२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बाजुरामा किटको अभावः परीक्षण नै नगरी होम क्वारेन्टाइनमा पठाइयो

बाजुरामा आरडिटी किटको अभाव भएको छ। किट अभावमा जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका १६० जनालाई परीक्षण नै नगरी घर पठाइएको छ। १४ दिन क्वारेन्टाइनको बासपछि अनिवार्य रुपमा आरडिटी जाँच गरेर मात्र घर पठाउनुपर्ने प्रावधान छ। तर किट अभावका कारण परीक्षण नै नगरी घर पठाइएको हो।

जिल्लाका नौवटै स्थानीय तहका क्वारेन्टाइनबाट १६० जनालाई आरडिटी परीक्षण नै नगरी घर पठाइएको छ। किट नभएकै कारण बाध्य भएर सात दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सल्लाहसहित उनीहरुलाई घर पठाउनुपरेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। उनका अनुसार अनिवार्य र्‍यापिड जाँच भनिए पनि निर्देशिकाको दोस्रो बुँदामा कुनै लक्षण नदेखिएको, स्वास्थ्य जाँच नियमित गरिएको र किट अभाव भएको अवस्थामा सात दिन होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउन सक्ने प्रावधान रहेकाले सोही अनुरुप उनीहरुलाई घर पठाइएको छ।  

जिल्लामा किट अभावका कारण दुई सातादेखि र्‍यापिड जाँच रोकिएको छ। हालसम्म भारतलगायत अन्य मुलुकबाट एक हजार १६२ नागरिक जिल्ला भित्रिएका छन्। प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि एक हजार ३०० मात्रै किट पठाएको छ। ती किटले विदेशबाट आएका एक हजार १६० को आरडिटी गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए।

किट अभावकै कारण कोरोना जाँच हुनसकेको छैन। भारतबाट आएकालाई र्‍यापिड जाँचबिना नै पठाइएकाले गाउँमा जोखिम बढ्ने अनुमान गरिएको छ। होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि सबै परिवारसँग अलग कोठाको व्यवस्थापन नहुने र आफन्तसँग भेटघाट गर्ने हुँदा जोखिम देखिएको छ। उसो त क्वारेन्टाइनमा बस्नेको नियमित जाँचसमेत चिकित्सकबाट हुनुपर्ने निर्देशिकामा उल्लेख छ, तर त्यो पनि गरिएको छैन। क्वारेन्टाइनमा बस्नेहरुलाई खानपिन र बसाइको समेत समस्या छ। रासस

प्रकाशित: १ जेष्ठ २०७७ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App