१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पीसीआर गर्न बाहिरको भर

लहान- चैत २१ गतेदेखि जनकपुरको प्रादेशिक अस्पतालमा पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण थालिए पनि क्षमता कम हुँदा संकलन भएका स्वाब काठमाडौं, हेटौडा र धरान पठाउनुपर्ने बाध्यता रहेको छ।

बिहीबारसम्म प्रदेशका विभिन्न जिल्लामा यस प्रयोगशालाबाट तीन सय ९ वटा स्वाब संकलन भएकामा ५५ वटा स्वाबको मात्र परीक्षण भएको छ। २७ वटा स्वाब यसै प्रयोगशलामा परीक्षणको क्रममा छ। बाँकी दुई सय २७ वटा स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका पठाइएकोमा २ सय २६ वटा रिपोर्ट नेगेटिभ र एक जनाको रिपोर्ट कोभिड–१९ पोजेटिभ आएको छ।

प्रयोगशालाका प्रमुख रामवीनय साहका अनुसार हामीसँग भएको पीसीआर मेसिनबाट दैनिक पाँचदेखि छ वटा परीक्षण मात्र भैरहेको छ। ‘जनशक्ति अभावका कारण एक सिफ्ट मात्र काम गर्न सकिरहेका छौं’ उनले भने,‘बुधबार संकलन गरिएको ३२ वटा स्वाबमध्ये बिहीबार पाँच वटा मात्र परीक्षण गर्न सक्यौं।’

प्रदेशका आठवटै जिल्ला संकलन बिहीबारसम्म ५ सय ३५ स्वाब(नमुना) संकलन भएकोमा ४ सय ५३ वटा नमुना काठमाडौं, हेटौडा, धरान र ८२ नमुना प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको छ। समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेकाअनुसार ५ सय ३५ नमुनामध्ये ४ सय ५८ को परीक्षण भएको रिपोर्टमा ४ वटा नमुना पोजेटिभ आएको छ। बाँकी ४ सय ५१ रिपोर्ट नेगेटिभ आएको उनले बताए।

प्रदेश २ मा थप एउटा पीसीआर मेसिन जडान हुँदैछ। नारायणी अस्पताल विरगंजमा ठूलो क्षमताको पीसीआर मेसिन जडान भैरहेको सचिव घिमिरेले बताए। मेसिनले परीक्षण सुरु भएपछि यस प्रदेशको स्वाब परीक्षणमा तीव्रता आउने घिमिरे बताउँछन्। ‘हामीसँग परीक्षण मेसिन नहुँदा कोरोनाविरुद्ध अभियानमा सोचेजसरी काम गर्न सकिएको छैन,’ उनले भने, ‘मेसिन नहुँदा स्वाब संकलन गरेर काठमाडौं, धरान र हेटौडा पठाउनुपर्ने बाध्यता छ।’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धेरैभन्दा धेरै स्वाबको नमुना परीक्षण गर्न सक्ने क्षमता महसुस भएको बताए। हालको मेसिनले दैनिक दश वटा नमुना मात्र परीक्षण गर्न सक्छ। नारायणी अस्पताल विरगंजमा जडान भैरहेको मेसिन संचालन भए परीक्षणले गति लिने उनी बताउँछन्।

प्रदेश २ मा आरडीटी किटबाट कोरोना भाइरस संक्रमणको परीक्षणमा ढिलासुस्ती भएको छ। समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेकाअनुसार बिहीबारसम्म यस प्रदेशमा आरडीटी किटबाट ६ सय ५९ परीक्षण गरिएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ।  

स्रोत साधन र दक्ष जनशक्तिको अभावमा आरडीटी परीक्षणमा ढिलाइ भएको बताइएको छ। ‘प्रदेश सरकारले जनशतिm थप्दै छ’ उनले भने,‘बढीभन्दा बढी परीक्षण गर्ने लय तय गर्न जनशतिm बढाउन लागिएको हो।’ पहिलो चरणमा क्वारेन्टाइनमा रहेका र विदेशबाट फर्किएर आएकाहरूको मात्र परीक्षण गरिरहेको उनले बताए।

प्रकाशित: ५ वैशाख २०७७ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App