९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पिपिई र अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, – सेभ द चिल्ड्रेनले नेपाल सरकारलाई कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण रोक्न सघाउने उद्देश्यले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालमार्फत सेभ द चिल्ड्रेनको नेपालस्थित राष्ट्रिय कार्यालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सो सामग्री हस्तान्तरण गरिएको हो । 

सेभ द चिल्ड्रेनले उपलब्ध गराएका पिपिई सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसारका छन् । ‘हाम्रो प्राथमिकता कोभिड–१९ को संक्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकारलाई मद्दत गर्ने हो, नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरणका क्षेत्रमा सेभ द चिल्ड्रेन निरन्तर क्रियाशील छ,’ सेभ द चिल्ड्रेन नेपालका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले भनिन् । 

सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फन्डको आर्थिक सहायता प्राप्त परियोजनाबाट संघीय, प्रादेशिक र स्थानीय सरकारमार्फत कोभिड–१९ सँग सम्बन्धित सेवाका लागि तत्काल आवश्यक पर्ने मेडिकल र अन्य सामग्री उपलब्ध गराई सहयोग गरिरहेको छ । साथै, सेभ द चिल्ड्रेन थप २ हजार सेट पिपिई पनि खरिद प्रक्रियामा रहेको छ । सेभ द चिल्ड्रेनले आफ्ना नियमित कार्यक्रम र ग्लोबल फन्ड परियोजनामार्फत संघीय, प्रदेश तथा स्थानीय सरकारका सम्बन्धित मन्त्रालय तथा निकायसँगको सहकार्यमा मेडिकल र अन्य सामग्री प्रदान गरिरहेको छ । 

जसमा क्वारेन्टाइन केन्द्रहरू बनाउन सहयोग गर्ने, स्वास्थ्य तथा सरसफाइका सामग्री उपलब्ध गराउने, स्वाब संकलनबारे स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यकर्मीका लागि सहायक सामग्री जस्तै इन्फ्रारेड थर्मोमिटर, एन–९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, इसिजी मेसिनलगायत उपलब्ध गराएको छ ।  साथै, उसले राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँगको सहकार्यमा राष्ट्रिय तथा स्थानीय रेडियोहरूमार्फत बालबालिका तथा समग्र जनमानसलाई लक्षित गरी कोभिड–१९ सँग सम्बन्धी सूचना प्रवाहका कार्यसमेत गरिरहेको छ ।

प्रकाशित: २२ वैशाख २०७७ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App