२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा कोरोना फैलिन नदिन वडा तहमै पुगेर उपचारलाई तीव्रता दिइने

कोरोना सङ्क्रमणले मुलुकका विभिन्न जिल्लासँगै सङ्घीय राजधानी (काठमाडौं ) समेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाले विशेष अभियान थालेका छन् ।  

राजधानीमा सङ्क्रमणको गति तीव्र भएपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउँदै अन्यत्र फैलिन नदिन ‘कन्ट्याक ट्रेसिङ र ‘शङ्कास्पद क्षेत्र’का व्यक्तिको स्वाब परीक्षण तीव्र पारिएको हो ।  

मुख्यगरी उपत्यका नगरपालिका फोरमले त्यसको अगुवाइ गरेको छ । काठमाडौँ उपत्यकाका १६ नगरपालिका र दुई महानगरपालिका फोरममा आबद्ध छन् । फोरमको बैठकले सङ्क्रमण फैलिन नदिन वडा तहमै पुगेर पहिचान र उपचारलाई तीव्रता दिने निर्णयमुताबिक काम थालेको हो ।  

समुदायमा कोरोनाको अवस्था कस्तो छ भनेर पत्ता लगाउन एकीकृत रूपमा कार्यक्रम थालेको फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए । हाल उपत्यकामा १० हजार सङ्क्रमित रहेको आशंकाका साथ नियन्त्रणको काम अघि बढाइएको छ ।  

समुदाय स्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भन्ने कुरासमेत उक्त अभियानमार्फत पत्ता लगाउने र समुदायमा फैलिएको अवस्था भेटिए नयाँ रणनीतिका साथ अघि बढ्ने श्रेष्ठले जानकारी दिए ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकालगायत केही जिल्लामा महामारीकै रूपमा सङ्क्रमण फैलिएको जानकारी दिए ।  

उपत्यकामा विगतमा नगन्य सङ्क्रमण भएकामा लकडाउन अन्त्य भएपछि साउनमा अत्याधिक रूपमा सङ्क्रमित फेला परिरहेका छन् ।  

सरकारले गत चैत ११ गतेदेखि देशभर लागू लकडाउन साउन ६ गते अन्त्य गरेको थियो । त्यसपछि बाहिरी जिल्लाबाट मानिस उपत्यका प्रवेश गर्दा सङ्क्रमण फैलिने क्रम बढेको थियो ।  

‘पछिल्लो समय उपत्यकामा तीव्र गतिमा सङ्क्रमण फैलियो, अब सङ्क्रमण रोक्न सकिएन भने स्थिति जटिल बन्न सक्छ,’ मध्यपुरथिमी नगरपालिकाका प्रमुखसमेत रहेका फोरमका सचिव श्रेष्ठले भने, ‘फैलिँदै गरेको सङ्क्रमणको ‘चेन ब्रेक’ गरेरै छाड्ने योजनाका साथ हामी लागेका छौँ ।’

फोरमको हालैको बैठकले सङ्क्रमितसँगको कन्ट्याक ट्रेसिङ गर्ने, उनीहरूको परिवारका साथै शङ्कास्पद क्षेत्रका मानिसको समेत स्वाब सङ्कलन गरेर परीक्षण गर्ने निर्णय गरेको छ ।  

अनुसन्धानमा उपत्यकामा मात्रै अहिलेसम्म यसरी परीक्षण गर्नुपर्ने झण्डै २८ हजार ५०० छन् । उनीहरूको परीक्षण गर्दा १० हजारमा सङ्क्रमण देखियो भने समुदायमा गएको पुष्टि हुन्छ । नत्र समुदायमा नपुगेको निष्कर्षका साथ रोक्ने आगामी रणनीति तय हुन्छ ।  

सोहीअनुसार तथ्याङ्क सङ्कलन र विश्लेषणका आधारमा हरेक नगरपालिकाले अभियान थालेको उनले जानकारी दिए ।  

काठमाडौँ मानगरापलिकाका प्रवक्ता ईश्वरमान डङ्गोल महानगरको १५ वटा वडाबाट कन्ट्याक ट्रेसिङको काम थालिसकेको बताए । ‘सबैभन्दा पहिले शङ्कास्पद व्यक्तिका स्वाब सङ्कलन गरी परीक्षण नै हो । त्यसपछि उनीहरूलाई राख्ने स्थान ९आइसोलेसन० व्यवस्थापन हो, त्यसमा लागेका छौं,’ उनले भने ।  

उपत्यकामा अहिले आइसोलेसन पनि कम छ । त्यसैले सरकारले लक्षण नदेखिएकालाई घरमै आइसोलेसनमा बस्ने गरी मापदण्ड तयार पारेको छ । त्यसमा समुदायस्तरबाट दुर्व्यवहारका घटनासमेत देखिएकाले स्थानीय प्रशासन र प्रहरीलाई गृह मन्त्रालयले दुर्व्यवहार गर्नेविरुद्ध कार्बाही गर्न निर्देशनसमेत दिएको छ ।  

त्यसैले आवश्यकता देखेर आइसोलेसनको व्यवस्थापनमा गृह मन्त्रालयसहित उपत्यकाका नगरपालिका लागेका छन् । काठमाडौँ महानगरपालिकाले आइसोलेसन बनाउन ५-६ स्थान छनोट गरिसकेको छ ।  

स्थानीयबाट विरोध आउन सक्ने भएकाले नाम सार्वजनिक गरिएको छैन । अहिलेलाई सबै अस्पताल नै छनोट गरिएको डङ्गोलले बताए ।  

परीक्षणमा सङ्क्रमित फेला परे उनीहरूलाई राख्न झण्डै ६ हजार आइसोलेसन थप्ने योजना गृह मन्त्रालयको समेत छ । उपत्यकाका नगरपालिकासमेत आइसोलेसन व्यवस्थापनको तयारीमा जुटेका छन् ।  

भक्तपुरले एक हजार बेडको आइसोलेसन तयार पारिसकेको छ । अहिलेको परीक्षणले उपत्यकाको सङ्क्रमणको अबस्था कस्तो छ भनेर पत्ता लगाउने र अवस्था हेरेर नयाँ रणनीति बनाउन फलदायी हुने विश्वास गरिएको छ ।  

नयाँ आइसोलेसन बनाउँदा समस्या हुने र पार्टी प्यालेसलाई पनि प्रयोग गर्न सक्ने अवस्था नरहेकाले अस्पताललाई नै परिचालन गर्नुको विकल्प नभएको फोरमले जनाएको छ ।  

फोरमले स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी महाशाखाका अधिकारीसँग समेत छलफल गरिसकेको छ । छलफलको निष्कर्षअनुसार महाशाखाबाट हरेक नगरपालिकाका लागि एक एक जना फोकल व्यक्ति उपलब्ध हुने छन् ।  

महानगरभित्र रहेको स्वास्थ्य सेवा एकाइको टोलीले उनीहरूसँग समन्वय गरेर कन्ट्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरेर परीक्षण गर्ने छ । अहिले १० हजार सङ्क्रमित रहेको अनुमान गरिए पनि परीक्षणपछि मात्रै यकिन विवरण आउने जनाइएको छ । सबै काम आगामी एक हप्तामा सक्ने योजना फोरमको छ ।

प्रकाशित: १० भाद्र २०७७ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App