५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना खोप अभियान स्थगित

नेपालले कोभिड–१९ विरुद्धको खोप अभियान हाललाई स्थगित गरेको छ। खरिद गरिएको १० लाख खोपसँगै थप खोप नआएपछि केही समयका लागि कार्यक्रम स्थगित गरेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ। बाँकी रहेको एक लाख डोज खोप छुटेका र कम जनसंख्या भएका हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई दिइनेछ। अन्यत्रको नियमित अभियान भने हाललाई रोकिएको हो।

बुधबारसम्म नेपालमा १६ लाख ५० हजारजनाले खोप लिइसकेका छन्। बाँकी ५ लाख ५० हजार खोप पहिलो चरणमा माघ १४ देखि फागुन १० भित्र लिएकालाई दोस्रो डोज दिन राखिएको हो। कोभ्याक्सले दिने १९ लाख, भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरी ल्याउने १० लाख, फेरि खरिद गरिने ५० लाख तथा चीनबाट आउने ८ लाख डोज खोपबाट अभियान जारी राख्ने सरकारले जनाएको थियो।

‘खोप नआउन्जेलका लागि अभियान स्थगित गरेका हौं,’ महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बुधबार नागरिकसित भने। खोप आउने निश्चित नभएपछि खोप अभियान रोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ‘संसारभरि खोप अभाव छ, नेपालमा कहिले आउँछ, भन्न सकिन्न,’ डा. गौतमले भने।  

गौतमले चीनबाट खोप ल्याउने समय पनि यकिन भइनसकेको बताए। चीनले डेढ महिनाअघि अनुदानस्वरूप दिएको ८ लाख खोप पनि नेपालले अझै ल्याउन सकेको छैन। कोभ्याक्सले मार्चभित्रै दिने भनेको १० लाख खोप पनि पाइएको छैन।  

बहराइनका राजकुमारले लिएको खोप अनुमति प्रक्रियामा  

नेपालमा रहेका बहराइनका राजकुमार नसिर हमादले अकस्मात् खोप लगाएका छन्। उनले लगाएकै खालको २ हजार खोपको अनुमतिलाई प्रक्रियामा लगिएको छ। सोमबार तीन बेलायती नागरिकसहित १५ जनाको समूहमा आएका बहराइनी राजकुमारले खोप लिएका थिए। यसअघि नेपालमा उक्त कम्पनीको खोपले अनुमति पाइनसकेको र जानकारीबिना नै खोप लिएको भन्दै औषधि व्यवस्था विभागले अनुसन्धान गर्ने बताएको थियो।  

नेपालमा प्रयोग भइरहेको अक्सफोर्ड तथा अस्ट्राजेनेकाकै संरचनामा आधारित उत्पादन भएकाले प्रयोग गर्न मिल्ने खोप हो। तर जानकारीबिना लिएकाले प्रक्रियाका लागि औषधि व्यवस्था विभागमा पठाइएको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए। औषधि व्यवस्था विभागले जानकारीबिना आएको जनाउँदै कुनै पनि खोप प्रक्रियाबाट मात्र ल्याइनुपर्ने बताएको छ।  

मनास्लु हिमाल बहराइनी रोयल पिकनजिक रहेको सानागाउँका १ हजारजनालाई खोप दिएर मात्र हिमाल चढ्ने बहराइनी समूहको योजना थियो। उनीहरू नेपालमा ७९ दिन बिताउनेगरी आएका हुन्।

प्रकाशित: ५ चैत्र २०७७ ००:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App