११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा ४ सय ४१ जनाको आरडीटी परीक्षण, सबैको रिर्पोट नेगेटिभ

ताप्लेजुङ – कोरोना भाइरस (कोभिड–१९) को आशंकामा ताप्लेजुङमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४ सय ४१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ अर्थात् सङ्क्रमण नभएको पाइएको छ। चैत महिनायता भारतसहित तेस्रो मुलुकबाट र देशकै बिभिन्न स्थानबाट जिल्ला भित्रिएकाहरुको आरडीटी गरिएको थियो। अहिले सम्म ४ सय ४१ जनाको आरडीटी र १५ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ।

निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलका अनुसार आरडीटी परीक्षण गरिएका मध्ये ३ सय ७ जना पुरुष र १ सय ३४ जना महिला रहेका छन्। १० महिनाको बच्चादेखि ७० वर्षका जेष्ठ उमेर सम्मका नागरिकको आरडीटी गरिएको उनले जानकारी दिए। स्वास्थ्य कार्यालयका अनुसार फुङ्लिङ नगरपालिकामा ताप्लेजुुङ जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी ५५ जना समेत गरी १ सय ११ जनाको आरडीटी परीक्षण गरिएको छ। यस्तै फक्ताङ्लुङ गाउँपालिकामा ८३ जना, पाथीभरा याङ्वरक गाउँपालिकामा ७९ जना, आठराई त्रिबेणीमा ६७ जना, सिदिङ्वा गाउँपालिकामा ४७ जनाको आरडीटी परीक्षण गरिएको छ ।

मिक्वाखोला गाउँपालिकामा २३ जना, मेरिङ्देनमा २१ जना, सिरिजङ्घा गाउँपालिकामा ८ जना र मैवाखोला गाउँपालिकामा २ जनाको परीक्षण गरिएको छ।

 

प्रकाशित: २९ वैशाख २०७७ १२:१५ सोमबार

कोभिड–१९ रिर्पोट नेगेटिभ