२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

बेलायतमा ९० वर्षीया हजुरआमालाई लगाएर सुरु गरियो कोरोना खोप अभियान

बेलायतमा कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत पहिलो खोप लिँदै ९० वर्षीया मार्गरेट किनान।

बेलायतमा मंगलबार देशको इतिहासमै ठूलो खोप अभियान सुरु भएको छ।  

फाइजर-बायोएनटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ९० वर्षीया हजुरआमालाई लगाएर खोप अभियान सुरु गरिएको हो।  

मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट किनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक सुरुआत गरिएको हो।  

पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ। 

विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोना भाइरसबाट बेलायतमा पनि ६१ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १६ लाख व्यक्ति संक्रमित भएका छन्।  

प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोरोनाविरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताएका छन्।  

बेलायतको नियामक निकायले गत बुधबार मात्र फाइजरको खोपलाई अनुमति दिएको थियो। कतिपय वैज्ञानिकले बेलायतले अलि बढी हतार गरेको बताए पनि बेलायतमा सरकारको कदमलाई स्वागत गरिएको छ।  

बेलायतले हालसम्म ४ करोड डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको छ। यसबाट करिब २ करोड मानिसलाई खोप दिन पुग्नेछ।  

पहिलो चरणमा करिब ८ लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यही डिसेम्बर अन्त्यसम्ममा ४० लाख डोज उपलब्ध हुने अपेक्षा बेलायतको छ। एएफपी

प्रकाशित: २३ मंसिर २०७७ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App