६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणबाट बाँकेमा थप ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा थप ४ जनाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल र जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसन खजुरामा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ३ र बर्दियाका एक जना रहेका छन्।

कोहलपुर नगरपालिका ११ की ४० वर्षीया महिलाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख १६ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसको भोलीपल्ट भेरी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार बेलुकी ८ बजेतिर मृत्यु भएको हो।  

यस्तै खजुरा गाउँपालिका ३ बाँकेका ५५ वर्र्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। यही वैैशाख १७ गते एन्टिजेन परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। भोलीपल्ट जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड खजुराको आइसोलेशनमा भर्ना भएका उनको शनिबार बेलुकी सवा ६ बजेतिर मृत्यु भएको हो।  

यसैगरी राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख १७ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि भोलीपल्ट मेडिकल कलेजमा भर्ना भएका थिए। स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि उनको शनिबार अपरान्ह साढे ५ बजेतिर मृत्यु भएको हो।  

त्यस्तै बैजनाथ गाउँपालिका २ बाँकेका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । यही बैशाख १४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनलाई वैैशाख १७ गते कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि उनको शनिबार बेलुकी ६ बजेतिर मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १ सय २३ र जिल्ला बाहिरबाट बाँकेमा आएर मृत्यु हुनेको संख्या १ सय १९ पुगेको छ।

प्रकाशित: १९ वैशाख २०७८ ०४:३५ आइतबार

कोरोना संक्रमण बाँकेमा