५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

दैनिक ५० टन काँक्रो मिल्काउँछन किसान

गोरखा – घरको पिँडीमा, करेसाको छेउमा, बारीमा, बाटोमा चारैतिर देख्दै लोभलाग्दो कांक्रो मिल्किएको छ। बारीमा छपक्कै फलेको आँखाले देख्न सकिन्छ। सडक छेउमा त्यस्तै मिल्किएको। केही ठाउँमा त गाईवस्तुलाई  खुवाईएको थियो। गत वर्ष यो सिजनमा बजारमा काँक्रो लगेर बिक्री गर्दा फुर्सद नपाउने किसान अहिले गहभरी आँसु बनाएर लटरम्म फलेको काँक्रो टिप्दै मिल्काउँदै छन्। किसानले कांक्रो बेचेर खनखन्ती पैसा गन्ने सिजनमा लकडाउनले काँक्रो बिक्री गर्न पाएका छैनन्। 

‘खेत मासेर तरकारी खेती थालियो, अहिले यसरी काँक्रो फाल्नु परेको छ’ अध्याँरो अनुहार लगाएर गण्डकी गाउँपालिका ६ खानीखोलाकी धनमाया श्रेष्ठले भनिन् ‘गत वर्ष काँक्रो बेचेर पाँच लाख लिएको थिएँ, अहिले ५० हजार पनि लिन सकिन।’ उनको बारीमा काँक्रो बिक्री गर्ने मध्ये सिजन भएको छ। बिक्री नभएपछि अहिले टिप्दै मिल्काउने, बारी खाली गर्ने तयारीमा छिन्। ‘तने बोडी लगाउने सिजन सुरु हुन लाग्यो, बोडी बेच्ने बेला पनि काँक्रोको हालत भयो र बिक्री गर्न सकिएन भने भोकै मरिन्छ’ धनमायाले भनिन् ‘तरकारी छाडेर मकै लगाउने घर सल्लाह भएको छ।’ काँक्रो झिकेर खाली जग्गामा स्थानीयले तरकारी खेती गर्छन। ‘धेरै दुःख गरेर नूनतेल खाने, छोराछोरी पढाउने पैसा जोहो गर्न लगाएको काँक्रो बिक्री भएन’ उनले भनिन् ‘अहिले बारीमा जान मन पनि लाग्दैन, भक्कानो छुट्छ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले ५० टन काँक्रो उत्पादन भएको बताए। एक टन भन्टा, पाँच सय टन बन्दा, पाँच सय टन काउली, दुई क्विन्टल गोलभेडा र ११ हजार वटा अण्डा गाउँपालिका भित्रका किसानले दैनिक उत्पादन गरिरहेका छन्। ‘कृषि उत्पादनले अहिले बजार पाएको छैन, लकडाउनको असरले किसान मारमा परेका छन्, लगानी मात्रै भएपनि उठाउने गरी बिक्री गर्ने बतावरण मिलाउने प्रयत्न गरिरहेका छौं, सकेका छैनौं’ उनले भने।  बन्दा प्रतिकिलो २०, काउली २५, गोलभेडा ५५, भन्टा १० रुपैयाँ होलसेल मूल्यमा पनि बिक्री नभएको उनले बताए। 

एक दुई जना मात्रै हाइन, गण्डकी गाउँपालिकाको भुम्लिचोक, तङ्लिचोक, घ्याल्चोक, बुटार लगायत ठाउँमा किसानले व्यवसायी खेती गर्छन्। पृथ्वीराजमार्ग नजिकै रहेकाले त्यहाँका किसानको मुख्य बजार राजमार्ग भएर राजधानी हो। अहिले लकडाउनको कारण सवारी साधन चलेको छैन्। किसानको बारीमा तयार भएको तरकारी र काँक्रो सडेको छ। तीन हजार पाँच सय विरुवा लगाएका लिलामान श्रेष्ठले गत वर्ष ६ लाख लिएका थिए अहिले उनलाई एक लाख लिन मुस्किल छ। लकडाउन हुनु अघि भर्खर काँक्रो बिक्री सुरु हुँदा प्रतिकिलो एक सय २५ रुपैयाँ लिएका अर्का किसान हिमबहादुर गुरुङले बिहीवार मात्रै १२ रुपैयाँ प्रतिकिलोमा बिक्री गरे। ‘लगानी र ढुवानी खर्च पनि नउठ्ने स्थिती छ’ उनले भने ‘गाउँमा अहिले सम्म १२ रुपैयाँमा काँक्रो बिक्री गरेको कसैलाई थाहा थिएन।’ 

किसानले टनेल बनाएर, थाँक्रो हालेर, भिटामिन छर्किएर निकै मेहनतले थोपा सिंचाई, पाईप सिंचाई गरेर काँक्रो फलाएका छन्। भैरवी कृषि सहकारी संकलन केन्द्रका केरबहादुर श्रेष्ठले भने ‘एक दुई जनाले होईन, सबैजसोले अहिले दैनिक ५० हजार लिने सिजन हो, २०, ३० टन सम्म एक जनाले काँक्रो बिक्री गर्थे, तर अहिले गाडी नचल्दा बिक्री सुन्य भो।’ उनका अनुसार बजारमा माग पनि घटेको छ। १२ रुपैयाँ देखि २० रुपैयाँ होलसेल मूल्यमा थोरै बिक्री भएको छ। ‘सस्तोमा बिक्री गर्दा पनि ४० रुपैयाँ घटेको थाहा थिएन’ केरबहादुरले भने। गोरखाबाट चितवनको फिस्लिङ सम्म झानुपर्ने र त्यहाँ बिक्री गर्न जाँदा भिडभाड भएको भन्दै स्थानीय र प्रहरीले समेत अवरोध गरेपछि झनै समस्या भएको गुनासो किसानको छ। 
हरेक दिन किसानले टेलिफोन गरेर बिक्री गर्ने चाँजोपाँजो मिलाईदिन हारगुहार गर्ने गरेका गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए। ‘यहाँका जनता तकारी बिक्री गरेर खाद्यान्न किनेर खाने गर्छन’ उनले भने ‘यो अवस्था रहिरहने हो भने किसानको लगानी सबै खेर जाने भयो, उनीहरु सबैलाई बिहान बेलुकी खाने प्रबन्ध गर्नुपर्ने अवस्था आउँछ।’ गाउँपालिका भित्र तरकारीको उत्पादन धेरै भएको र बजार नहुँदा ब्यवस्थापन गर्न नसकिएको उनले बताए। ‘छिमेकी गाउँपालिका, राजमार्ग छेउका पालिका सँग सहकार्य गरेर किसानलाई लगानी भएपनि लिने अवस्थाको चाँजोपाँजो मिलाउने प्रयास गरेको छु’ अध्यक्ष रानाले भने ‘बजार पुरै ठप्प भएकाले माग सुन्यप्राय छ।’ किसानलाई गाउँपालिकाले सहयोग गर्ने योजना ल्याउने उनले बताए। 

काँक्रो मात्र होईन बिक्री गर्ने बेला भएको काउली काटेर किसानले सुकाएका छन्। प्रेमबहादुर श्रेष्ठ गण्डकी गाउँपालिका–६ को नमुना किसान हुन्। बजार लैजाने बेला भएको काउली बिक्री नहुने, भाउ नपाउने भएपछि उनले भैँसीलाई घाँस खुवाएका छन्। 

प्रकाशित: ४ वैशाख २०७७ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App