६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

एउटै टोलमा २२ जना कोरोना संक्रमित, नेपालगन्जमा संख्या २३ पुग्यो

बाँके प्रशासनले कडा निगरानी बढाएको नेपालगन्ज–८ महेन्द्रपार्कस्थित जोलहनपुर्वा टोल। तस्बिर: अर्जुन ओली

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्रपार्कस्थित जोलहनपुर्वा टोलमा २२ जना कोरोना संक्रमित फेला परेका छन्। कुल ९४ जना ब्यक्तिको ‘स्वाब’ को पिसिआर परीक्षण गर्दा एउटै टोलका २२ जनामा कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। ‘संकलन गरिएको सबैको रिपोर्ट आउँदा नयाँ सात जना संक्रमित थपिए,’ उनले नागरिकसँग भने ‘कोरोना पोजिटिभ देखिएका सबै २२ जना ब्यक्ति एउटै टोलका हुन्।’ यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी वडा नम्बर ८ महेन्द्रपार्क स्थित जोलहनपुर्वा टोलमा रहेको अन्सारियन मस्जिदमा साँझ–बिहान नमाज पढ्थ्ये, भने मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेका उनी बालबालिकाको घरमै पुगेर ट्युसन(उर्दु) पढाउने गरेका थिए।

६० बर्षिय ती संक्रमितले अन्य ब्यक्तिमा पनि संक्रमण फैलाएको आशंकामा उनको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ का आधारमा गत शनिबारबाट वडा नम्बर ७ र ८ मा स्वाब संकलन सुरु गरिएको थियो। फोकल पर्सन श्रेष्ठका अनुसार कुल संकलन गरिएको ९४ वटा स्वाबलाई तीन चरणमा परीक्षण गर्दा नयाँ सातसहित २२ जनामा पोजिटिभ देखिएको हो। नेपालगन्जमा अब संक्रमित हुनेको संख्या २३ पुगेको छ।

नेपालगन्जका ६० बर्षिय ब्यक्तिमा शुक्रबार पहिलो पटक संक्रमण पुष्टि भएपछि संकलित स्वाब परीक्षण गर्दा आइतबार एकैदिन ९ र ६ गरी १५ जनामा संक्रमण पुष्टि भएको थियो। पछिल्लो पटक मंगलबार पुष्टि भएका ७ जनामध्ये ४ महिला र ३ जना पुरुष रहेको फोकल पर्सन श्रेष्ठले बताए। संक्रमित पुरुष २२, ३०, ४० र महिला ९, ३२, ३४ र ३५ वर्षका छन्। नेपालगन्जमा अहिलेसम्म फेला परेका संक्रमित ७ बर्षदेखी ६० वर्ष उमेरसम्मका छन्।

नयाँ संक्रमित(पोजिटिभ) ब्यक्तिलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। ‘नयाँ संक्रमित ब्यक्तिको नाम, ठेगाना पत्ता लगाएर आइसोलेसनमा लैजाने तयारीमा छौं,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(प्रवक्ता) शिवबहादुर सिंहले भने ‘एम्बुलेन्स खोजेर उनीहरुलाई आइसोलेसनमा लैजाने हो।’ अहिलेसम्म संकलन गरिएको सबै स्वाबको परिक्षण सम्पन्न भइसकेकाले मंगलबार(आज) संक्रमित ब्यक्तिको ‘कन्ट्रयाक्ट ट्रेसिङ’का आधारमा थप स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्जको महेन्द्र पार्कस्थित जोलहनपुर्वा टोललाई चारैतिरबाट सुरक्षाकर्मीले घेरेका छन्। पहिलो संक्रमित फेला परेपछि नै उक्त टोलसहित एकलैनी, डिएसपी रोड, धम्बोझी लगायत क्षेत्रलाई स्थानीय प्रशासनले शिल गरेको थियो।  कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकालाई आज(मंगलबार) बाट लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको छ। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले मंगलबार बिहान ११ बजेदेखी लागु हुने गरी यही बैशाख २५ गते मध्यरातीसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको बताएका छन्।

‘संक्रमणलाई न्युनिकरण गर्न संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको हो, निषेधित क्षेत्र घोषणा अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कन्ट्रयाक्ट ट्रेसिङसहित स्वाब संकलन कार्यमा खटिने जनशक्ति बाहेक अन्य कोही पनि घर बाहिर निस्कन नपाउने छैनन्,’ उनले भने। सबै संक्रमितको ब्यापक रुपमा कन्ट्रयाक्ट ट्रेसिङ गर्ने र ट्रेसिङबाट पहिचान गरिएका सम्भावित ब्यक्तिको स्वाब परीक्षण गरिने प्रजिअ खड्काले बताए।

 

 

प्रकाशित: २३ वैशाख २०७७ ०५:०० मंगलबार

कोरोना_भाइरस कोभिड_१९ नेपालगन्ज