५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मानव शरीरका १०७ मर्मस्थान, जहाँ चाेट पुगे ‘निधन हुन सक्छ’

मानव शरीरमा १ सय ७ वटा जीवितीय विन्दु हुन्छ। ती विन्दुमा आघात पर्दा मानिसको निधनसमेत हुनसक्ने भएकाले यस विषयमा जानकारी गराउन तीन दिने मर्म चिकित्सासम्बन्धी तालिम सुरु भएको छ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले सोमबारदेखि तीनदिने मर्म चिकित्सासम्बन्धी तालिम सुरु गरेको हो। आयुर्वेद स्वास्थ्य संस्थाका ३० कविराज र वैद्यलाई सोमबारदेखि तालिम सुरु गरिएको केन्द्रका कार्यकारी निर्देशक डा.रामआधार यादवले जानकारी दिए।

प्राचीनकालमा मर्मस्थानमा कवच लगाएर सुरक्षा गर्ने गरिएकामा हाल यी स्थानको ज्ञानको अभावमा चोटपटक लाग्दा मानिसको एक्कासि निधनसमेत हुने गरेको छ। कसैलाई जानेर वा नजानेर मर्मस्थानमा हिर्काउँदा तत्कालै निधन भई पश्चाताप गर्नुपर्ने घटना पनि भएका छन्। यही विषयमा जानकारी गराउन मर्म चिकित्सासम्बन्धी तालिम सुरु गरिएको हो।

दुवै हातमा ११/११ गरी २२ वटा मर्मस्थान हुन्छन्। यसैगरी गोडामा पनि ११/११ गरी २२ नै मर्मस्थान हुन्छन्। यसैगरी पेट र छातीमा १२ मर्मस्थान हुन्छन्। ढाडको भागमा १४ मर्मस्थान हुन्छन्। घाँटीभन्दा माथि ३७ मर्मस्थान हुन्छन्। तिनलाई ऊध्र्वजत्रुगत मर्म भनिन्छ।

यसैगरी मानव शरीरमा सधः प्राणहर मर्म १९ वटा हुन्छन्। दुर्घटना वा चोटपटकका क्रममा यहाँ आघात परे घटनास्थलमै मानिसको निधन हुनसक्छ। यस्ता मर्मस्थान टाउकामै सातवटा रहेको कार्यकारी निर्देशक यादवले बताए। यसैगरी घाँटीमा आठ यस्ता मर्मस्थान छन्।

गुदा क्षेत्रमा एउटा यस्तो मर्मस्थान छ। शरीरमा क्लान्तर प्राणहर मर्म ३७, विशल्यघ्न तीन, वैकल्य कर ४४ र रुजाकर नामका मर्मस्थान आठवटा हुन्छन्। मर्मस्थानमा प्राणको बास हुने भएकाले आघातका क्रममा मृत्युसमेत हुने गरेकाले चिकित्सकमार्फत मानवसमुदायलाई जानकारी गराउन लागिएको हो।

यससम्बन्धी ज्ञान भएमा स्नायु प्रणालीका कारण शरीरमा लाग्न सक्ने रोगबाट बच्न सकिने भएकाले तालिम आयोजना गरिएको केन्द्रले जनाएको छ। रासस

प्रकाशित: २५ फाल्गुन २०७७ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App