९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नक्कली बिरामीसहित एम्बुलेन्स प्रहरी नियन्त्रणमा

पक्राउ गरिएको एम्बुलेन्स । तस्विरः सौजन्य जिल्ला प्रहरी कार्यालय सल्यान।

 जिल्ला प्रहरी कार्यालय सल्यानले लकडाउनको उल्लंघन गरेर नक्कली बिरामी बोक्ने एम्बुलेन्स, चालक र नक्कली बिरामीलाई पक्राउ गरेको छ। रूकुम पश्चिमदेखि दाङ जाँदै गरेका उनीहरूलाई सल्यानको सीमाखोलाबाट प्रहरीले पक्राउ गरिएको हो।

नक्कली पाससहित दाङ शान्तिनगर गाउँपालिका–२, बाघमारेका ३० वर्षीय एम्बुलेन्स चालक गिरीराज खत्री, दाङ लमही नगरपालिका–३, नारायणपुरका २९ वर्षीय मिनराज सुवेदी, २३ वर्षीय दिप्तु चौधरी र १८ वर्षीय रविन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख (डिएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिए। उनका अनुसार रा १ च ५१२ नम्बरको एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिइएको छ। मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङद्वारा सञ्चालित भनेर एम्बुलेन्समा लेखिएको छ।

ती व्यक्तिले जिल्ला अस्पताल रूकुम पश्चिमको रिफर कागज बनाएको डिएसपी खतिवडाले जानकारी दिए। ‘उक्त रिफर कागजमा छाप र हस्ताक्षर गरिएको छैन,’ उनले भने, ‘नन्कली भएको शंका गरिएको छ। यसका विषयमा थप अनुसन्धान भइरहेको छ।’ उनीहरू चौधरी समुदायका भए पनि रिफरमा बुढा थर उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। ‘बिरामी भएको बहान बनाएर उनीहरू एम्बुलेन्समा दाङ जाँदै थिए,’ डिएसपी खतिवडाले भने, ‘उनीहरू (पक्राउ परेका) को बारेमा गोप्य सूचना आएको र थप चेकजाँच गर्दा नक्कली बिरामी देखेपछि पक्राउ गरेका हौं।’
 

प्रकाशित: २ वैशाख २०७७ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App