिए। यसपालि पत्थरीको शल्यक्रिया र कोरोनाको उपचारले ६ लाख रूपैयाँ ऋण थपिएको छ। सयकडा तीनका दरले साहुसँग लिएको ऋणको ब्याजको बोझमाथि अर्की छोरीको विवाह खर्च कसरी जुटाउने भन्ने चिन्ता छ जयकृष्णकी पत्नी मिथिलादेवीलाई। उनले भक्कानिँदै भनिन्, ‘हमर त गारजनो नै रहल आ कर्जो चैढ गेल (मेरो त श्रीमान् पनि गुम्यो, ऋण पनि चढ्यो)।’

आर्थिक अवस्था कमजोर भएका जयकृष्णले वैदेशिक रोजगारीबाट परिवारको पालनपोषण गर्दै आएका थिए। पत्थरीको समस्या देखिएपछि उनी दुई वर्षदेखि घरमै थिए। विदेशको आम्दानीबाट अलिकति जग्गा जोडेकाले पछिल्लो समय खेतीकिसानीबाटै परिवार धानिएको थियो। पत्थरीको समस्या निको भएपछि फेरि विदेश जाने उनको सोच थियो। छोरीको विवाहमा लागेको ऋण र उपचार गराउँदा लिएको ऋण उनी विदेशमै कमाएर चुक्ता गर्न चाहन्थे। पाल दाजुभाइले ज्यान गुमाएको दुई हप्ता बितिसक्दा पनि सरकारले सहयोग गर्न त परको कुरा, सान्त्वना दिन पनि नआएको मिथिलादेवीले बताइन्। ‘दुखियाके लेल कोनो सरकार नै छै (गरिब, असहाय, दुःखीका लागि सरकार छैन),’ उनी भन्छिन्, ‘गरिबके उपचार सरकारके जिम्मा सुन्ने रहियै सब झुट छै (गरिबको उपचार खर्च सरकारले बेहोर्छ भन्ने सुनेकी थिएँ, सब झुट रहेछ )।’

कोरोना महामारी भित्रिएको एक वर्ष भइसक्यो। तर प्रदेश २ मा सरकारले अहिलेसम्म भरपर्दो अस्पताल सञ्चालन गर्न सकेको छैन। भेन्टिलेटरसहितको भरपर्दो अस्पताल भइदिएको भए यस प्रदेशका सिकिस्त बिरामीलाई दौडाएर अर्को प्रदेशको अस्पतालमा लैजानु पर्दैनथ्यो। उनीहरूको ज्यान अस्पताल चहार्दैमा जाँदैनथ्यो। निजी अस्पतालको उपचार खर्च तिर्न ऋणको बोझ चढ्दैनथ्यो। संक्रमित परिवारसँग समाजको दूरी बढ्दैनथ्यो।

अस्पतालमा राख्ने धरौटी नभएर ज्यान गयो

पैसा र सबै प्रकारको पहुँच भए पनि बेड र अक्सिजनको अभाव भइरहेको खबरले धेरैलाई अत्याएको थियो। यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै ढाडस दिए, ‘उपचार नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिन्नँ।’ यसले समाजका तल्लो वर्गलाई राहत मिलेको थियो। तर सम्बोधनको एक दिनपछि धनुषाको बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय लोकबहादुर परियारले उपचार नपाएरै मृत्युवरण गर्नुपर्‍यो।

कमजोर आर्थिक अवस्थाका उनलाई रुघाखोकी, जिउ दुख्ने र ज्वरो बढ्ने समस्या भयो, चार दिनदेखि गाउँकै औषधि पसलबाट औषधि किनेर सेवन गरिरहेका थिए। गाउँले उपचारबाट समस्या झन् बल्झिँदै गएपछि उनी सहयोगीसहित प्रादेशिक अस्पताल जनकपुरधाम पुगे। त्यहाँ बेड खाली छैन भन्ने जवाफ पाएपछि उनी जनकपुरकै निजी अस्पताल पुगे। निजी अस्पतालको धरौटी बुझाउन नसकेपछि उनी घर फर्के। घर फर्केको भोलिपल्ट सास फेर्न नसकेर उनले प्राण त्यागे।

एक सातादेखि शरीर दुख्ने, ज्वरो आउने समस्या बल्झिँदै गएपछि वैशाख ६ मा गोलबजार नगरपालिका– ६ डोहटियाका ३५ वर्षीय गुशरण सदाको मत्यु भयो। मृत्युपछि उनको स्वाब परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आयो। पाँच दिन घरमै औषधि खाएर बसेका उनी अचानक बेहोस भएर मृत्युवरण गर्नुपरेको घटना धेरैलाई अनौठो लाग्यो। सेभ द चिल्ड्रेनमा कार्यरत सदा चैत २९ गते आमाको श्राद्धका लागि घर आएका थिए। तेज ज्वरोसँगै कमजोरी महसुस भएपछि पत्नी शान्तिले गुरुशरणलाई एम्बुलेन्समा राखेर उपचारका लागि गोलबजारस्थित भूमिजा अस्पताल पु¥याइन्। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लैजाँदै गर्दा लहानमा मृत्यु भयो। गुरुशरणको मृत्युले स्थानीय सरकारमाथि प्रश्न तेर्साएको छ, ‘कोरानाकै लक्षणबाट बिरामी परेर थलिएका उनको जाँच किन गरिएन।

प्रकाशित: ४ जेष्ठ २०७८ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App