५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अक्सिजन कोटा तोकिएपछि अस्पतालले बिरामी लिन छाडे

फाइल तस्बिर

सरकारले अक्सिजन सिलिन्डरमा कोटा निर्धारण गरेपछि विभिन्न अस्पतालले कोरोनाका थप बिरामी भर्ना गर्न नसकिने जनाएका छन्। देशव्यापी रूपमा अक्सिजनको माग बढेको तर आफूर्ति पर्याप्त नभएको भन्दै कोभिड–१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सिसिएमसी) ले अस्पतालमा अक्सिजन सिलिन्डरको दैनिक कोटा तोकिदिएपछि समस्या उत्पन्न भएको हो। सिसिएमसीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका आधारमा देशभरका अस्पतालमा अक्सिजनको व्यवस्था मिलाउने भन्दै यही आइतबार कोटा निर्धारणको निर्णय गरेसँगै अस्पतालमा अक्सिजन अभाव सुरु भएको हो।  

काठमाडौंका केही ठूला अस्पतालले पर्याप्त अक्सिजनको अभावमा हाललाई कोभिड–१९ बाट संक्रमित नयाँ बिरामी भर्ना गर्न नसकिने र भर्ना भएका बिरामीको उपचार पनि कठिन हुन सक्ने बताएका छन्। ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै हाल अस्पताललाई दैनिक चार सय ५० देखि पाँच सय सिलिन्डर आवश्यक पर्ने भए पनि सरकारले कोटाअन्तर्गत दैनिक एक सय सिलिन्डर उपलब्ध गराउने भएकाले कोभिडका नयाँ बिरामी भर्ना गर्न नसकिने जनाएको छ।

उक्त अस्पतालले हाल एक सयभन्दा बढी ननकोभिड र एक सय २० भन्दा बढी कोभिडका बिरामीको उपचार भइरहेको जनाउँदै भेन्टिलेटरमा रहेका ४० भन्दा बढी बिरामीको उपपचारमा समेत अक्सिजन अभावले समस्या हुन सक्ने उल्लेख गरेको छ। अस्पतालले अक्सिजनलगायतका सामग्री आपूर्ति सहज भएपछि अर्काे सूचना जारी गरी जानकारी गराउने जनाएको छ।

नेपाल मेडिकल कलेजले पनि मंगलबार सूचना जारी गर्दै अक्सिजन अभावमा मंगलबार अस्पतालमा उपचाररत कोरोनाका बिरामीलाई डिस्चार्ज गर्न लागेको जनाएको छ। अस्पतालमा उपलब्ध अक्सिजनले मंगलबार साँझ ४ बजेसम्म मात्र धान्ने भएकाले त्यसभन्दा पहिले नै आफ्नो व्यवस्थापन गर्न बिरामीका आफन्तलाई जानकारी गराएको मेडिकल कलेजले जनाएको छ। 

अस्पतालले अक्सिजन उपलब्ध हुन नसक्ने बेहोरासहित बिरामीलाई डिस्चार्ज गर्न लागेको जानकारी स्वास्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, प्रहरीलगायतका निकायलाई गराइसकेको जनाएको छ।  मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ हेन्ड्स सामुदायिक अस्पतालले अक्सिजन अभाव देखाउँदै कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने बताइसकेका छन्।

सरकारले भने हाल भइरहेको अक्सिजनको अभावलाई व्यवस्थापन गर्न कोटा निर्धारण गर्नुपरेको जनाएको छ। सिसिएमसीले सबैतर्फ अक्सिजनको समानुपातिक वितरणका लागि यस्तो निर्णय गरेको दाबी गरेको छ। सिसिएमसीका सचिव खगराज बराल हाल देखिएको अक्सिजनको संकट व्यवस्थापनका लागि कोटा निर्धारण गरिएको बताउँछन्। ‘संकटका बेला सबैतर्फ अक्सिजन पु¥याउन सकियोस् र कसैले अतिरिक्त भण्डारण नगरुन् भनेर यस्तो निर्णय गरिएको हो,’ उनले भने। अक्सिजन सहज उपलब्ध हुन थालेपछि कोटा हट्ने उनको भनाइ छ।

प्रकाशित: २९ वैशाख २०७८ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App