९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सुत्केरीलाई पोषणयुक्त खाद्य सामग्री वितरण गर्दै गाउँपालिका

खोटाङ – जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएका महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरणको तयारी गरेको छ। लकडाउनको अवधि (चैत र वैशाख) मा सुत्केरी हुँदा पोषिलो खाद्य सामग्री जुटाउन नसकिरहेको अवस्थामा सुत्केरी महिलालाई गाउँपालिकाले चना, केराउ, भटमास, गहुँ, अण्डा लगायतका पोषणयुक्त खाद्य वस्तु वितरणको तयारी गरेको हो। 

लकडाउनको अवधिमा जन्मिएका नवजात शिशु र जन्म दिने आमालाई उचित पोषणयुक्त खानेकुराको अभावमा कुपोषित र शरीरमा रक्त अल्पता हुने सम्भावनालाई मध्यनजर गर्दै पोषणयुक्त खाद्य सामग्री वितरणको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए। लकडाउनको अवधिमा दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४६ जना गर्भवती महिला सुत्केरी भएका छन्। लकडाउनको अवधिमा सुत्केरी भएका सबै सुत्केरी आमालाई गाउँपालिकाभित्रै उपलव्ध हुने केराउ, भटमास, गहुँ, अण्डा लगायतका पोषणयुक्त खानेकुरा खरिद गरेर वितरणको अन्तिम तयारी गरिएको हो। चना भने गाउँमा नपाइने भएकाले अन्यत्र बजारबाट ल्याइएको गाउँपालिका अध्यक्ष राईले बताए।

‘सुत्केरी भयो तर लकडाउनले पोषिलो खानेकुरा जुटाउन सक्ने अवस्था छैन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘सुत्केरी र नवजात शिशुलाई कुपोषण र रक्त अल्पताको शिकार हुनबाट बचाउनका लागि पोषिलो खानेकुरा जुटाएर वितरणको तयारी गरिएको हो।’ गाउँपालिकामा गठित कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम स्थानीय कार्यदलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार  गाउँपालिकाभित्र चैत र वैशाखमा सुत्केरी भएका महिलालाई पोषिलो खानेकुरा बाँड्न लागिएको हो। लकडाउनको अवधिमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा ८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा ६ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा १० जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा ६ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा ६ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा ४ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा ६ जना महिला सुत्केरी भएका छन्। 

दोश्रो चरणको राहत वितरणको तयारी 

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको मारमा परेका दलित, अल्पसंख्यक तथा सिमान्तकृत, एकल महिला, ‘क’ बर्गको अपांग, विपन्न तथा सुकुम्बासी परिवारलाई दोश्रो चरणको राहत वितरण गर्ने निर्णय गरेको छ। पहिलो चरणमा चैत २६ गतेदेखि हप्ता दिनसम्ममा ६ सय परिवारलाई प्रतिघर २५ केजी चामल, २ केजी दाल, एक पोका तेल र एक केजी नुन प्रदान गरेको गाउँपालिकाले पुःन दोश्रो चरणको राहत बाँड्ने तयारी गरेको हो।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम स्थानीय कार्यदलको शुक्रबार बसेको बैठकले दोश्रो चरणको राहत वितरणका लागि ७ वडालाई प्रतिवडा ३०/३० परिवारलाई राहत उपलव्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। दिप्रुङ चुईचुम्मा गाउँपालिकाले काठ्माण्डौं, बिराटनगर, सुनसरीमा बसेर दैनिक जीवनयापनका लागि मजदुरीको काम गरिरहेका वा अध्ययनका सिलसिलामा बसिरहेको अवस्थामा लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका गाउँपालिकाबासीलाई पनि चामल, दाल, नून, तेल लगायतका राहत बाँडिरहेको छ। काठमाडौंमा बसिरहेका आफ्ना नागरिकलाई वैशाख ६ गतेदेखि तत्तत् स्थानमा पुगेर राहत उपलव्ध गराउन थालेको गाउँपालिकाले बैसाख २१ गतेदेखि बिराटनगर, सुनसरीमा बसिरहेका पालिकाबासीलाई राहत वितरण गरिरहेको जनाएको छ। 

 

प्रकाशित: २७ वैशाख २०७७ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App