२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

‘कोरोनाले साँझबिहान भन्दैन’

काठमाडौं, - लकडाउन भएको बेला आतेजाते गर्ने क्रम नरोकिएपछि प्रहरीले नयाँ रणनीतिसहित सडकमा थप कडाइ गर्ने भएको छ । आइतबार नयाँ संक्रमितको संख्या ह्वात्तै बढेपछि प्रहरी प्रधान कार्यालयले थप कडाइ गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको हो । 

सोमबारदेखि अन्य दिनमा भन्दा कडाइ गर्ने तयारी प्रहरीले गरेको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले लकडाउन परिपालना गराउन प्रहरीले हरेक कसरत गरिरहेको बताए । उनले थप नयाँ संक्रमित देखिएपछि सडकमा निस्कनेलाई थप कडाइ गरिने जानकारी दिए । ‘साँझबिहान भीडभाड बढी देखिन थालेको छ, लकडाउन पालना नगर्ने कैयौंलाई कारबाही गरेका छौं,’ उनले भने, ‘यसका अतिरिक्त प्रहरी गाडीले पछ्याउने र सादा पोसाकमा प्रहरी परिचालन पनि गर्दै आइरहेका छौं, यसलाई थप कडाइ गर्नुपर्ने देखिएको छ ।’ उनका अनुसार अहिले नेपाल प्रहरीले आपराधिक गतिविधिभन्दा बढी चासो लकडाउन कार्यान्वयनतर्फ नै देखाएको छ । आइतबार उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३ सय १७ महिलासहित १२ सय ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी ६ सय ८ वटा दुईपांग्र्रे र ३९ वटा चारपांग्रे्र गरी ६ सय ४७ वटा सवारीसाधन पनि नियन्त्रणमा लिएको छ । 

पहिलेजस्तो आपराधिक घटना कम भएपछि प्रहरी अन्य कार्यमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आइतबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले सर्वसाधारण बाहिर निस्किने क्रम बढेपछि मातहतका कार्यालयलाई थप कडाइ गर्न भनेका थिए । त्यसो त सरकारले अत्यावश्यक सेवाबाहेक सवारीसाधनलाई गुड्न रोक लगाए पनि रातको मौका छोपी यात्रुहरू उपत्यका बाहिरिने गरेको पाइएको छ । लकडाउन गरेको बेला जिल्ला प्रशासन कार्यालयबाट ई–पास लिएर दैनिक उपत्यका छाड्ने सवारीसाधनको संख्या ३ हजारभन्दा बढी रहेको प्रहरीले जनाएको छ । प्रहरीले कडाइ गर्दा पनि धेरै संख्यामा बाहिरिने क्रम बढेको छ । 

लकडाउन भइरहेको बेला यसरी लुकीछिपी वा राजनीतिक आडमा ओहोरदोहोर गर्दा संक्रमण फैलने त्रास देखिन्छ । महानगरीय प्रहरी वृत्त नागढुंगाका डिएसपी घनश्याम श्रेष्ठले पास लिएर उपत्यका बाहिरिने सवारी संख्या बढ्दो देखिएपछि थप कडाइ गरिएको बताए । उनले नयाँ संक्रमित देखिएपछि प्रहरीले त्यस विषयमा थप सावधानी अपनाएको पनि बताए । उनले भने, ‘पास लिएको र अत्यावश्यक काम परेका सवारीलाई हामीले रोक्न मिल्दैन, यसबारे पास दिने निकायले नै सोच्नुपर्छ ।’ उनका अनुसार अत्यावश्यक मालवाहक सवारीलाई चेकजाँच गरेर मात्रै उपत्यका प्रवेश गराइन्छ । पास नभएकालाई प्रहरीले फर्काउने गरेको पनि छ । तर, जिल्ला प्रशासन कार्यालयको ई–पास लिएर उपत्यका छाड्ने सवारीसाधनको संख्या बढी देखिएको छ । 

प्रहरीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सरकारी कार्यालयका कर्मचारीलाई सहज रुपमा ओहोरदोहोरमा रोक लगाएको छैन । तर, जिल्ला प्रशासनले दिएको सवारी पासका आधारमा प्रहरीले छाड्ने भएपछि जिल्ला प्रशासन कार्यालयबाट ई–पास लिनेको संख्या पनि बढेको छ । जिल्ला प्रशासन कार्यालयले चिनजान र सम्बन्ध हेरेर पनि ई–पास दिने गरेका छन् । 

सहकारी, एनजिओ र अन्य मझौला संस्थालार्ई समेत पास वितरण गरिएको यातायातकर्मी रामबहादुर थापाले जानकारी दिए । ‘कर्मचारीले सहजै पास दिएको देखियो, सकडमा निस्कने सबै अत्यावश्यक काम परेका मात्रै छैनन्,’ उनले भने, ‘टाढाटाढाको पास दिँदा सरकारी कार्यालयले सोच्नुपर्छ ।’ गृह मन्त्रालयले अत्यावश्यक कार्यालयका कर्मचारी र सर्वसाधारणको अवस्था हेरेर पास वितरण गर्न सम्बन्धित जिल्लाका सिडिओ कार्यालयलाई जिम्मा लगाएको छ । जोखिमलाई ध्यानमा राख्दै २५ गतेसम्म लकडाउन गरिएको छ । यसबिच अत्यावश्यक बाहेकका व्यक्तिलाई घरबाहिर ननिस्कन सरकारले आग्रह गरेको छ ।

आइतबार नयाँ संक्रमित थपिएपछि यसमा थप कडाइ गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दियो । यस्तो समयमा जिल्ला प्रशासन कार्यालयबाट गाउँ फर्कन पास नपाइने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अत्याश्यक कामका लागि मात्रै सवारी दिन सबै जिल्लाका सिडिओलाई आग्रह गरिएको बताए । उनले अहिले पास लिन कठिन भएकाले दुरुपयोग नहुने दाबीसमेत गरे । गृह मन्त्रालयले २० दिन अघिदेखि ई–पास प्रयोगमा ल्याएको थियो । ‘यस्तो बेलामा अत्यावश्यक कामबाहेक हिँड्न पाइन्न, पास दिँदा पनि हामीले कागज पेस गर्न भनेका छौं,’ उनले भने । 

सरकारी निकायले पास वितरणमा कडाइ गरेको बताए पनि कोरोना महामारी फैलिरहेको बेला लुकीछिपी उपत्यका छाड्ने क्रम बढेसँगै कोरोनाको जोखिम पनि बढ्ने देखिएको छ । जिल्ला प्रशासन कार्यालयले कुनै संस्थाको सिफारिसमा सवारी पास दिने भएपछि त्यसको दुरुपयोग बढेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पास वितरणमा कडाइ गरिएको दाबी गरे । ‘हामीले सामान्य र जोकोहीलाई पास दिएका छैनौं, अवस्था हेरेर प्रमाण हेरेर दिएका छौं,’ उनले भने । 

उपत्यकामा सार्वजनिक यातायात ठप्प छ । मुख्य सडक खाली छन् । तर, भित्री सडकमा भने जथाभावी हिँड्डुल भइरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले जानकारी दिए । उनले प्रहरीले नै सर्वसाधारणलाई बाहिर ननिस्कन बारम्बार आग्रह गर्नुपरेको बताए । ‘हामीले सक्दो कडाइ त गरेका छौं तर साँझबिहान धेरै मानिस बाहिर निस्किएका छन्, कोरोनाले साँझबिहान भन्दैन,’ उनले भने ।

प्रकाशित: २२ वैशाख २०७७ १२:३५ सोमबार

लकडाउन सुरक्षा काेराेना_भाइरस