२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

विदेशबाट आएकाको तथ्यांक नहुँदा परीक्षणमा अन्योल

डोल्पा- हिमाली जिल्ला डोल्पामा कोरोना भाइरस (कोभिड-१९) द्रुत परीक्षण गर्ने किट र उपकरण लकडाउनको २५ औं दिनपछि बल्ल पुगेको छ। कीट र उपकरण पुगेसंगै कोरोनाको परीक्षण स्थानीय तहबाट सुरु गरिने भएको छ। कोरोना आरडिटी परीक्षण किट १४० थान मलेरीयाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने सेट जिल्लामा पुगेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए।

स्वास्थ्य विभागले पहिला विदेशबाट आएकाको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको भएपनि कुन स्थानीय तहमा कति छ भन्ने विवरण जिल्लामा नआएकाले परीक्षण सुरु हुन नसकेको डा. रावलले बताए।

जिल्लाको मुड्केचुला गाउँपालिका र जगदुल्ला गाउँपालिकामा केही तथ्याङ्क भएकाले डाक्टर मछिन्द्र बडुवालको नेतृत्वमा ४ जनाको टोली सम्बन्धीत स्थानीय तहमा गएर कोरोनाको द्रुत परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ।

विदेशबाट आएकाको कोरोना परीक्षण गरिए लगत्तै जिल्लामा क्वारेन्टाइनमा रहेका र केही लक्षण देखा परेकालाई पहिला परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले बताए।

जिल्ला अस्पतालमा पनि कोरोनाका द्रुत परीक्षण हुने तर सकेसम्म स्थानीय तहमा डाक्टरको टिम नै गएर द्रुत परीक्षण गर्ने उनले बताए। जिल्लामा ३ हजार भन्दा धेरै मानिस भित्रिएको भएपनि कुन स्थानीय तहमा कति जना आए भन्ने तथ्याङ्क जिल्लामा छैन।

भारतबाट आएका भएपनि धेरैजसो माथिल्लो डोल्पामा गएकाले यतिबेला माथिल्लो डोल्पामा परीक्षण गर्न सकिने संभावना भने निकै कम छ।

प्रकाशित: ६ वैशाख २०७७ ०७:२७ शनिबार

कोभिड-१९ कोरोना लकडाउन किट