४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘सुरुसुरुमा मरिएला कि भन्ने डर लाग्थ्यो, तर पछि यसरी जितें स्तन क्यान्सरलाई’

स्तन क्यान्सर भएका महिलाले हौसलाबाट यसलाई जित्न सकिने अनुभव सुनाएका छन्।  

नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले क्यान्सरविरुद्ध सचेतना अभियान क्रममा आइतबार काठमाडौंमा आयोजना गरेको वेभ कार्यक्रमका सहभागीले सफल उपचार र मनोबलले क्यान्सरलाई पराजित गर्न सकिने बताएका हुन्।  

अक्टोबर महिनामा विश्वभर नै ‘समयमै उपचार गर्ने हो भने क्यान्सर निको हुन्छ’ नारासाथ स्तन क्यान्सरविरुद्धको अभियान सञ्चालन गरिन्छ।  

नेपालमा पनि विभिन्न कार्यक्रम गरी अभियान सञ्चालन गरिएको हो। स्तन क्यान्सर लागेर निको भएकी पूजा कुँवर सुरुसुरुमा आफूलाई स्तन क्यान्सर भएपछि मरिहालिन्छ कि भन्ने लागेकामा पछि शल्यक्रिया गरेपछि निको भएको अनुभव सुनाइन्।  

‘यो रोग लागेपछि बाचिन्न कि भन्ने डर लाग्यो। शल्यक्रियापछि आफू भित्रबाट हौसला निकालेर शक्ति पाएँ,’ उनले भनिन्, ‘सुरुसुरुमा किमो दियो कपाल झर्ने। अहिले नभएको कपाल पनि राम्रो लाग्छ। कपाल झरेर झन् नयाँ कपाल आयो। कपालदेखि नङ नयाँ आउँदा शरीरले नयाँ जीवन पाएको छ।’

उनले सबै महिलालाई स्तन क्यान्सर लागेपछि नआत्तिनसमेत आग्रह गरिन्।  

अर्का स्तन क्यान्सर स्मीता घिमिरेले पनि क्यान्सर हुनेबित्तिकै मरिन्छ कि भनेर नडराउन आग्रह गरिन्। उनले भनिन्, ‘मैले ऊर्जाशील हुँदै हाँसेर नै क्यान्सरलाई जितेको छु। बरु अहिले कोभिड-१९ सँग डराएको छु। रोगसँग डराउने होइन। लड्ने हो।’

नेपाल क्यान्सर अस्पतालका स्तन रोग विशेषज्ञ डा. प्रफुल्ल शाक्यले नेपालमा स्तन क्यान्सरको राम्रो उपचार भएको जानकारी दिए। उनले स्तन क्यान्सर भएर बिरलै महिलाको मृत्यु  हुने र ७० प्रतिशत महिलाको स्तन बचाएर नै शल्यक्रिया गर्ने गरेको जानकारी दिए।  

उनका अनुसार क्यान्सरले स्तन फाल्नुपरे पनि फेरि बनाउन सकिन्छ।  

‘नेपालमा पनि नयाँ स्तन जीउकै कुनै ठाउँको मासुको माध्यमबाट बनाउन सकिन्छ,’ उनले भने, ‘यसका लागि ठूलो शल्यक्रिया हुन्छ। अहिले आएर हामी धेरै विज्ञ छौं। नेपालमा सम्भव छ। कसैलाई इच्छा छ भने हामीले गर्न सक्छौं।’

उनले रेजिना मुल्मीको पहिलोपटक शल्यक्रिया गरेर स्तन बनाएको जानकारी दिए। यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्तन रोग विशेषज्ञ डा. अरुण शाहीले समयमै पहिचान गरेर उपचार गरे स्तन क्यान्सर उपचार निको हुने बताइन्।  

उनले स्तन क्यान्सरको चाँडै उपचार नगर्ने हो भने फोक्सो, हड्डी र घाँटीमा असर पार्ने जानकारी दिइन्। त्रिवि शिक्षण अस्पतालकी डा. सुजिता हिराचनले स्तन क्यान्सर भए पनि महिलाले गर्भधारण गर्न सक्ने बताइन्।  

‘किमो थेपारी दिएको २ वर्षपछि क्यान्सर निको भएपछि महिलाले गर्भधारण सक्नेछन्,’ उनले भनिन्, ‘सामान्य तरिकाले महिलाले बच्चा जन्माउन सक्दछन्।’

उनका अनुसार नेपालमा २२ महिलामा एक जनालाई र पुरुषमा एक प्रतिशत क्यान्सर हुने गरेको छ। स्तन क्यान्सरबाट पीडित ज्ञानबहादुर लामाले किमो थेरापीबाट आफ्नो क्यान्सर निको हुने क्रममा रहेको जानकारी दिए।  

सरभाइबर्स सोसाइटीका कोषाध्यक्ष विनु केसीका अनुसार नेपालका ४० वर्षमुनिका २२ प्रतिशत महिलालाई स्तन क्यान्सर हुने गरेको तथ्याङ्क छ।

विश्वमा ८ प्रतिशत महिलामा स्तन क्यान्सर हुने गरेको छ। ४० देखि ५० वर्षसम्मका महिला यसबाट बढी पीडित हुने गरेका छन्। 

प्रकाशित: २५ आश्विन २०७७ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App