१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान सकियो

खोप १ हजार १ सय १७ जनाले लगाए

तस्विरः महेश्वर

उदयपुरका सबै स्थानीयतहमा कोरोनाविरुद्धको खोप दिने पहिलो चरणको अभियान सकिएको छ । माघ १४ देखि सुरु भई २४ गते सम्पन्न अभियानमा जिल्लाका ८ वटै स्थानीयतहका स्वास्थ्यकर्मी, स्वास्थ्यसंस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी, एम्बुलेन्स र शव वाहनका चालक तथा शव व्यवस्थापनमा खट्ने सुरक्षाकर्मी गरी १ हजार १ सय १७ जना लाभान्वित भएका छन् ।  

१४ गते जिल्ला अस्पतालको मातृशिसु स्वास्थ्य केन्द्रबाट सुरु खोप अभियान २४ गतेसम्ममा ४ नगर र ४ गाउँपालिकामा सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिकाको जिल्ला अस्पतालमै खोप लगाइएको छ । जसमा २ सय २९ जना लाभान्वित भएको जनस्वास्थ्य प्रमुख मोहन सुबेदीले बताए ।  

त्यस्तै १६ देखि १८ गतेसम्म चौदण्डीगढी नगरपालिका केन्द्र बेलटारको प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालि अभियानमा १ सय १७ जनाले खोप लगाउँदा बेलका नगरपालिका केन्द्र रामपुरमा १८ गते सञ्चालित खोप अभियानमा ८० जना लाभान्वित भएका छन् । १९ गते उदयपुरगढी गाउँपालिकाका ८६ जनाले खोप लगाएका छन् ।  

२० गते कटारी अस्पतालमा १ सय ८४ जनाले खोप लगाएका छन् भने २२ गते लिमचुङबुङ गाउँपालिकाका ६० जनालाई खोप दिइएको छ । २२ गते नै रौतामाई गाउसँपालिकाका ६६ जना खोपबाट लाभान्वित हुँदा २३ गते जिल्ला कारागार गाईघाटमा २ सय १३ जना कैदीबन्दीलाई खोप दिइएको जनस्वास्थ्य प्रमुख सुबेदीले बताए ।  

सुबेदीका अनुसार त्रियुगा नगरपालिकाभित्रका १ सय ५१ जनासहित जिल्लाभरीका ४ सय ४२ जना स्वास्थ्यकर्मीले खोप लिएका छन् भनेस्वास्थ्य संस्थाका कर्मचारी ३४ ले पाएका छन् । त्यसैगरी २ सय ८४ महिला स्वास्थ्य स्वयंसेविकाले खोप पाउँदा ९२ सुरक्षाकर्मी र ३५ जना एम्बुलेन्स तथा शवबाहनका चालकलाई खोप लगाइएको छ । त्यसैगरी शव व्यवस्थापनमा खट्ने १७ सुरक्षाकर्मीसँगै २ सय १३ कैदीबन्दीलाई पनि खोप लगाइएको सुबेदीले बताएका छन् ।  

प्रदेश सरकारले उदयपुरका लागि २ सय ८३ भ्याक्सिन उपलब्ध गराएको थियो । जसमध्ये अभियानमा १ सय १० भायल भ्याक्सिन खर्च भएको छ भने १ सय ७३ वटा बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै ४ हजार सिरिन्ज प्राप्त भएकोमा १ हजार ३ सय ६० खर्च भएर २ हजार ६ सय ४० बाँकी रहेको प्रमुख सुबेदीले बताए । ५० सेप्mटी बक्स प्राप्त भएकोमध्ये १६ वटा खर्च भएर बाँकी ३४ वटा स्वास्थ्य कार्यालयमा मौज्दात रहेको उनले बताए ।  

स्वास्थ्य मन्त्रालयले प्रतिव्यक्ति खोप दिँदा शून्य दशमलव ५ मिलिलिटर औषधि दिने व्यवस्था अनुसार बिभिन्न १६ बर्गमा बिभाजित गरेर भ्याक्सिन दिने नियम बनाएको छ । जस अनुसार पहिलो बर्गमा सरकारी तथा नीजि अस्पतालका स्वास्थ्यकर्मी, दोस्रोमा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, तेस्रो महिला स्वास्थ्य स्वयंसेविका, चौथो सरसफाईकर्मी, पाँचौं एम्बुलेन्स तथा शवबाहन चालक रहेका छन् ।  

त्यस्तै छैठौं शव व्यवस्थापनमा खट्ने सुरक्षाकर्मी, सातौं बृद्धाश्रममा रहेका व्यक्ति र हेरचाह कर्मचारी, आठौं जेलका कैदीबन्दी तथा सुरक्षाकर्मी, नवौं अन्तराष्ट्रिय प्रवेशद्वारमा कार्यरत कर्मचारी, दशौं ७५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिनुपर्ने व्यवस्था छ । एघारौं बर्गमा ५५ देखि ७४ वर्षका नागरिक, बाह्रौं ४० देखि ५४ वर्षसम्मका दीर्घरोगी, तेह्रौं वैदेशिक रोजगारबाट फर्केका व्यक्ति र शरणार्थी, चौधौं ४० देखि ५४ वर्षसम्मका नागरिक, पन्ध्रौं १८ देखि ३९ वर्षसम्मका व्यक्ति र सोह्रौ नं.मा अन्य सर्वसाधारण सबैलाई खोप दिनुपर्ने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

 

 

प्रकाशित: २६ माघ २०७७ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App