कोरोनाको संक्रमण समुदायमा देखिन थालेको सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लामा एउटा पनि आइसियु छैन। डडेल्धुराबाहेक ६ वटा पहाडी जिल्लामा भेन्टिलेटर पनि छैन। लक्षण भएका र जटिल अवस्थाका संक्रमित बढेमा बिरामी उपचारबाट बञ्चित हुनुपर्ने देखिएको छ।
चैतको १४ गते पहिलो संक्रमित देखापरेको सुदूरपश्चिममा ५ महिना बितिसक्दा पनि तीन तहका सरकारले विगतका दिनदेखि दयनीय अवस्थामा रहेको सुदूरपश्चिमको स्वास्थ्य उपचारको अवस्था चुस्त, दुरुस्त र राम्रो बनाउन पूर्वाधार, उपकरण र जनशक्ति थप गर्न सकेको छैन।
डडेल्धुराबाहेक अन्य जिल्लामा भेन्टिलेटर छैनन्। डडेल्धुरा अस्पतालमा दुईवटा मात्र भेन्टिलेटर छ। लक्षणसहितका संक्रमित थपिने क्रम बढेपछि आइसियु र भेन्टिलेटर अभावमा बिरामी जोखिममा पर्ने सम्भावना भएको बैतडी जिल्ला अस्पतालका डा. वसन्तराज जोशीले बताए। ‘सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा आइसियु बेडको सुविधा छैन,’ उनले भने, ‘एउटा पनि भेन्टिेलेटर र आइसियु नहुँदा जटिल लक्षण भएका संक्रमित देखिएमा ज्यान बचाउन गाह्रो छ।’
विगतमा पनि प्रदेशका पहाडी जिल्लामा दक्ष चिकित्सक र उपकरण अभाव हुँदा जनताले अकालमै ज्यान गुमाउँदै आएका थिए। समयमै स्वास्थ्य सेवा नपाउँदा विकट क्षेत्रका बासिन्दा अकालमै ज्यान गुमाउने गरेको पुर्चौैडी नगरपालिका–१ का धनवीर धामीले बताए। कोरोनाको संक्रमण फैलिएपछि तीन तहका सरकारले उपकरण, जनशक्ति तथा सेवा थप गरेर विगतमा जस्तै उपचार नपाएर ज्यान गुमाउने नियती भोग्नुपर्ने अवस्थामा सुधार आउने स्थानीयको अपेक्षा यसपटक पनि पूरा हुन सकेन।
पहाडी जिल्लामा आइसियु र भेन्टिलेटर स्थापना गरे पनि अहिले त्यो सञ्चालन गर्ने जनशक्ति नै छैन। त्यहाँ उपकरणभन्दा बढी जनशक्ति अभाव छ।
‘राम्रो अस्पताल र उपचार नपाएर कयौंले अकालमै ज्यान गुमाएका छन्, अस्पताल र उपचाारको अवस्था उस्तै छ, कोरोना महामारी फैलिएमा यहाँ धेरै समस्या छ,’ उनले भने। सुदूरका सबै पहाडी जिल्लाको व्यथा यही हो। समान्य रोग लाग्दा पनि जिल्लामा उपचार नपाएर सहेर बस्नुपर्ने र अकालमै ज्यान गुमाउनुपर्ने नियती भोग्दै आए पनि याहाँको स्वास्थ्य उपचारका लागि सरकारको ध्यान गएको थिएन। कोरोनाको संक्रमण फैलिएपछि पहाडी जिल्लाका अस्पतालमा सुधार हुने आशा बोकेका स्थानीय निरास छन्।
लक्षणसहितका कोरोना संक्रमित बढ्न थालेसँगै जिल्लामा स्वास्थ्य पूर्वाधार अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत वीरेन्द्र भट्टले बताए। अधिकांश बिरामीमा श्वासप्रश्वासजन्य समस्या निम्त्याउने यो रोगको उपचारका लागि अति आवश्यक उपकरणतर्फ आइसियु र भेन्टिलेटर सबैभन्दा महŒवपूर्ण रहेको उनले बताए। भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमित आए समस्या हुने डडेल्धुरा अस्पतालका प्रमुख डा.जगदीशचन्द्र बिष्टले बताए।
एकातिर जिल्लामा भेन्टिलेटर अभाव छ भने अर्कातिर लकडाउन र निषेधाज्ञाका कारण सवारीसाधन नपाउँदा जनताले सास्ती बेहोरिरहेका छन्। रिजर्भ गाडी वा एम्बुलेन्सबाट बिरामी लैजान पनि धैरैलाई गाह्रो छ। लामो बाटोमा बिरामी लैजाँदा सास्ती हुने गरेको स्थानीय बताउँछन्। जिल्लामै सबै सुविधा भए आर्थिक अवस्था कमजोर भएका नागरिकले पनि सहज स्वास्थ्य सेवा पाउने बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए।
सुदूरपहाडका सबै जिल्लामा संक्रमित रहेका छन्। डोटीमा ९ सय ८९, अछाममा ९ सय ४१, बाजुरामा ४ सय ५३ ,बैतडीमा ३ सय ८९, डडेल्धुरामा ३ सय २५ र दार्चुलाका ५५ जना संक्रमित भएका छन। लक्षणसहितका कोरोना संक्रमित भेटिए जिल्लामै उपचार सम्ंभव नहुने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कोरोना फोकल पर्सन भुवन जोशीले बताए। ‘आइसीयु र भेन्टिलेटर दुवै एकसाथ भए मात्र अक्सिजनको मात्रा कम देखिने बिरामीको उपचार गर्न सकिन्छ,’ उनले भने।
सामान्य अवस्थामा पनि गम्भीर रोगका बिरामी आइसियु र भेन्टिलेटर अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ। महामारीको सामना गर्नसक्ने तयारी नहुँदा सुदूरपश्चिम प्रदेश बढी जोखिममा देखिन्छ। संक्रमित र जोखिम बढी देखिएको सुदूर पहाडमा यस्ता पूर्वाधार कम देखिएको छ। विशेषज्ञ चिकित्सक नै कम रहेको सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिएकाले जोखिम बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन्। आइसोलेसन वार्ड स्थापना गरिएका अधिकांश अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन र क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियनसमेत छैनन्।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी सुदूरपश्चिमका पहाडी जिल्लामा आइसियु र भेन्टिलेटर सुविधा सञ्चालन गर्न सहज नहुने तर्क गर्छन्। ‘पहाडी जिल्लामा आइसियु र भेन्टिलेटर स्थापना गरे पनि अहिले त्यो सञ्चालन गर्ने जनशक्ति नै छैन,’ उनी भन्छन्, ‘त्यहाँ उपकरणभन्दा बढी जनशक्ति अभाव छ।’
पहाडी जिल्लामा मात्र नभई पूरै सुदूरपश्चिममा आवश्यक मात्रामा आइसियु र भेन्टिेलटेर छैनन्। ९ वटा जिल्ला रहेको सुदूरपश्चिममा ७ वटा पहाडी र दुई जिल्ला तराईका छन्। २०६८ सालको जनगणना अनुसार सुदूरपश्चिममा २५ लाख ५२ हजार ५ सय १७ रहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ३ सय ९८ रहेको छ तर सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढीमा १० र महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ८ गरेर १८ मात्र आइसियु सञ्चालनमा छन् भने सेती प्रादेशिक अस्पतालमा ७, महाकाली अस्पतलामा ३ र डडेल्धुरा अस्पतालमा २ गरेर १२ भेन्टिेलेटर उपलब्ध छन्। लक्षण भएका संक्रमित धेरै कम भएकाले अवस्था जटिल नभएको तर लक्षण भएका र जटिल खालका संक्रमितको संख्या बढेमा सुदूरपश्चिममा भएको आइसियु र भेन्टिेलेटरको अभावले ठूलो समस्या हुने सेती प्रादेशिक अस्पतालका कोरोना रोग उपचार विभागका प्रमुख वरिष्ठ फिजिसियन शेरबहादुर कमरले बताए। ‘समुदायमा महामारी फैलिएपछिको जटिल अवस्थाको अनुमान गरेर पूर्वाधार, आइसियु र भेन्टिलेटर थप गर्ने व्यवस्थापनको गरिनु आवश्यक छ,’ उनले भने।
प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले खरिद प्रक्रियामा भएको ढिलाइले पहाडी जिल्लामा भेन्टिलेटर राख्न नसकिएको बताए। चैत महिनादेखि प्रदेश सरकारले २० वटा भेन्टिलेटर खरिद गर्ने प्रक्रिया सुरु गरेको उनले बताए। ‘हाम्रो खरिद गर्ने प्रक्रिया नै ढिलो छ, चैतमै सुरु गरेको अहिलेसम्म आएको छैन,’ उनले भने, ‘अबको १५÷२० दिनभित्र २० भेन्टिलेटर ल्याएर प्रत्येक जिल्लामा २/२ वटा जडान गरिने छ।’
प्रकाशित: ३ आश्विन २०७७ ०२:२५ शनिबार