७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

नेपालगन्जमा एकैदिन देखियो १५ जनामा कोरोना भाइरस

स्थानीय प्रशासनले शिल गरेको महेन्द्र पार्क पछाडीको बस्ती । तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज- नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि नेपालगन्जको डिएसपी रोड निवासी ६० वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखा परेको थियो । ६० वर्षिय पुरुषको घर रहेको डिएसपी रोड र उनी ‘अजान’ गर्न पुग्ने महेन्द्र पार्कस्थित मस्जिद तथा मदरसा वरिपरीका स्थानीय बासिन्दाको स्वाब परीक्षण गर्दा एकै दिन १५ जनामा पुष्टी भएको हो । अन्य ब्यक्तिमा पनि संक्रमण फैलाएको आशंकामा शनिबार दिउँसो डिएसपी रोड क्षेत्रका ७ जना र महेन्द्र पार्क आसपासका ८३ गरी कुल ९० जनाको स्वाब संकलन गरिएको थियो ।

ती मध्येबाट नै १५ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षण अनुसार सुरुमा ९ जना र त्यसपछि थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको उनले बताए । ‘जो नेपालगन्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुषहरु हुनुहुन्छ, भने ४०, ५५ र ६० वर्षका महिलाहरु हुनुहुन्छ, हालसम्म प्राप्त विवरण अनुसार निज हरुको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरु स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ,’ मन्त्रालयद्धारा जारी नोटमा भनिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अझै केही रिपोर्ट आउन बाँकी नै रहेको बताए । ‘हिजो(शनिबार) संकलन गरिएको स्वाब मध्येबाट आज(आइतबार) कोरोना भाइरस पोजिटिभ देखियो, अझै धेरै जनाको रिपोर्ट आउन त बाँकी नै छ,’ उनले नागरिकसँग भने । ६० वर्षिय पुुरुषबाट नै टोलभरी संक्रमण फैलिएको आशंका गरिएको छ ।

६० वर्षिय संक्रमितले दुई महिनाअघि भारत पुगेर आएको बयान दिइसेका छन् । उनी भारतबाट आएपछि पनि मस्जिद तथा मदरसामा नियमित रुपमा जाने गरेका थिए । महेन्द्रपार्क आसपास मुस्लिम समुदायको बाहुल्यता रहेको ठाउँ हो । नेपालगन्जका ६० बर्षिय पहिलो संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको आइसोलेसन कक्षमा राखिएको छ ।

पछिल्लो पटक देखा परेका १५ जना संक्रमित मध्ये ७ वर्षदेखी ६० वर्षसम्मका रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए । ‘६० वर्षका संक्रमित ब्यक्तिको सम्पर्कबाट नै अन्य ब्यक्तिमा संक्रमण फैलिएको आशंका छ,’ उनले भने ‘यि सबै कन्ट्याक्ट ट्रेसिङका संक्रमित हुन् ।’

नयाँ संक्रमितलाई पहिचान गरी खजुरास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यद्यपी उनीहरुलाई सहज रुपमा लैजान कठिन भइरहेको प्रहरीको भनाई छ । संक्रमित ब्यक्तिहरु आइसोलेसनमा जान नमान्दा लैजान कठिनाई भएको बाँकेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक शिव सिंहले बताए । ‘पछिल्लो पटक देखा परेका संक्रमितको पहिचान गरेर उनीहरुलाई आइसोलेसन कक्षमा लैजान खोजेका छौं, तर उनीहरु आइसोलेसनमा जानै मानेका छैनन,’ डिएसपी सिंहले भने ।

यसअघि शनिबार नै स्वाब परिक्षण गर्ने क्रममा उनीहरुलाई क्वारेन्टाइन बस्न आग्रह गर्दा पनि अटेरी गरेको उनले स्मरण गरे । एकै पटक धेरै ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि नेपालगन्जमा सुरक्षा सर्तकता बढाइएको छ, भने नेपालगन्जबासी थप त्रसित भएका छन् । संक्रमित ब्यक्ति फेला परेको महेन्द्र पार्क पछाडीको टोललाई पुर्ण रुपले शिल गरिएको छ । स्थानीय प्रशासनले दुई दिनदेखी नै नगरका विभिन्न चार स्थानलाई शिल गर्दै आएको थियो ।
 

प्रकाशित: २१ वैशाख २०७७ १४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App