५ कार्तिक २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट एकै दिन आठजनाको मृत्यु

कोरोना संक्रमणबाट एकै दिन आठजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा आठजनाको मृत्यु भएको हो भने सोही अवधिमा कोरानाबाट मृत्यु हुनेको रिपोर्ट भने १३ जनाको आएको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता सोमबार सबैभन्दा बढीको मृत्यु भएको हो।

मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकाका रहेको मन्त्रालयले जनाएको छ। तिनमा पहिलो संक्रमणकालमा भन्दा कम उमेरका समेत रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ जना पुगेको छ। त्यस्तै कुल संक्रमित संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ। संक्रमितमध्ये २ लाख ७४ हजार १ सय ६५ जना निको भइसकेका छन्।

सोमबार दिइएको जानकारीअनुसार २४ घन्टामा संक्रमण दर पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। सो अवधिमा परीक्षण भएका ५ हजार १ सय ५ नमुनामध्ये ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार संक्रमण दर पनि बढेको जनाइएको छ। आइतबार संक्रमण दर ९.६ प्रतिशत थियो। नेपालमा अहिले भएको संक्रमण दर नियन्त्रण दरभन्दा दोब्बर हो।

सोमबार सार्वजनिक गरिएको तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमित वाग्मती प्रदेशमा थपिएका छन्। यो प्रदेशमा मात्र २ सय ३५ संक्रमित थपिएका छन्। त्यसमा पनि मृत्यु हुनेको संख्या काठमाडौंमा मात्र सबैभन्दा बढी १ सय ५९ रहेको छ। 

कोरोना नियन्त्रणका लागि संक्रमण दर ५ प्रतिशतभन्दा कम हुनुपर्ने चिकित्सकहरू बताउँछन्। त्यसैगरी चैत ६ देखि २९ गतेभित्र सीमा नाकामा परीक्षण गरिएका ७ सय २७ नमुनामध्ये ६३ जनामा संक्रमण पुष्टि भएको हो। नेपाल प्रवेश हुने आठ नाकामध्ये सबैभन्दा बढी कञ्चनपुरको चित्रनगर नाकामा ५४ जनामा संक्रमण पुष्टि भएको हो।

सोमबार सार्वजनिक गरिएको तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमित वाग्मती प्रदेशमा थपिएका छन्। यो प्रदेशमा मात्र २ सय ३५ संक्रमित थपिएका छन्। त्यसमा पनि मृत्यु हुनेको संख्या काठमाडौंमा मात्र सबैभन्दा बढी १ सय ५९ रहेको छ। त्यसपछि लुम्बिनी प्रदेशमा थपिएका संक्रमित संख्या १ सय २२ छ। हाल देशभरिमा ३ हजार ३ सय ६ जना आइसोलेसनमा छन्। तीमध्येमा १ सय ६ जना संस्थागत आइसोलेसनमा र ४६ जनाको आइसियुमा उपचार भइरहेको छ। १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमण भएका व्यक्ति हेलचक्र्याइँ गरी ढिला उपचारमा पुग्नाले बढी मृत्यु भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए। लक्षण नभएका संक्रमितले कोरोनालाई केही होइन भनेर सन्देश दिनु, बीचको समयमा बढी मात्रामा सभासम्मेलन हुनु, जोखिमस्थलबाट आएकाहरू क्वारेन्टिनमा नबस्नु, लक्षण देखिएका पनि ढिला मात्र परीक्षणमा जानुले कोरोना संक्रमण दर फैलिएको र मृत्युदरसमेत फैलिएको डा. अधिकारीको भनाइ छ।

संक्रमणको कारण हुने मृत्युदरको जोखिम फैलिएको हुनाले सबैले कडाइपूर्वक जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने उनको सुझाव छ। गत वर्षको जस्तै कडाइपूर्वक दुई मिटरको दूरीमा बस्ने, हातको सफाइमा ध्यान दिने, बाहिर निस्कँदा अनिवार्य रूपमा भरपर्दो मास्क लगाउने र भीडभाडमा रोक लगाउन सके संक्रमणबाट बच्न सकिने उनको सुझाव छ।

संक्रमण फैलिएसँगै मन्त्रालयले सम्बन्धित निकायलाई कडाइपूर्वक जनस्वास्थ्यका मापदण्ड पालना गर्न निर्देशन दिइसकेको भए पनि पालना गर्न ढिलाइ भरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३१ चैत्र २०७७ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App