२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएपछि थप १ हजार थान आरडिटी किट मागियो

ताप्लेजुङ- क्वारेन्टाइनमा रहेकाको संख्या २ सय नजिक पुगेपछि जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले ताप्लेजुङका लागि प्रदेश सरकारसंग करिव १ हजार थान र्‍यापिड डाईग्नोस्टिक (आरडिटी) किटको माग गरेको छ । माग भएको किट चाँडै ल्याएर सम्भावित सूचीका आधारमा परीक्षण अघि बढाउनुपर्ने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले निश्कर्ष निकालेपछि आरडिटी किट लिन निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेल १ नं प्रदेश राजधानी बिराटनगर गएका छन् ।

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आरडिटी किट ल्याएर रोकिएको परीक्षण प्रकृया अघि बढाउने प्रयोजनका लागि पोखरेललाई पठाइएको बताए । मंगलबार मात्र प्रदेश सरकारबाट यहाँका लागि ४० थान आरडिटी किट प्राप्त भएको प्रजिअ निरौलाले बताए । प्राप्त आरडिटी किटलाई कहाँ र कुन क्षेत्रमा प्रयोग गर्ने भन्ने कार्ययोजना बनाएर परीक्षण प्रकृया अघि बढाउने नको भनाई छ ।

परीक्षण कार्ययोजना भने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको समन्वयमा निमित्त स्वास्थ्य प्रमुख पोखरेल र ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले बनाउने छन् । उनीहरुले बनाएको कार्ययोजना कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले अनुमोदन गरेपछि कार्यान्वयन चरणमा जाने छ । यसअघि प्राप्त भएको १ सय २० थान आरडिटी किट प्रयोग भई प्रदेश सरकारबाट थप ४० थान किट प्राप्त भएकोले अरु आईञ्जेल सम्ममा प्राप्त किट परीक्षणमा प्रयोग गर्दै लैजाने समितिको तयारी छ । एक हजार थान माग भएकोमा ५ सय थान मात्र आउने छनक पाएपछि माग अनुसारकै आरडिटी किट ल्याउने प्रयास र पहलका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले निमित्त स्वास्थ्य प्रमुख पोखरेललाई प्रदेश राजधानी पठाएको बुझिएको छ ।

पछिल्लो समय राजधानीसहित बिभिन्न स्थानबाट गृह जिल्ला फर्किएकारुलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु उच्च ज्वरोका कारण स्वास्थ्य संस्थाका फिबर क्लिनिकमा भर्ना भएका र चैतमहिना यता भारतसहित तेस्रो मुलकबाट आएकाहरुलाई परीक्षणको पहिलो सूचीमा राखिएको छ । माग अनुसारको आरडीटी किट प्राप्त भएमा परीक्षणको दाहेरा बढाएर थप कार्ययोजना बनाउने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको तयारी रहेको समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए ।  

प्रकाशित: १७ वैशाख २०७७ ०६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App