६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

संक्रमित युवासँग सम्पर्कमा आएकालाई संक्रमण देखिएन

बुटवल, - रुपन्देहीका कोरोना संक्रमित युवाको प्रत्यक्ष सम्पर्कमा आएकाहरूमा कारोना नभएको पुष्टि भएको छ । कोटहीमाई–१ सिपवाका २५ वर्षीय कोरोना संक्रमित युवाको सम्पर्कमा आएका १० जनाको स्वाब परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए  ।  गिरीले ती युवाको प्रत्यक्ष सम्पर्कमा आएकाको पिसिआर  टेस्ट गरिएकोमा  रिपोर्ट नेगेटिभ आएको बताए । 

गत वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल पसेका ती युवाले आएकै दिन आफ्ना दाजु र साथीको परिवारलाई भेटेका थिए । ती युवाका दाजुसहित परिवारका ७ जना र साथीको परिवारका तीन जनालाई शनिबार क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण गर्दा उनीहरू सबैमा कारोना नेगेटिभ देखिएको डा. गिरिले बताए । संक्रमितको सम्पर्कमा आएका मर्चवारी गाउँपालिका–७ र सम्मरीमाई गाउँपालिकाका ४ जनालाई पनि अहिले क्वारेन्टाइनमा राखिएको छ । तत्कालका लागि भैरहवामा रहेको ल्याबमा किट तथा रसायन अभावका कारण परीक्षण रोकिएकाले ती ११ जनाको स्वाब संकलन गरी काठमाडांै पठाउने तयारी भइरहेको डा. गिरिले जानकारी दिए ।  कोटहीमाईका २५ वर्षीय ती युवाको पिसिआर टेस्ट गर्दा गत शुक्रबार कोरोना संक्रमणको पुष्टि भएको थियो ।  संक्रमित युवा अहिले बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा छन् । उनको स्वास्थ्य सामान्य रहेको र कोभिड १९ को कुनै लक्षण नदेखिएको अस्पतालका डा. सुदर्शन थापाले बताए । सोमबार फेरि उनको पिसिआर टेस्ट गरिने डा. थापाले जानकारी दिए । 

 

प्रकाशित: २२ वैशाख २०७७ १३:१० सोमबार

कोरोना_भाइरस संक्रमण