२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

तीन दिनपछि जीवजीवे ग्रामीण अस्पतालको सेवा सुरु

रसुवाको कालिका गाउँपालिकामा रहेको जीवजीवे ग्रामीण अस्पतालले तीन दिनपछि सेवा सुरु गरेको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालमा कार्यरत कर्मचारीहरूको स्वाब संकलन गरेर पठाइएकोमा सबै जनाको रिर्पोट नेगेटिभ आएसँगै बिहीबारदेखि अस्पतालले आफ्नो सेवालाई निरन्तरता दिएको हो ।  

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा नै कोरोना संक्रमण भएपछि पहिलो चरणमा १९ जनाको स्वाब संकलन गरेर पठाएको थियो । उनीहरू सबै जनाको कोरोना रिर्पोट कोरोना नभएको अर्थात नेगेटिभ आएको थियो ।  

दोस्रो चरणमा अस्पतालमा संक्रमितसँग सम्पर्कमा रहेर स्वास्थ्य सेवा प्रवाह गरेका कर्मचारी र अस्पतालमा आएका ८६ जना सेवाग्राहीको बुधबार स्वाव संकलन गरेर प्रयोगशाला पठाइएको छ । यसको नतिजा आउन बाँकी रहेको अस्पतालका हेल्थ अस्टिेन्ट उत्सव पौडेलले बताए ।  

उनका अनुसार संक्रमण पुष्टि भएको स्वास्थ्यकर्मी आइसोलेसनमा रहेको र अन्य कर्मचारीमा कोरोना संक्रमण नभएका कारण अस्पतालमा आउनका लागि त्रसित हुन पर्दैन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण क्रमिक रूपमा समुदायस्तरमा फैलिँदै गएको र रसुवा जिल्लामा पनि कोरोना भाइरसको संक्रमित देखिन थालेपछि कालिका गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, व्यापारी लगायत अग्रभागमा रहेका व्यक्तिको नमुना संकलन गरेको थियो ।  

हालसम्म परीक्षण गरिएकामध्ये एक जना स्वास्थ्यकर्मीमा मात्र कोरोना संक्रमण देखिएको र बाँकीको नतिजा कोरोना नभएको आएकाले अस्पतालको युएसजी सेवा बाहेक अन्य सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

जिल्लामा हालसम्म १७ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्टयाक ट्रेसिङ गरेर स्वाव संकलन गरेर पठाएका सबै जनाको नजिता नेगेटिभ आएको छ ।

प्रकाशित: ११ भाद्र २०७७ १५:५९ बिहीबार

अस्पतालको सेवा