७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

रौतहटका कोरोना मुक्त अन्सारी भन्छन् : विरामी भएको जस्तै लागेन

रौतहट- रौतहटको ईशनाथ नगरपालिका ५ मोतीपुरका १९ वर्षिय युवक बच्चु अन्सारी कोरोनामुक्त भएर घर फर्किएका छन्। विश्ममा महामारीको रुपमा फैलिएको रोगलाई जित्दा खुसी लागेको उनले बताए।

केही दिन नगरपालिकाकै क्वारेन्टाइनमा बसेका उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार गरिएको थियो। घरबाट टाढिनु परेको बाहेक आफूलाई अन्य खासै कुनै गुनासो नभएको अन्सारीले बताए।

भारतको राजधानी दिल्लीको पहाडगंजमा एउटा ब्याग कारखानामा काम गर्ने गरेको बताउने अन्सारी त्यहाँ लकडाउन भएपछि एउटा ट्रकमा मोतिहारीसम्म आएका थिए। मोतिहारीबाट पैदलै चालीस किलोमिटर हिँडेर ईशनाथ नगरपालिकाको औरैयाबाट राति दश बजे आफ्नो घर आइपुगेका उनलाई क्वारेन्टाइनमा पठाइएको थियो।

अन्सारीसँगै आएका गाउँकै अन्य तीन जना युवा गाउँको  क्वारेन्टाइनमा पनि सँगसँगै बसेको र उनीहरु पहिल्यै घर फर्किसकेको अन्सारीको भनाइ छ। आफूलाई पनि कहिल्यै केही भएको जस्तो नलागेको उनले बताए। 'म सामान्य नै थिए। उपचारमा पनि सबै जनाको राम्रो व्यवहार भयो। केही भएको जस्तो लागेको थिएन। अहिले कोरोना मुक्त हुँदा खुशी लागेको छ,' उनले भने।

आइसोलेसनमा आफूसँगै जमातीका तीन जना रहेको र सामान्य दैनिकी नै बिताउने गरेको अन्सारीले बताए। मुस्लिम समुदायका चार जना भएपछि समय अनुसार अस्पतालकै आइसोलेसनमा नमाज पढ्ने गरेको बताउने अन्सारीले चारै जनाको रिपोर्ट एकसाथ नकारात्मक आएपछि अस्पतालबाट डिस्चार्ज भएको बताए। अन्सारी थप्छन् – मलाई क्वारेन्टाइनमा पनि कुनै समस्या भएन र वीरगंजको आइसोलेसनमा पनि कुनै समस्या भएन।

अन्य तीन जना भारतीय भएकाले डिस्चार्ज भएर वीरगंजकै मस्जिदमा गएका छन् भने आफू आफ्नो घर फर्किन पाएकामा निकै खुसी लागेको उनले बताए।

अस्पतालमा रहँदा पनि आफूलाई बिरामीजस्तो कहिल्यै नलागेको र आइसोलेसनमा पनि दिन सहजै कटेको स्पष्ट पारे। वीरगंजको आइसोलेसनमा करिब दुई हप्ता बस्दा पनि दिन सहज रुपमा बितेको बताउने अन्सारीले घरमा गएर पनि आफूले वर्तमान अवस्थामा पालन गर्नु पर्ने साधारण नियमहरु परिपालन गर्ने स्पष्ट पारेका छन्।

 

प्रकाशित: १४ वैशाख २०७७ १५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App